पहिलो हाफमै ब्राजिललाई दबाब

हाइड्रेसन ब्रेकलगत्तै जापानले ब्राजिलविरुद्ध अग्रता लिएको छ। खेलको २९औं मिनेटमा सानोले उत्कृष्ट गोल गर्दै जापानलाई १–० को अग्रता दिलाएका हुन्।
मिडफिल्डमा डानिलोबाट छुटेको बल सानोले नियन्त्रणमा लिए। उनले कासेमिरोलाई गतिमा पछि पार्दै अगाडि बढे र पेनाल्टी क्षेत्रबाहिरबाट दायाँ खुट्टाले प्रहार गरेको बल पोस्टको बायाँ तल्लो कुनाबाट जाली चुम्यो। उत्कृष्ट व्यक्तिगत प्रयासबाट आएको यो गोलले जापानलाई पहिलो हाफमा अप्रत्याशित रूपमा अग्रता दिलायो।
तर‚ त्यसअघि खेलमा ब्राजिलको स्पष्ट दबदबा देखिएको थियो। हाइड्रेसन ब्रेकअघि ब्राजिलले करिब ७५ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्दै चार पटक प्रहार गरे पनि गोल गर्न सकेन। लगातार आक्रमण गरे पनि जापानको रक्षापंक्तिले सबै प्रयास विफल पारिदियो।
खेलको तेस्रो मिनेटमै ब्राजिलले पहिलो अवसर सिर्जना गरेको थियो। पेनाल्टी क्षेत्रको किनाराबाट ब्रुनो गिमारेसको प्रहार विपक्षी खेलाडीमा लागेर पोस्टको छेउबाट बाहिरियो। पाँचौं मिनेटमा भिनिसियस जुनियरतर्फ आएको बल जापानी गोलरक्षक सुजुकीले अगाडि बढ्दै दुई हातले पञ्च गरेर खतरा टारे। सहजै समात्न सकिने बल क्लियर गर्नु सुरुआती दबाबको संकेतजस्तै देखिएको थियो।
खेलको सुरुआतमा जापान आफ्नै क्षेत्रमा सीमित थियो। टोलीलाई आफ्नै हाफबाट बल बाहिर निकाल्न पनि कठिन भइरहेको थियो। ब्राजिल निरन्तर पास खेल्दै अवसर खोजिरहेको थियो भने जापानको रक्षापंक्ति निकै अनुशासित देखिन्थ्यो।
१०औं मिनेटमा डानिलोले बाइलाइनबाट दिएको पास ब्राजिलियन खेलाडीको खुट्टामा पुगे पनि उनले प्रहार गरेको बल आफ्नै टोलीका खेलाडीको अनुहारमा लाग्यो। चार मिनेटपछि मातेउस कुन्हाले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार सुजुकीले बचाउँदै कर्नरमा परिणत गरे। त्यसपछि छिट्टै लिइएको कर्नरबाट लुकास पाकेटाको प्रहार पोस्टको दायाँतर्फबाट बाहिरियो।
१६औं मिनेटमा कासेमिरोले जुनियालाई फाउल गरेपछि जापानले पेनाल्टी क्षेत्रनजिकै फ्रिकिक पायो। बायाँतर्फबाट कामाडाले प्रहार गरेको बल डिफेन्समा लागेर कर्नरमा परिणत भयो, जसलाई ब्राजिलले सहजै क्लियर गर्यो।
गोल खाएपछि बराबरीको खोजीमा आक्रामक बनेको ब्राजिलले केही अवसर सिर्जना गर्यो। पाकेटाको फ्रिकिकमा मार्किन्होसको हेडर पोस्टको छेउबाट बाहिरियो। त्यसपछि भिनिसियस जुनियर र ३९औं मिनेटमा मातेउस कुन्हाले टाढाबाट गरेका प्रहार जापानी गोलरक्षक सुजुकीले सहजै नियन्त्रणमा लिए।
पहिलो हाफको अन्त्यतिर जापानले पनि प्रभावशाली आक्रमण गर्यो। विशेषगरी रित्सु दोआनले दायाँ विङबाट ब्राजिलको रक्षापंक्तिलाई निरन्तर दबाबमा राखे। ४४औं मिनेटमा उनले जुनिया इतोलाई पास दिए, जसको खतरनाक क्रसलाई ब्राजिलले निकै संघर्ष गर्दै क्लियर गर्न सफल भयो। त्यसलगत्तै हिरोकी इतोको बायाँतर्फबाट आएको घुमाउरो क्रस पनि ब्राजिलले रोक्दै पहिलो हाफको अन्त्यसम्म थप गोल हुन दिएन।









-1787661904658.jpeg&w=3840&q=75)


