कमजोर पोर्चुगल

विश्वकपको एक खेलमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे पनि बाँकी दुई खेलमा उनीसहित पोर्चुगलका अधिकांश खेलाडी प्रभाव जमाउन असफल भएका छन्।
प्रतियोगिता सुरु हुनुअघि पोर्चुगललाई उपाधिको मुख्य दाबेदार मानिएको थियो। तर, समूह चरणमै टोलीले त्यस्तो अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन।
तुलनात्मक रूपमा कमजोर उज्बेकिस्तानविरुद्धको खेलबाहेक अन्य दुई खेलमा पोर्चुगलले आफ्नो दबदबा देखाउन सकेन।

टोलीको कमजोर प्रदर्शनबारे प्रतिक्रिया दिँदै रोनाल्डोका पूर्वसहकर्मी रिकार्डो कारेज्माले खेलाडीमा उत्साह र आत्मविश्वासको कमी रहेको बताएका छन्।
समाचार संस्था रोयटर्ससँग कुरा गर्दै कारेज्माले भने,‘मलाई लाग्छ टोली खुसी छैन। उनीहरू खेलको आनन्द लिइरहेका छैनन्। त्यसैले मैदानमा कुनै सिर्जनात्मकता वा नयाँ प्रयास गरेको देखिँदैन। यही नै टोलीको मुख्य समस्या हो।’
उनका अनुसार पोर्चुगलका खेलाडी थकित देखिएका छन्। उनीहरूमा जित्ने मानसिकता पनि कमजोर देखिएको छ। उनले भने,‘उनीहरूलाई हेर्दा निकै थाकेको जस्तो लाग्छ। जित्ने दृढ इच्छाशक्ति पनि देखिँदैन।’

कारेज्माले रोनाल्डोको उमेर र भूमिकाबारे पनि आफ्नो धारणा राखेका छन्। रोनाल्डो ४१ वर्ष लागिसकेका छन्। यो उमेर फुटबलका लागि आफैमा बढि हो। त्यसैले उनीबाट पहिलेजस्तो प्रदर्शन सधैं अपेक्षा गर्न नसकिने कारेज्मा तर्क गर्छन्।
‘अब टोलीका अन्य खेलाडीले पनि जिम्मेवारी लिनुपर्छ। यदि अझै पनि टोली पूर्ण रूपमा रोनाल्डोमै निर्भर रहन्छ भने त्यो समस्या हुनेछ। अहिले टोलीको खेलमा कुनै सिर्जनशीलता देखिँदैन। सबैले अभ्यास गराइएको योजनाअनुसार मात्र खेलिरहेका छन्, त्यसबाहेक केही नयाँ गर्ने प्रयास देखिँदैन,’ उनी भन्छन्।
पोर्चुगलले समूह चरणको पहिलो खेलमा कंगोसँग १–१ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा उज्बेकिस्तानलाई ५–० ले हराए पनि तेस्रो खेलमा कोलम्बियासँग गोलरहित बराबरीमा रोकियो।

खेलको अन्तिम समयमा कोलम्बियाका डेभिन्सन सान्चेजले गोल गरे पनि अफसाइडका कारण उक्त गोल मान्यता पाएन। अन्यथा पोर्चुगल अन्तिम खेलमा पराजित हुन सक्थ्यो।
समूहमा दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको पोर्चुगलले अब अन्तिम ३२ को चरणमा क्रोएसियाको सामना गर्नेछ। २०१८ को विश्वकप फाइनलिस्ट तथा २०२२ को सेमिफाइनलिस्ट क्रोएसियाविरुद्धको खेल पोर्चुगलका लागि निकै कठिन हुने आकलन गरिएको छ।
यदि त्यो खेल जित्न सफल भए पोर्चुगलले प्रि–क्वार्टरफाइनलमा स्पेनसँग भिड्नुपर्ने समीकरण हुन सक्छ। त्यसैले विश्वकप उपाधिसम्मको यात्रा रोनाल्डोको टोलीका लागि सहज नहुने देखिएको छ।












