मेसीले कीर्तिमान तोड्दा अर्जेन्टिनालाई राहत

काठमाडौं। लिओनल मेसीले फेरि इतिहास रचेका छन्। जारी विश्वकपमा अर्जेन्टिनाको दोस्रो खेलमा गोल गर्दै उनले २८ खेलमा आफ्नो १७औं विश्वकप गोल पूरा गरेका छन्।
यससँगै उनी जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजेलाई पछि पार्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेका छन्। मेसीको यही एकमात्र गोलको मद्दतमा विश्व च्याम्पियन अर्जेन्टिनाले पहिलो हाफ १–० को अग्रतासम्मेत लिएको छ।
खेलको तेस्रो मिनेटमै अर्जेन्टिनाले आक्रमण बुनेको थियो। लाउटारो मार्टिनेज पेनाल्टी क्षेत्रभित्र प्रवेश गर्ने क्रममा अस्ट्रियाका खेलाडी श्लागर र पोशको चुनौतीमा लड्न पुगे। तर‚ रेफ्रीले सुरुमा पेनाल्टी दिएका थिएनन्।
पछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिएर पेनाल्टी दिइएको थियो। आठौं मिनेटमा मेसी पेनाल्टी प्रहार गर्न अघि बढे। गोल गर्न सकेमा उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने थिए।
तर‚ यसपटक उनी सफल हुन सकेनन्। उनको प्रहार गोलपोस्टको दायाँतर्फ बाहिरियो। गोलरक्षकले सही दिशा अनुमान गरे पनि बचाउ गर्नुपर्ने अवस्था आएन।
२१औं मिनेटमा मेसीसँग अर्को उत्कृष्ट अवसर थियो। उनी बल लिएर पेनाल्टी क्षेत्रभित्र प्रवेश गरे पनि डाभिड अलाबाले पछाडिबाट बल छोएपछि खतरा टर्यो। हाइड्रेसन ब्रेकअघि अर्जेन्टिना निराश देखिएको थियो।
३३औं मिनेटमा अस्ट्रियाली रक्षापंक्तिको गल्तीले अर्जेन्टिनाले ठूलो अवसर पायो। एन्जो फर्नान्डेजतर्फ आएको पास रोक्ने क्रममा श्लागरले बल क्लियर गर्न खोज्दा सोझै मेसीको खुट्टामा पुगेको थियो। मेसीले समय खेर नफाली तुरुन्तै गोलतर्फ प्रहार गरे।
गोलपोस्ट लगभग खाली रहे पनि डाभिड अलाबा सही स्थानमा उभिएर निश्चित गोललाई ब्लक गर्न सफल भए। ३९औं मिनेटमा अन्ततः त्यो ऐतिहासिक क्षण आयो। बायाँ विङबाट सुरु भएको अर्जेन्टिनाको आक्रमणमा मेसी स्वयं सहभागी भए। पेनाल्टी क्षेत्रको किनारबाट उनले सटीक प्रहार गर्दै बललाई पोस्टको तल्लो बायाँ कुनाबाट जाली चुमाए।
यस गोलसँगै मेसीले विश्वकपमा आफ्नो १७औं गोल पूरा गर्दै मिरोस्लाभ क्लोजेको कीर्तिमान तोडे। साथै अर्जेन्टिनालाई पनि महत्त्वपूर्ण अग्रता दिलाए। मेसीको यही गोलको मद्दतमा अर्जेन्टिना पहिलो हाफको अन्त्यसम्म १–० ले अगाडि रह्यो।










-1787661904658.jpeg&w=3840&q=75)

