उत्कृष्ट लयमा ब्राजिल

खेल सुरु हुनुअघि नै ब्राजिलको बेन्च वरिपरि नेयमारलाई केन्द्रमा राखेर फोटोग्राफरहरूको भीड लागेको थियो। समर्थकहरू पनि उनको मैदान प्रवेशको प्रतीक्षामा थिए।
खेलको ७५औं मिनेटमा नेयमार मैदानमा प्रवेश गर्दा मियामीको हार्ड रक स्टेडियममा उपस्थित ब्राजिली समर्थकहरू उत्साहले गुञ्जिए। तर, खेलको वास्तविक नायक भने भिनिसियस जुनियर बने। उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई फेरि प्रमाणित गरे।
प्रतियोगिताका तीनवटै खेलमा उनी ‘म्यान अफ द म्याच’ घोषित भए र चार गोल गरे। गोल्डेन बुट दौडमा उनी लिओनल मेसीभन्दा एक गोलले पछाडि छन्। उनका दुई गोलबीचको अर्को गोल अफसाइडका कारण रद्द नभएको भए उनले ह्याट्रिक पूरा गर्ने थिए।

दुई वर्षभन्दा बढी समयपछि नेयमारले पुनः ब्राजिलको पहेँलो जर्सी लगाएर मैदानमा उत्रिए पनि त्यो क्षणलाई केही हदसम्म भिनिसियसको प्रदर्शनले ओझेलमा पारिदियो। टोलीका मुख्य लिडरमध्ये एकका रूपमा उनले आफूलाई स्थापित गरे। स्कटल्यान्डविरुद्धको ३–० को जितमा उनको भूमिका निर्णायक रह्यो।
वास्तवमा भिनिसियसले तीनपटक बल जालीमा पुर्याएका थिए। तर, तीमध्ये एक गोल विवादास्पद रूपमा रद्द गरियो। त्यसले उनको आत्मविश्वासमा कुनै असर पारेन। गोलका अतिरिक्त उनले ड्रिब्लिङ, विंग खेल र निरन्तर आक्रमणमार्फत विपक्षीलाई दबाबमा राखे।
पहिलो गोलमा युवा खेलाडी रायनको महत्त्वपूर्ण योगदान थियो। विपक्षी डिफेन्डरले बल क्लिअर गर्न खोज्दा त्यो रायनको खुट्टामा लागेर भिनिसियसको अगाडि पुग्यो। त्यसपछि उनले सजिलै गोल गर्दै टोलीलाई अग्रता दिलाए। १९ वर्षीय रायनले विश्वकपमा पहिलोपटक सुरुआती टोलीमा स्थान पाएका थिए। उनको प्रदर्शनबाट प्रशिक्षक कार्लो एर्न्सेलोटी निकै प्रभावित देखिए।

एर्न्सेलोटीले भने,‘रायनले आक्रमण र रक्षण दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्यो। उमेर कम भए पनि ऊ निकै परिपक्व छ। उसमा अथाह सम्भावना छ र उसको सीमा कहाँसम्म पुग्छ भन्ने कसैले भन्न सक्दैन।’
पहिलो हाफको अतिरिक्त समयमा ब्रुनो गिमाराएसको उत्कृष्ट क्रसमा भिनिसियसले दुर्लभ हेडरमार्फत दोस्रो गोल गरे। रोमारियो, जिको र गारिन्चापछि लगातार तीन खेलमा पाँच गोल गर्ने ब्राजिली खेलाडीको सूचीमा उनी पनि समावेश भए।
भिनिसियसले भने,‘म व्यक्तिगत तथ्यांकभन्दा टोलीको सफलतालाई प्राथमिकता दिन्छु। गोल गर्न पाउँदा खुसी लागेको छ। आज त हेडरबाट पनि गोल भयो।’

उनले प्रशिक्षकसँगको रोचक शर्तबारे पनि खुलासा गरे। ‘मैले कोचलाई हेडरबाट गोल गर्ने वाचा गरेको थिएँ। उहाँले त्यो लगभग असम्भव भएको बताउनुभएको थियो र सफल भए उपहार दिने वाचा गर्नुभएको थियो। अब म त्यो उपहारको प्रतीक्षामा छु।’
एर्न्सेलोटीले पनि भिनिसियसको प्रशंसा गर्दै भने, ‘उसले आज हेडबाट गोल गर्यो, जुन सामान्यतया उसबाट देखिँदैन। मेरो विचारमा ऊ विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक हो।’ खेलको सुरुआतदेखि नै ब्राजिलले स्कटल्यान्डमाथि पूर्ण नियन्त्रण कायम गर्यो। स्कटल्यान्डले काउन्टर अट्याकको अवसर खोजे पनि सफल हुन सकेन। रायन, म्याथियस कुन्हा र भिनिसियसको तीव्र आक्रमण रोक्न उनीहरू अधिकांश समय रक्षात्मक अवस्थामा रहे।

