अन्तिम खेलमा पुनरागमन गरेको बेल्जियम

काठमाडौं। लियन्ड्रो ट्रोसार्डको दुई गोलको मद्दतमा बेल्जियमले न्यूजिल्यान्डलाई ५–१ ले पराजित गर्दै २०२६ फिफा विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
सुरुआती दुई खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको बेल्जियमले समूह चरणको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै समूह ‘जी’को शीर्ष स्थान हासिल गर्यो। अब बेल्जियमले आगामी बुधबार सिएटलमा उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीमध्ये एकसँग राउन्ड अफ ३२ मा प्रतिस्पर्धा गर्नेछ।
समूहको अर्को अन्तिम खेलमा इजिप्ट र इरानले १–१ को बराबरी खेलेपछि बेल्जियमलाई समूह विजेता बन्न थप सहज भयो। विश्वकपको सुरुआती खेलमा इजिप्टसँग १–१ को बराबरी खेलेको बेल्जियमले दोस्रो खेलमा इरानसँग गोलरहित बराबरी खेलेको थियो।
त्यसैले अन्तिम खेलअघि टोली समूहको तेस्रो स्थानमा रहेको थियो। तर‚ न्यूजिल्यान्डविरुद्धको फराकिलो जितले बेल्जियमलाई शीर्ष स्थानमा पुर्यायो। बेल्जियमका ट्रोसार्डले दुई गोल गर्दा कप्तान केभिन डी ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सालेमाकर्सले समान एक–एक गोल गरे।
सन् २०१८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जियम चार वर्षअघि कतार विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो। यसपटक टोलीले बलियो पुनरागमन गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको छ।
न्यूजिल्यान्डका इलिजा जस्टले सान्त्वना गोल गरे। नकआउट चरणमा पुग्न न्यूजिल्यान्डलाई जित अनिवार्य थियो। तर‚ हारसँगै टोली विश्वकप इतिहासमै पहिलो जितको प्रतीक्षा अझै कायम राख्दै प्रतियोगिताबाट बाहिरिएको छ।










-1787661904658.jpeg&w=3840&q=75)

