मेसीलाई पर्खिरहेको कीर्तिमान
-1782148636806.webp&w=3840&q=75)
लिओनल मेसीका लागि नयाँ कीर्तिमान बनाउनु कुनै नौलो कुरा होइन।
एकपछि अर्को उपलब्धि हासिल गर्दै अर्जेन्टिनी सुपरस्टारले फुटबल इतिहासमा आफ्नो नाम धेरैअघि नै स्वर्णिम अक्षरले लेखिसकेका छन्।
अब उनको सामुन्ने यस्तो एउटा उपलब्धि छ, जुन विश्वकप फुटबलको इतिहासमा अहिलेसम्म कसैले हासिल गर्न सकेको छैन।
-1782148693099.webp)
उक्त कीर्तिमान कायम गरेमा उनले १२ वर्ष पुरानो रेकर्डसमेत तोड्नेछन्। मेसी आफ्नो करिअरको छैटौं विश्वकप खेलिरहेका छन्। विश्वकपमा हालसम्म उनको गोल संख्या १६ पुगेको छ।
यही संख्याका साथ जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजेसँग उनी सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा छन्। अस्ट्रियाविरुद्ध एक गोल गर्नासाथ मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नेछन्।
विश्वकपको पहिलो खेलमै मेसीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो लय देखाइसकेका छन्। अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै उनले टोलीलाई सानदार जित दिलाउनुका साथै क्लोजेको लामो समयदेखिको कीर्तिमान पनि बराबरी गरेका थिए।

क्लोजेले २००२ देखि २०१४ सम्मका चार विश्वकपमा १६ गोल गरेका थिए। १२ वर्षदेखि कायम रहेको उक्त कीर्तिमान अब मेसीले तोड्ने सम्भावना बलियो बनेको छ।
अल्जेरियाविरुद्धको खेलमा मेसीको प्रदर्शनले उमेर संख्या मात्र भएको प्रमाणित गरेको थियो। उनले अझै पनि विपक्षीको रक्षापंक्तिलाई तहसनहस पार्न सक्ने क्षमता कायम राखेको देखाएका थिए।
यदि अस्ट्रियाविरुद्ध पनि उनले यही लय कायम राख्न सके फुटबल इतिहासमा अर्को स्वर्णिम अध्याय थपिनेछ। व्यक्तिगत उपलब्धिभन्दा बाहिर मेसीको ध्यान टोलीको सफलतामा पनि रहनेछ।
नकआउट चरणको यात्रा सुनिश्चित गर्न महत्त्वपूर्ण मानिएको यस खेलमा अर्जेन्टिनाको सबैभन्दा ठूलो भरोसा पनि उनी नै हुन्। सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका मेसीले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा फेरि एकपटक सम्झनलायक उपहार दिन चाहनेछन्। उनका समर्थक भने एक गोलको प्रतीक्षामा छन्।










-1787661904658.jpeg&w=3840&q=75)

