डेब्यु विश्वकपमै इतिहास रचेको केभ भर्डे

आफ्नो पहिलो विश्वकप खेलिरहेको सानो टापु राष्ट्र केप भर्डेले इतिहास रचेको छ। शुक्रबार साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकपको नकआउट चरणमा पुग्ने सबैभन्दा सानो जनसंख्या भएको राष्ट्र बनेको छ।
पश्चिम अफ्रिकाको तटनजिक रहेको करिब पाँच लाखभन्दा केही बढी जनसंख्या भएको यो देशले समूह चरणका तीनवटै खेल बराबरी खेलेर तीन अंक जोड्यो।
यसअघि केप भर्डेले सन् २०१० को विश्व च्याम्पियन स्पेनसँग गोलरहित बराबरी खेलेको थियो भने दुई पटकको विश्व च्याम्पियन उरुग्वेसँग २–२ को रोमाञ्चक बराबरी निकालेको थियो।

समूहको अन्तिम खेलमा स्पेनले उरुग्वेलाई १–० ले हराएपछि केप भर्डे तीन अंकसहित समूह ‘एच’को उपविजेता बन्दै अन्तिम ३२ मा प्रवेश गर्न सफल भयो। अब उसले जुलाई ३ मा मियामीमा साबिकको विश्व च्याम्पियन अर्जेन्टिनाको सामना गर्नेछ।
विश्वकपजस्तो ठूलो प्रतियोगितामा तीनवटै खेल बराबरी खेल्दै नकआउट चरण पुग्नु दुर्लभ उपलब्धि हो। यसअघि वेल्स (१९५८), आयरल्यान्ड र नेदरल्यान्ड्स (१९९०), तथा चिली (१९९८) ले यस्तो उपलब्धि हासिल गरेका थिए। तर‚ सन् २०१० मा न्युजिल्यान्डले तीनवटै खेल बराबरी खेले पनि गोल अन्तरका आधारमा बाहिरिनुपरेको थियो।

खेलअघि केप भर्डेका प्रशिक्षक बुबिस्टाले भनेका थिए,‘सपना देख्ने अधिकार सबैलाई छ र फुटबलमा केही पनि असम्भव हुँदैन।’ उनका खेलाडीहरूले त्यो भनाइलाई मैदानमा सत्य साबित गरे।
केप भर्डेको सफलतामा ४० वर्षीय अनुभवी गोलरक्षक भोजिन्हाको योगदान निर्णायक रह्यो। प्रतियोगिताभरको उत्कृष्ट प्रदर्शनका कारण सामाजिक सञ्जाल इन्स्टाग्राममा उनका १ करोड ६० लाखभन्दा बढी फलोअर थपिएका छन्।
साउदी अरेबियाविरुद्ध पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफको इन्जुरी समयमा मोहम्मद कान्नोको हेडर बचाए। त्यसपछि ६६औं मिनेटमा मोहम्मद अबु अल–शामातको प्रहार रोके भने इन्जुरी समयको दोस्रो मिनेटमा अब्दुल्लाह अल–हमदानको खतरनाक प्रयास पनि विफल पार्दै टोलीलाई ऐतिहासिक नतिजा दिलाए।

भोजिन्हालाई समर्थन गर्न दर्शकदीर्घामा केही समर्थकहरूले आफ्नो छातीमा उनको नामका अक्षर लेखेर उत्साह व्यक्त गरेका थिए। उनका लागि सबैभन्दा विशेष समर्थक भने उनकी आमा आना कान्दिदा एभोरा थिइन्, जसले लक्जरी बक्सबाट सानो केप भर्डेको झण्डा फहराउँदै छोरा खेलिरहेको दृश्य नियालिन्। भिसा समस्याका कारण उनले स्पेनविरुद्धको खेल हेर्न पाएकी थिइनन्।
केप भर्डेले पनि केही राम्रो अवसर सिर्जना गरेको थियो। ५०औं मिनेटमा केभिन पिनाको लामो दूरीको प्रहार बारमाथिबाट बाहिरियो। ७४औं मिनेटमा लारोस डुआर्टेको प्रहार साउदी गोलरक्षक मोहम्मद अल–ओवैसले रोके। अन्तिम क्षणमा नुनो दा कोस्टाको प्रहार पनि लक्ष्यभन्दा बाहिरिएपछि खेल गोलरहित बराबरीमा सकियो।

तर‚ केही मिनेटपछि स्पेनले उरुग्वेमाथि जित सुनिश्चित गरेसँगै केप भर्डेका खेलाडी र समर्थकहरू खुसीले भावुक बने। धेरैको आँखाबाट आँसु बगिरहेको थियो, किनकि उनीहरूले आफ्नो देशको फुटबल इतिहासकै सबैभन्दा ठूलो उपलब्धिको साक्षी बन्ने अवसर पाएका थिए।





-1786501128320.webp&w=3840&q=75)



-1786458313460.webp&w=3840&q=75)



