लगानी उठाउन नसकेको साउदी

२०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई हराउँदै सनसनीपूर्ण सुरुआत गरेको साउदी अरेबिया त्यसपछि लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको थियो। त्यसयता भने साउदी फुटबलमा ठूलो परिवर्तन आएको छ।
घरेलु लिगमा अर्बौं रकमको लगानी, विश्वप्रसिद्ध खेलाडीहरूको आगमन र पूर्वाधारमा व्यापक सुधारमार्फत २०३४ कझ विश्वकप आयोजक साउदी अरेबियाले बलियो फुटबल संरचना निर्माण गर्ने प्रयास गरिरहेको छ।
तर, ती सबै लगानीका बाबजुद २०२६ विश्वकपमा पनि टोली समूह चरण पार गर्न असफल भएको छ। यस निराशाजनक प्रदर्शनपछि साउदी अरेबिया फुटबल महासंघका अध्यक्ष यासेर अल–मिसेहालले पदबाट राजीनामा दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय टोली नकआउट चरणमा पुग्न नसक्नु सम्पूर्ण अपेक्षा र लक्ष्यभन्दा निकै कमजोर नतिजा भएको बताएका छन्।
आफ्नो असफलताको जिम्मेवारी स्वीकार्दै उनले समर्थक र सम्बन्धित सबैसँग क्षमायाचना गरेका छन्। उनले नयाँ नेतृत्वलाई अवसर दिनु आवश्यक रहेको विश्वास व्यक्त गर्दै आफ्नो कार्यकाल पूरा नगर्ने निर्णय लिएको उल्लेख गरेका छन्।
अल–मिसेहाल विगत सात वर्षदेखि साउदी फुटबल महासंघको नेतृत्वमा थिए। सन् २०३४ को विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गर्न साउदी अरेबियाको सफल अभियानमा उनको महत्त्वपूर्ण भूमिका रहेको थियो।

साउदी अरेबियाले लगातार तेस्रो तथा समग्रमा सातौँ पटक विश्वकपमा सहभागिता जनाएको हो। तर‚ प्रतियोगिता सुरु हुनुभन्दा दुई महिनाभन्दा कम समयअघि हार्भे रेनार्डको स्थानमा जर्जियोस डोनिसलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णयले टोलीको तयारीमा नकारात्मक असर परेको विश्लेषण गरिएको छ।
पछिल्ला केही वर्षमा साउदी सरकारले फुटबल क्षेत्रमा ठूलो लगानी गरेको छ। घरेलु लिगको स्तर उकास्ने उद्देश्यले क्रिस्टियानो रोनाल्डो, नेयमार जुनियरलगायत विश्व चर्चित खेलाडीलाई साउदी क्लबहरूमा अनुबन्ध गरिएको छ। यति ठूलो लगानीका बाबजुद राष्ट्रिय टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा आलोचना बढेको छ।
यस विश्वकपमा ‘एच’ समूहअन्तर्गत साउदी अरेबियासँग अन्तिम खेलसम्म नकआउट चरणमा पुग्ने सम्भावना कायम थियो। स्पेनसँग पराजित भए पनि उरुग्वेसँगको बराबरीले आशा जीवित राखेको थियो।
तर‚ अन्तिम खेलमा केप भर्डेलाई हराउनै पर्ने दबाब रहेको अवस्थामा गोलरहित बराबरीमा खेल सकियो। परिणामस्वरूप साउदी अरेबिया एक अंकसहित समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो। एक अंक बढी जोडेको पूर्वविश्वविजेता उरुग्वे पनि समूह चरणबाटै बाहिरिन बाध्य भयो।












