विश्वकपमा गोलको विश्व कीर्तिमान

क्यालिफोर्नियाको इङ्गलउडमा टर्कीविरुद्धको खेलको तेस्रो मिनेटमै अमेरिकाले अग्रता लियो। डिफेन्डर अस्टन ट्रस्टीले गरेको उक्त गोल व्यक्तिगत रूपमा मात्र होइन, विश्वकप इतिहासकै नयाँ कीर्तिमानको कारण पनि विशेष बन्यो।
ट्रस्टीको गोलसँगै २०२६ फिफा विश्वकपमा कुल गोलसंख्या १७३ पुगेको छ। योसँगै २०२२ मा कतारमा सम्पन्न विश्वकपमा भएको १७२ गोलको कीर्तिमान तोडिएको छ। यससँगै विश्वकपको एउटै संस्करणमा सर्वाधिक गोल हुने नयाँ इतिहास पनि बनेको छ।
त्यसपछि सोही खेलमा थप चार गोल भए र टर्कीले अमेरिकामाथि ३–२ को रोमाञ्चक जित निकाल्यो। त्यससँगै प्रतियोगिताको कुल गोलसंख्या १७७ पुगेको छ। प्रतियोगिताको ५९औं खेलमै यो नयाँ कीर्तिमान बनेको हो।

यद्यपि‚ ६०औं खेलमा अस्ट्रेलिया र पाराग्वेबीच गोलरहित बराबरी भएपछि गोलसंख्यामा थप वृद्धि भएन। २०२२ को कतार विश्वकपमा ६४ खेलबाट १७२ गोल भएका थिए।
यसपटक विश्वकपमा कुल १०४ खेल हुने भएकाले अघिल्लो संस्करणभन्दा ४० खेल बढी छन्। यसले गोलसंख्या अझ बढ्ने सम्भावना देखिएको छ।
हालसम्मको प्रदर्शनअनुसार जर्मनी र नेदरल्यान्ड्सले सर्वाधिक १०–१० गोल गरेका छन्। क्यानडा र अमेरिकाले समान ८–८ गोल गरेका छन् भने स्विट्जरल्यान्ड, ब्राजिल, जापान, स्विडेन र नर्वेले समान ७–७ गोल गरेका छन्।

विश्वकपमा भइरहेको गोल वर्षाबारे फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै लेखेका छन्,‘कतार विश्वकपको १७२ गोलको कीर्तिमान पार हुनु भनेको २०२६ विश्वकपलाई अविस्मरणीय बनाउने रोमाञ्चक र आक्रामक फुटबलको उत्कृष्ट उदाहरण हो।’





-1786501128320.webp&w=3840&q=75)



-1786458313460.webp&w=3840&q=75)



