हाटखोला खेलमैदान जीर्ण बन्दै

पथरी। उर्लाबारी–६ हाटखोलास्थित बजार क्षेत्रको एकमात्र ऐतिहासिक खेलमैदान संरक्षणको अभावमा क्रमशः जीर्ण बन्दै गएको छ।
२०२५ सालदेखि प्रयोगमा रहेको उक्त मैदान सडक विस्तार, कम्पाउन्ड निर्माण तथा अन्य भौतिक संरचना थपिँदै जाँदा सडक सतहभन्दा होचो बनेको छ। सामान्य वर्षा हुँदा पनि मैदानमा पानी जम्ने भएकाले खेल सञ्चालन र नियमित प्रशिक्षण प्रभावित हुने गरेको छ।
‘ए’ डिभिजनका पूर्वफुटबल खेलाडी तथा मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष विशाल तामाङ मैदानमा माटो भरेर तत्काल स्तरोन्नति गर्नुपर्ने बताउँछन्। उर्लाबारी–४, ५, ६ र ७ का खेलाडीहरूको साझा खेलमैदानका रूपमा रहेको यस मैदानमा विभिन्न प्रतियोगिता तथा नियमित प्रशिक्षण हुँदै आएको छ।
तर, वर्षाका कारण अहिले प्रशिक्षण प्रभावित भएको छ। एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमालले राष्ट्रियस्तरका खेलाडी उत्पादन गरेको यस ऐतिहासिक मैदानको संरक्षणमा सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताए।













