अर्जेन्टिनी फुटबलरले भेनेजुएलाको भूकम्पमा सन्तान गुमाए

काठमाडौं। इतिहासकै सबैभन्दा विनाशकारी र घातक भूकम्पले भेनेजुएलामा ठूलो जनधनको क्षति पुर्याएको छ। शक्तिशाली भूकम्पका कारण हजारौं मानिसले ज्यान गुमाएका छन् भने देशका धेरै क्षेत्र भग्नावशेषमा परिणत भएका छन्।
यस दुःखद घटनाले अर्जेन्टिनी फुटबल समुदायलाई पनि शोकमा डुबाएको छ। भेनेजुएलाको क्लब स्पोर्ट मारितिमो डे ला गुआइराका लागि खेल्ने ३८ वर्षीय अर्जेन्टिनी फुटबलर लुकास त्रेहोले भूकम्पमा आफ्नी श्रीमती र दुई सन्तान गुमाएका छन्।
भूकम्पका बेला त्रेहो आफ्नो टोलीसँग राजधानी काराकासमा थिए। त्यही समयमा देशको उत्तरी तटीय क्षेत्रमा क्रमशः ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएका थिए। केही समयपछि उनले ला गुआइराको प्लाया ग्रान्डे क्षेत्रमा रहेको आफ्नो परिवार बस्ने अपार्टमेन्ट पूर्ण रूपमा भत्किएको खबर पाए।
त्यसलगत्तै उनी प्रभावित क्षेत्रमा पुगेर उद्धारकर्मीहरूसँगै आफ्नी श्रीमती र सन्तानको खोजीमा जुटे। लगातार ७४ घण्टासम्म चलेको खोज तथा उद्धार अभियानपछि भग्नावशेषमुनिबाट उनकी श्रीमती र दुई सन्तानको शव फेला परेको थियो। यस हृदयविदारक घटनाले दक्षिण अमेरिकी फुटबल जगतलाई गहिरो शोकमा डुबाएको छ।
खोजी अभियानको सुरुआती चरणमा त्रेहोले इन्स्टाग्राममार्फत भावुक सन्देश सार्वजनिक गरेका थिए। उनले लेखेका थिए,‘प्लाया ग्रान्डेमा रहेको हाम्रो अपार्टमेन्ट भत्किएको छ। मेरो परिवार कहाँ छ भन्नेबारे कुनै जानकारी छैन। कृपया उनीहरूका लागि प्रार्थना गर्नुहोस्। यदि कसैले उनीहरूलाई देख्नुभएको छ भने यो सन्देश फैलाइदिनुहोस्। म अझै पनि उनीहरू त्यस बेला घरभित्र थिएनन् भन्ने आशा गरिरहेको छु।’
घटनाको खबर पाएपछि त्रेहोका पिता र भाइ अर्जेन्टिनाबाट भेनेजुएला पुगेका थिए। उनीहरू पनि परिवारका सदस्यहरूको खोजीमा उद्धार अभियानमा सहभागी बने। तर‚ ७४ घण्टासम्मको अथक प्रयास अन्ततः दुःखद समाचारमा टुंगियो।
उद्धार टोलीले भग्नावशेषमुनिबाट त्रेहोकी श्रीमती यानिना मारानेल्ला तथा उनका दुई सन्तान आरोन र आइनहोआको शव फेला पारे।









-1787661904658.jpeg&w=3840&q=75)


