इङ्ल्यान्डलाई गोलको खडेरी

काठमाडौं। विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को महत्त्वपूर्ण खेलमा इङ्ग्ल्यान्ड र घानाले मंगलबार ०–० को बराबरी खेलेका छन्। लगातार वर्षा भइरहेका बीच सम्पन्न खेलमा इङ्ग्ल्यान्डले अधिकांश समय बल नियन्त्रणमा राखे पनि गोल गर्न असफल रह्यो।
घानाका मुख्य प्रशिक्षक कार्लोस क्विरोजले आफ्नो टोलीको रणनीति सफल भएको बताए। खेलपछि उनले भने,‘हाम्रो योजना पहिलो मिनेटदेखि नै इङ्ग्ल्यान्डलाई रोक्ने र निराश बनाउने थियो। हामी त्यसमा सफल भयौं।’
चार वर्षअघि कतार विश्वकपमा क्विरोजले इरानको प्रशिक्षण गर्दा उनको टोली इङ्ग्ल्यान्डसँग ६–२ ले पराजित भएको थियो। तर‚ यसपटक उनले घानालाई महत्त्वपूर्ण एक अंक दिलाउन सफल भए।

इङ्ग्ल्यान्डले खेलभर घानामाथि दबाब बनाएर १९ पटक प्रहार गर्यो। घानाले केवल एक प्रहार मात्र गर्न सक्यो। तर‚ कुनै टोलीले पनि गोल गर्न सकेन।
इङ्ग्ल्यान्डका मिडफिल्डर जुड बेलिङ्घमले घानाको रक्षात्मक खेलको प्रशंसा गर्दै भने,‘उनीहरूले खेलबाट चाहेको नतिजा पाए। हामीले धेरै कर्नर, बल नियन्त्रण र टाढाबाट प्रहार गरे पनि उनीहरूको रक्षा भेद्न सकेनौं।’
दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। घानाले पानामालाई १–० ले हराएको थियो भने इङ्ग्ल्यान्डले क्रोएसियालाई ४–२ ले पराजित गरेको थियो। यस बराबरीपछि दुवै टोली नकआउट चरणमा पुग्ने दौडमा कायम छन्।

विश्वकपको इतिहासमा इङ्ग्ल्यान्डले अफ्रिकी टोलीविरुद्ध खेलेका ९ खेलमध्ये कुनै पनि हारेको छैन। खेलको ८६औं मिनेटमा इङ्ग्ल्यान्डले अग्रता लिने सुनौलो अवसर पाएको थियो। निको ओ'राइलीको हेडर क्रसबारमा लागेर फर्कियो। त्यसपछि प्राप्त रिबाउन्डमा ह्यारी केनले प्रहार गरे पनि बल पोस्टमाथिबाट बाहिरियो।
घानाको सबैभन्दा राम्रो अवसर ७८औं मिनेटमा आएको थियो। अब्दुल फतावुले बल नियन्त्रणमा लिएर प्रिन्स अडुलाई पास दिएका थिए। तर‚ इङ्ग्ल्यान्डका डिफेन्डर एज्री कोन्साले उनलाई शट हान्नुअघि नै चुनौती दिए। अडुले पेनाल्टीको माग गरे पनि रेफ्रीले अस्वीकार गरे।
यस निर्णयप्रति असन्तुष्ट क्विरोजले भने,‘यो स्पष्ट पेनाल्टी थियो, सम्भवतः रातो कार्ड पनि हुन सक्थ्यो। यसमा हामीलाई कुनै शंका छैन।’

इङ्ग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले घानाको ४–५–१ रक्षात्मक संरचनाले आफ्नो टोलीलाई आश्चर्यचकित पारेको बताए।
उनले घानालाई प्रतियोगिताकै सबैभन्दा शारीरिक रूपमा बलियो टोलीमध्ये एक भएको पनि उल्लेख गरे। ‘उनीहरूले अत्यन्त अनुशासित र दृढतापूर्वक रक्षा गरे,’ टुचेलले भने।
टुचेलले ह्यारी केनमाथि टोली अत्यधिक निर्भर रहेको आरोप अस्वीकार गर्दै भने,‘केनलाई हामीले चाहेजति अवसर दिन सकेनौं। मैदानको बीच भाग निकै साँघुरो थियो र खाली स्थान फेला पार्न कठिन भयो।’
पहिलो हाफमा इङ्ग्ल्यान्डले ६० प्रतिशत बल नियन्त्रणमा राखे पनि केवल पाँच प्रभावकारी अवसर सिर्जना गर्न सक्यो। दोस्रो हाफमा घानाले पनि आक्रामकता बढायो। ५०औं मिनेटमा मार्भिन सेनायाले हेडरमार्फत अवसर सिर्जना गरे पनि इङ्ग्ल्यान्डको रक्षापंक्तिले त्यसलाई रोक्यो।
घानाका गोलकिपर बेन्जामिन असारेले आफ्नो पहिलो विश्वकप खेलमै ‘क्लिन सिट’ राख्दै टोलीका लागि महत्त्वपूर्ण योगदान दिए।
घानाका मिडफिल्डर क्वासी सिबोले भने,‘हामीले प्रशिक्षकको योजनाअनुसार खेलेका थियौं। सम्भव भएसम्मको उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भयौं।’
अब इङ्ग्ल्यान्डले शनिबार पानामासँग खेल्नेछ भने घानाले पनि सोही दिन अर्को समूह चरणको निर्णायक खेल खेल्नेछ। विस्तारित ४८ टोलीको विश्वकपमा उत्कृष्ट आठ तेस्रो स्थानका टोली पनि नकआउट चरणमा पुग्ने भएकाले दुवै टोलीको सम्भावना अझै बलियो रहेको छ।










-1787661904658.jpeg&w=3840&q=75)

