घरेलु मैदानमा भाग्यशाली मेक्सिको

जुलियन किन्योनेस र राउल जिमेनेजको पहिलो हाफका दुई गोलको मद्दतमा मेक्सिकोले इक्वेडरलाई २–० ले पराजित गर्दै ४० वर्षपछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको छ।
यससँगै मेक्सिको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ। मेक्सिको सिटीस्थित ऐतिहासिक अज्टेका स्टेडियममा भएको खेलमा किन्योनेसले २२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको ९ मिनेटपछि राउल जिमेनेजले अर्को गोल थप्दै पहिलो हाफमै मेक्सिकोलाई २–० को बलियो अवस्थामा पुर्याए।
सन् १९८६ मा आफ्नै भूमिमा आयोजना भएको विश्वकपमा बुल्गेरियालाई हराएर अन्तिम १६ मा पुगेपछि मेक्सिकोले पहिलो पटक नकआउट चरणको खेल जितेको हो। त्यसपछि १९९४ देखि २०१८ सम्म लगातार सात पटक यही चरणबाट बाहिरिएको मेक्सिकोले यसपटक त्यो निराशाजनक इतिहास तोड्न सफल भयो।
सन् २०२२ को कतार विश्वकपमा भने मेक्सिको १९७८ पछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको थियो। जारी प्रतियोगितामा किन्योनेसको यो तेस्रो गोल हो। यससँगै उनी विश्वकपमा मेक्सिकोका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा लुइस ‘माटाडोर’ हेर्नान्डेज र हाभियर ‘चिचारितो’ हेर्नान्डेजपछि दोस्रो स्थानमा पुगेका छन्। ती दुवैले विश्वकपमा चार–चार गोल गरेका छन्।
यता, जिमेनेजले प्रतियोगितामा आफ्नो दोस्रो गोल गर्दै राष्ट्रिय टोलीका लागि कुल ४७ गोल पुर्याए। यससँगै उनले जारेड बोर्गेट्टीलाई पछि पार्दै मेक्सिकोका लागि सर्वाधिक गोलकर्ताको सूचीमा एक्लै दोस्रो स्थान कब्जा गरेका छन्। अब उनी चिचारितोको ५२ गोलको राष्ट्रिय कीर्तिमानभन्दा पाँच गोलले मात्र पछि छन्।
यस जितसँगै मेक्सिकोले लगातार १२ खेलसम्म अपराजित रहने आफ्नो यात्रालाई पनि निरन्तरता दिएको छ। टोलीको पछिल्लो हार गत नोभेम्बरमा पाराग्वेविरुद्धको मैत्रीपूर्ण खेलमा आएको थियो।
यसका साथै, विश्वकपको नकआउट चरणमा दक्षिण अमेरिकी (कोनमेबोल) टोलीलाई पराजित गर्ने पहिलो कन्काकाफ राष्ट्र बन्ने कीर्तिमान पनि मेक्सिकोले बनाएको छ। यसअघि भएका पाँचवटै भेटमा दक्षिण अमेरिकी टोली विजयी भएका थिए।
इक्वेडर भने आफ्नो इतिहासमा दोस्रो पटक अन्तिम १६ पुग्ने लक्ष्यमा थियो। सन् २००६ को जर्मनी विश्वकपपछि पहिलो पटक नकआउट चरणमा पुग्ने अवसर उसले गुमायो।
मौसमको प्रतिकूलताका कारण खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो। चट्याङसहितको वर्षाका कारण प्रभावित भएको यो प्रतियोगिताको दोस्रो खेल हो। यसअघि जुन २२ मा फ्रान्स र इराकबीचको खेल पनि खराब मौसमका कारण दुई घण्टा ११ मिनेट रोकिएको थियो।
अब मेक्सिकोले अन्तिम १६ मा इङ्ल्यान्ड र कंगोबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।













