बराबरी खेल्दै इजिप्ट राउन्ड अफ ३२ मा

काठमाडौं। २०२६ फिफा विश्वकपको समूह ‘जी’ अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा इजिप्ट र इरानले १–१ को बराबरी खेलेका छन्।
यस नतिजासँगै इजिप्टले राउन्ड अफ ३२ मा स्थान सुरक्षित गरेको छ भने इरानको नकआउट चरण यात्रा अन्य समूहको नतिजामा निर्भर बनेको छ।
इजिप्टले समूह चरण अपराजित रहँदै पाँच अंक जोड्यो। टोलीले न्यूजिल्यान्डमाथि जित हासिल गरेको थियो भने बेल्जियम र इरानसँग बराबरी खेलेको थियो। यही प्रदर्शनका आधारमा ‘फेराओ’ उपनामले चिनिने इजिप्टले नकआउट चरणमा स्थान पक्का गरेको हो।
इरान पनि समूह चरणभर अपराजित रह्यो। उसले न्यूजिल्यान्ड, बेल्जियम र इजिप्टसँग समान रूपमा बराबरी खेलेर तीन अंक जोड्यो। तर‚ तीन अंकका कारण टोलीको भविष्य अन्य समूहका तेस्रो स्थानमा रहने टोलीको नतिजामा निर्भर भएको छ। उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीमध्ये पर्न सके इरानले नकआउट चरणमा स्थान बनाउनेछ।
समूहको अर्को खेलमा बेल्जियमले न्यूजिल्यान्डलाई ५–१ ले पराजित गर्दै समूह विजेता बन्न सफल भयो। यससँगै न्यूजिल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ।










-1787661904658.jpeg&w=3840&q=75)