ब्राजिलले एर्न्सेलोटीको रणनीति क्रमशः आत्मसात् गरेको स्पष्ट देखिन्थ्यो। आक्रमणमा भिनिसियस र रायनले मैदानका दुवै किनारf सम्हालेका थिए भने कुन्हा ‘फल्स नाइन’ भूमिकामा थिए। डगलसलाई आक्रमणमा अघि बढ्ने बढी स्वतन्त्रता दिइएको थियो।
ब्राजिलको उच्च प्रेसिङ खेल निकै प्रभावकारी रह्यो। खेलको छैटौ| मिनेटमै रायनले स्कटल्यान्डका कप्तान रोबर्टसनबाट बल खोसेर भिनिसियसलाई उपलब्ध गराए। भिनिसियसले गोलकिपरलाई छक्याउँदै सहज गोल गरे।
मध्यभागका खेलाडी सुरुमा अपेक्षाअनुसार प्रभावकारी हुन नसक्दा ब्राजिलको खेल केही असन्तुलित देखिएको थियो। तर, पहिलो हाफको अन्त्यतिर गिमाराएस र पाकेटाले लय समातेपछि आक्रमण थप धारिलो बन्यो। दोस्रो गोल त्यसैको उत्कृष्ट उदाहरण बन्यो।

दोस्रो हाफमा स्कटल्यान्डले आक्रामक शैली अपनाए पनि ब्राजिलका गोलरक्षक एलिसन उत्कृष्ट लयमा देखिए। उनले लगातार पाँच महत्त्वपूर्ण बचाउ गर्दै विपक्षीलाई गोल गर्न दिएनन्। विशेषगरी फर्गुसनको फ्रिकिक र म्याकटोमिनेको हेडर रोकेर उनले टोलीको अग्रता सुरक्षित राखे।
खेल नियन्त्रणमा आइसकेपछि ७६औं मिनेटमा नेयमारलाई मैदानमा उतारियो। लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका उनलाई समर्थकहरूले भव्य स्वागत गरे। ९८१ दिनपछि ब्राजिलको जर्सी लगाएर मैदानमा उत्रिएका उनले गोल गर्न नसके पनि केही आशाजनक क्षण सिर्जना गरे। उनको पासबाट भिनिसियसलाई ह्याट्रिक पूरा गर्ने अवसर पनि प्राप्त भएको थियो।
सुरुआती दुई खेलको दबाब, अस्थिरता र रणनीतिक कमजोरीलाई पछाडि पार्दै ब्राजिलले आफूलाई फेरि बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ। टोली अहिले एकजुट, संगठित र आत्मविश्वासी देखिएको छ। एर्न्सेलोटीले भने,‘हामी अहिले एउटा वास्तविक टोलीका रूपमा खेलिरहेका छौं र यही सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हामी पूर्ण छैनौं, सुधारको अझै धेरै ठाउँ छ। तर, टोलीको प्रगति देखेर म सन्तुष्ट छु। नकआउट चरणमा यही दृढता आवश्यक हुन्छ।’

भिनिसियस र कुन्हा आक्रमणका मुख्य हतियार बनेका छन्। मध्यभागमा पाकेटा र कासेमिरोले आफ्नो लय फेला पारेका छन् भने रक्षापंक्तिमा मगलायस र मार्किन्होस मजबुत देखिएका छन्। पछाडि एलिसनको भरपर्दो उपस्थितिले टोलीलाई थप आत्मविश्वास दिएको छ।
ब्राजिलले फेरि एकपटक किन आफ्नो जर्सीमा पाँचवटा तारा छन् भन्ने प्रमाणित गरेको छ। अब हेक्सा (छैटौं विश्वकप उपाधि) को लक्ष्यतर्फ बढेको ब्राजिल यात्रा अझ कठिन चरणमा प्रवेश गर्दैछ। तर, पछिल्लो प्रदर्शनले समर्थकहरूमा नयाँ आशा र विश्वास जगाएको छ।





-1786501128320.webp&w=3840&q=75)



-1786458313460.webp&w=3840&q=75)



