मेसीसँग फाइनल खेल्ने कुबार्सीको सपना

लिओनल मेसीको जादुमय खेल हेर्दै हुर्किएका स्पेनका युवा डिफेन्डर पाउ कुबार्सी अहिले स्पेनको रक्षापंक्तिका महत्त्वपूर्ण खेलाडीमध्ये एक बनेका छन्।
बार्सिलोनाको प्रसिद्ध ला मासिया एकेडेमीबाट उदाएका १९ वर्षीय कुबार्सी हाल विश्वकपमा स्पेनको पहिलो रोजाइका खेलाडी हुन्। तर‚ उनको मनमा बाल्यकालदेखिको एउटा विशेष सपना अझै बाँकी छ,विश्वकपको फाइनलमा आफ्ना आदर्श मेसीविरुद्ध खेल्ने।
हालैको एक अन्तर्वार्तामा कुबार्सीसँग स्पेन समूह विजेता बन्दै नकआउट चरण पार गरेर फाइनल पुगेमा अर्जेन्टिनासँग भेट हुन सक्ने सम्भावनाबारे प्रश्न गरिएको थियो।

यस सम्भावित फाइनलको कल्पना गर्दै उनले भने,‘मेरो लागि यो सपना साकार भएजस्तै हुनेछ। पहिलो कुरा यसको अर्थ म विश्वकपको फाइनल खेलिरहेको हुनेछु, जुन आफैंमा ठूलो उपलब्धि हो। त्यसमा पनि यदि फाइनल मेसीविरुद्ध भयो भने त्यो मेरो बाल्यकालको सपना पूरा भएको महसुस हुनेछ।’
मेसीप्रतिको आफ्नो र परिवारको गहिरो सम्मानबारे बोल्दै उनले थपे,‘मेरो सम्पूर्ण परिवार जन्मदेखि नै बार्सिलोनाको समर्थक हो। सानैदेखि मेसी हाम्रो आदर्श र प्रेरणाको स्रोत रहँदै आएका छन्। म उनीविरुद्ध खेल्ने अवसरको प्रतीक्षामा छु।’
यता, अर्जेन्टिनाका विश्वकप विजेता फरवार्ड जुलियन अल्भारेज एट्लेटिको मड्रिड छाडेर बार्सिलोनामा आबद्ध हुन सक्ने चर्चा चलिरहेको छ। यस विषयमा प्रतिक्रिया दिँदै कुबार्सीले भने,‘अहिले मेरो ध्यान हाम्रो वर्तमान टोलीमा केन्द्रित छ। हामीसँग फेरान टोरेस छन्, नयाँ खेलाडी एन्थोनी गोर्डन पनि आएका छन्। अन्ततः जो आए पनि स्वागत छ र कोही नआए पनि म यही टोलीसँग अन्तिमसम्म संघर्ष गर्नेछु। हामीसँग उत्कृष्ट टोली छ।’
तर‚ अल्भारेजलाई रोक्न सजिलो नहुने कुरा उनले स्वीकार गरे। ‘मैले उनलाई धेरै पटक सामना गरेको छु। उनी खेलको नतिजा बदल्न सक्ने खेलाडी हुन्। उनलाई मार्क गर्न निकै गाह्रो हुन्छ र सधैं सतर्क रहनुपर्छ,’ उनले भने।
समूह चरणको अन्तिम खेलमा स्पेनले उरुग्वेको सामना गर्नेछ। बार्सिलोनामा कुबार्सीका रक्षात्मक साझेदार रोनाल्ड अराउहो उरुग्वेका लागि खेलिरहेका छन्। क्लबका सहकर्मीविरुद्ध खेल्न लागिएको विषयमा उनले भने,‘हामीलाई थाहा छ उरुग्वे मैदानमा कति लडाकु मानसिकतासहित खेल्छ। उनीहरू वास्तविक योद्धाजस्तै खेल्छन्। समूह विभाजन भएपछि अराउहोसँग कुरा हुँदा हामी दुवैले एकअर्कालाई हराउन चाहेको बताएका थियौं। पछिल्लो समय भने हाम्रो कुरा भएको छैन। हामीले आफ्नै शैलीमा खेल्दै बलको नियन्त्रण कायम राखेर आक्रमणात्मक खेल प्रस्तुत गर्नुपर्छ।’










-1787661904658.jpeg&w=3840&q=75)

