भारतीय फुटबल टोलीले एसियाली खेलकुद नखेल्ने

काठमाडौं। भारतीय पुरुष राष्ट्रिय फुटबल टोलीले २०२६ एसियाली खेलकुदबाट नाम फिर्ता लिएको छ। आवश्यक छनोट मापदण्ड पूरा गर्न नसकेपछि भारत प्रतियोगिताबाट बाहिरिएको हो।
भारतको स्थानमा अब फिलिपिन्सले प्रतियोगितामा सहभागिता जनाउने भएको छ। भारतीय फुटबल महासंघ (एआईएफएफ) ले टोलीले युवा तथा खेलकुद मन्त्रालयले तोकेको छनोट मापदण्ड पूरा गर्न नसकेपछि नाम फिर्ता लिनुपरेको जनाएको छ।
मन्त्रालयको नियमअनुसार एसियाली खेलकुदमा सहभागी हुन टोली एसियाली वरीयताको शीर्ष आठभित्र हुनुपर्ने व्यवस्था छ। भारत उक्त मापदण्ड पूरा गर्न असफल भएको थियो। भारतीय फुटबल अधिकारीहरूले मन्त्रालयसँग नियममा लचकता अपनाउन आग्रह गरेका भए पनि अन्ततः निर्धारित मापदण्डकै कारण टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
भारतको बहिर्गमनसँगै फिलिपिन्सले अन्तिम समयमा प्रतियोगितामा स्थान पाएको छ। फिलिपिन्सको ओलम्पिक समितिले आधिकारिक रूपमा भारतको स्थानमा आफ्नो पुरुष टोलीले प्रतिस्पर्धा गर्ने पुष्टि गरेको छ।
यसअघि फिलिपिन्सको महिला फुटबल टोलीले पनि एसियाली खेलकुदका लागि स्थान सुरक्षित गरिसकेको थियो। अब पुरुष टोली पनि प्रतियोगितामा सहभागी हुने भएपछि फिलिपिन्सका लागि यो महत्त्वपूर्ण उपलब्धि बनेको छ।
२०२६ एसियाली खेलकुद सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची र नागोयामा आयोजना हुनेछ। पुरुष फुटबलतर्फ १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रत्येक टोलीले २३ वर्षमुनिको टोली दर्ता गर्न पाउनेछ भने बढीमा तीन जना उमेर सीमा नलाग्ने खेलाडी पनि समावेश गर्न सक्ने व्यवस्था रहेको छ।













