ब्राजिललाई राहत

काठमाडौं। पाराग्वेसँग टाइब्रेकरमा पराजित हुँदै जर्मनी विश्वकपको दोस्रो चरणबाटै बाहिरिएको छ।
जर्मनीको यस हारसँगै ब्राजिलले कम्तीमा अर्को विश्वकपसम्म विश्व फुटबलको सबैभन्दा सफल राष्ट्रका रूपमा आफ्नो एकल कीर्तिमान कायम राख्ने भएको छ।
सन् २००२ मा पाँचौं पटक विश्वकप जितेपछि ब्राजिल विश्व फुटबल इतिहासको सबैभन्दा सफल टोलीका रूपमा स्थापित छ। जारी विश्वकपमा त्यो कीर्तिमान बराबरी गर्ने अवसर जर्मनीसँग मात्र थियो।
१९५४, १९७४, १९९० र २०१४ मा विश्वविजेता बनेको जर्मनीले यसपटक उपाधि जितेको भए ब्राजिलको पाँच विश्वकप उपाधिको कीर्तिमानसँग बराबरी गर्ने थियो।
तर‚ नकआउट चरणमै पाराग्वेसँग पराजित भएपछि जर्मनीको त्यो सपना समाप्त भएको छ। यसको अर्थ कम्तीमा आगामी विश्वकपसम्म ब्राजिल नै पाँच पटक विश्वकप जित्ने एकमात्र राष्ट्रका रूपमा रहनेछ।
दुई दशकभन्दा लामो समयदेखि कायम रहेको यो ऐतिहासिक उपलब्धिमा अहिलेका लागि कुनै पनि टोलीले साझेदारी गर्न सकेको छैन।
यता, जापानलाई पराजित गर्दै कार्लो एन्सेलोटीको प्रशिक्षणमा रहेको ब्राजिल अन्तिम १६ बाट क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ। अब टोलीको लक्ष्य छैटौं विश्वकप उपाधि जित्दै आफ्नो स्वर्णिम इतिहासमा अर्को अध्याय थप्नु हो। पाँच तारा अंकित जर्सीमा छैटौं तारा थप्ने सपना लिएर ब्राजिल प्रतियोगितामा अघि बढिरहेको छ।
विश्वकप इतिहासमा सर्वाधिक उपाधि जित्ने राष्ट्रहरूको सूचीमा ब्राजिलपछि जर्मनी र इटाली रहेका छन्, जसले समान चार–चार पटक विश्वकप जितेका छन्। अर्जेन्टिना, फ्रान्स र उरुग्वेको नाममा तीन–तीन उपाधि छ।
तर‚ इटाली यस संस्करणमा छनोट हुन नसकेको र जर्मनी नकआउट चरणबाटै बाहिरिएपछि विश्व फुटबलको सबैभन्दा सफल टोलीको हैसियतमा ब्राजिलको एकछत्र वर्चस्व यथावत् रहेको छ।









-1787661904658.jpeg&w=3840&q=75)


