राफिन्हाको स्थानमा रायन ?

काठमाडौं। विश्वकपको समूह चरणको अन्तिम खेलमा ब्राजिलले मियामीमा स्कटल्यान्डको सामना गर्दैछ।
यस महत्त्वपूर्ण खेलअघि प्रशिक्षक कार्लो एर्न्सेलोट्टीले टोलीमा ठूलो परिवर्तन नगर्ने संकेत दिएका छन्। चोटग्रस्त विंगर राफिन्हाको स्थानमा १९ वर्षीय युवा फरवार्ड रायनले सुरुआती टोलीमा अवसर पाउने सम्भावना रहेको छ।
ब्राजिल आफ्नो समूहमा गोलअन्तरका आधारमा मोरक्कोलाई पछि पार्दै शीर्ष स्थानमा छ। शीर्ष स्थान कायम राख्ने लक्ष्यसहित मैदान उत्रन लागेको ब्राजिल कुनै जोखिम लिन चाहँदैन।
एक थप पहेँलो कार्ड पाए आगामी खेल गुमाउने जोखिममा रहेका कासेमिरो र डगलस सान्तोसलाई समेत विश्राम नदिने निर्णय एर्न्सेलोट्टीले गरेका छन्।

पत्रकार सम्मेलनमा उनले भने,‘हामी हाम्रो उत्कृष्ट टोलीसहित मैदानमा उत्रेर राम्रो प्रदर्शन गर्न चाहन्छौं। राफिन्हाको विकल्पबारे हाम्रो योजना स्पष्ट छ। कार्डको सम्भावित जोखिमलाई ध्यानमा राखेर टोली चयन गर्ने पक्षमा हामी छैनौं।’
प्रशिक्षणका क्रममा एर्न्सेलोट्टीले दायाँ विंगमा रायनलाई विशेष रूपमा तयार पारेका थिए। लुइस हेनरिकसँग पनि विभिन्न संयोजन परीक्षण गरिए तापनि प्रशिक्षकको पहिलो रोजाइ युवा रायन नै रहेको बताइएको छ। उनको गति र आक्रमण विस्तार गर्ने क्षमताप्रति रियल मड्रिडका पूर्वप्रशिक्षक एर्न्सेलोट्टी निकै विश्वस्त देखिएका छन्।
ब्राजिलका समर्थकका लागि अर्को खुसीको खबर भनेको नेयमार जुनियर टोलीमा उपलब्ध हुनु हो। यद्यपि‚ उनी अझै पूर्ण रूपमा फिट नभएकाले सुरुदेखि खेलाउने जोखिम लिइएको छैन। ब्राजिलका नम्बर १० जर्सीधारी स्टारले खेल साइड बेन्चबाट सुरु गर्नेछन् र खेलको अवस्थाअनुसार दोस्रो हाफको अन्त्यतिर मैदानमा उतारिन सक्ने सम्भावना छ।
स्कटल्यान्डविरुद्ध ब्राजिलको सम्भावित सुरुआती टोली:
एलिसन, डानिलो, मार्किन्होस, गाब्रिएल मागाल्हाएस, डगलस सान्तोस, कासेमिरो, ब्रुनो गिमारेस, लुकास पाकेता, रायन, म्याथेउस कुन्हा र भिनिसियस जुनियर।










-1787661904658.jpeg&w=3840&q=75)

