स्विडेनलाई हलुकामा लिँदैन फ्रान्स
-1782128709627-1782824832211.webp&w=3840&q=75)
विश्वकपको नकआउट चरणको रोमाञ्चक प्रतिस्पर्धा सुरु भइसकेको छ। दोस्रो दिनमै चार पटकको विश्वविजेता जर्मनी र बलियो दाबेदार नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिँदा ब्राजिल, पाराग्वे र मोरक्कोले भने प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।
यसैक्रममा मंगलबार राति फ्रान्स र स्विडेनबीच अन्तिम ३२ को महत्वपूर्ण भिडन्त हुँदैछ। नेपाली समयअनुसार मंगलबार राति २:४५ बजे अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने खेलमा दुवै टोली नकआउट चरणमा स्थान बनाउन मैदान उत्रनेछन्।
-1782128727829-1782824804423.webp)
खेलअघि फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले स्विडेनलाई हल्का रूपमा लिन नहुने चेतावनी दिएका छन्। उनका अनुसार ‘गुमाउन केही छैन’ भन्ने मानसिकतासहित मैदानमा उत्रने स्विडेन खतरनाक प्रतिद्वन्द्वी बन्न सक्छ।
डेसच्याम्पले भने,‘स्विडेन दबाबमुक्त भएर खेल्दैछ। उनीहरू जितका लागि पूरा प्रयास गर्नेछन्, त्यसैले हामीले विनम्र रहँदै एकाग्रता र दृढता कायम राख्नुपर्छ। समूह चरणमा गल्ती सच्याउने अवसर थियो, तर अब दोस्रो मौका छैन।’
आमाको अन्त्येष्टिमा सहभागी हुन स्वदेश फर्किएका कारण डेसच्याम्पले नर्वेमाथि फ्रान्सले ४–१ को जित निकालेको खेल गुमाएका थिए।
-1782128719342-1782824815002.webp)
शनिबार उनी पुनः टोलीको प्रशिक्षण क्याम्पमा फर्किएका हुन्। सन् २०१८ को विश्वकप विजेता तथा २०२२ को फाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित हुँदै उपविजेता बनेको फ्रान्स यसपटक पनि उपाधिको मुख्य दाबेदार मानिएको छ।
समूह चरणमा फ्रान्सले सुरुआतमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि सेनेगललाई ३–१ ले हराउँदै प्रतियोगिताको सुरुआत गरेको थियो। त्यसपछि इराकलाई ३–० र दोस्रो रोजाइको टोली उतारेको खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्सले लगातार तीन जित हात पार्यो।
‘लेस ब्लुज’ समूह चरणमा शतप्रतिशत नतिजासहित ९ अंक जोड्ने तीन टोलीमध्ये एक हो। अन्य दुई टोली वर्तमान विश्वविजेता अर्जेन्टिना र सह–आयोजक मेक्सिको हुन्। फ्रान्सले समूह चरणमा सर्वाधिक १० गोल गरेको छ। जर्मनी र नेदरल्यान्ड्सले पनि समान १० गोल गरेका थिए।

फ्रान्सका किलियन एमबाप्पे र उस्मान डेम्बेले सर्वाधिक गोलकर्ताको सूचीमा रहेका छन्।
नकआउट चरणअघि डेसच्याम्पले भने,‘हामीले आत्मविश्वास कायम राख्नुपर्छ, तर अब प्रतियोगिता नयाँ चरणमा प्रवेश गरेको छ। हामी आत्मविश्वासी छौं, तर अब सामना गर्ने टोलीहरूको स्तर पनि अझ उच्च हुनेछ भन्ने कुरा राम्ररी बुझेका छौं।’
यता स्विडेन भने कठिन यात्रापछि विश्वकपमा पुगेको टोली हो। छनोट चरणमा आफ्नो समूहको अन्तिम स्थानमा रहे पनि युरोपियन नेसन्स लिगको प्रदर्शनका आधारमा प्लेअफको अवसर पाएको स्विडेनले विश्वकपमा स्थान बनाएको थियो।
समूह चरणमा नेदरल्यान्ड्ससँग ५–१ ले पराजित भए पनि ट्युनिसियामाथि ५–१ को प्रभावशाली जित र जापानसँगको बराबरीको नतिजाका कारण स्विडेन उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा अन्तिम ३२ मा प्रवेश गर्न सफल भएको हो।













