मेसीको ‘हेयर स्टाइलिस्ट’ चेन्ज !

विश्वकपको व्यस्त तालिका, प्रशिक्षण र महत्त्वपूर्ण खेलको तयारीका बीच अर्जेन्टिनाका कप्तान लिओनल मेसीले आफ्नो लागि केही समय निकालेका छन्।
अस्ट्रियाविरुद्धको महत्त्वपूर्ण समूह चरणको खेलअघि उनले टोलीका सहकर्मी रोड्रिगो डी पाउलसँग मिलेर ‘हेयर स्टाइलिस्ट’ परिवर्तन गरेका छन्।
यद्यपि‚ मेसीको नयाँ हेयरस्टाइलमा कुनै ठूलो परिवर्तन देखिएको छैन। बरु उनी आफ्ना समर्थकलाई लामो समयदेखि परिचित रहेको सादा र व्यवस्थित शैलीमै फर्किएका छन्। विश्वकप सुरु हुँदा केही लामो कपालमा देखिएका मेसीले यसपटक कपाल छोट्याएर पुरानै परिचित लुक्स अपनाएका छन्।

अर्जेन्टिनी टोलीमा लामो समयदेखि आबद्ध हेयर स्टाइलिस्ट ड्यानी आलेले सामाजिक सञ्जालमार्फत मेसी र डी पाउलको नयाँ लुक्स सार्वजनिक गरेका थिए। तस्वीर सार्वजनिक हुनासाथ फुटबल समर्थकबीच ती व्यापक चर्चित बनेको थियो।
मेसीसँगै रहेका डी पाउलले पनि आफ्नो शैलीमा सामान्य परिवर्तन मात्र गरेका छन्। अर्जेन्टिनी मिडफिल्डरले छोटो कपालको क्लासिक शैलीलाई नै निरन्तरता दिएका छन्। केही वर्षअघि रंगिएको कपाल, चुल्ठो वा फरक–फरक प्रयोगात्मक शैलीमा देखिने डी पाउल अहिले भने सरल र परिपक्व लुक्समा देखिन्छन्।
दोस्रो विश्वकप खेलिरहेका डी पाउलले यही सादगीपूर्ण शैलीलाई कायम राखेका छन्। अस्ट्रियाविरुद्धको खेलअघि पनि उनले त्यही निरन्तरता दिएका छन्। ड्यानी आलेले सार्वजनिक गरेका तस्वीरमा मेसी र डी पाउल दुवै हँसिलो र तनावमुक्त मुद्रामा देखिएका छन्। मैदान बाहिरको यो सहज क्षण अर्जेन्टिना टोलीभित्रको आत्मविश्वास र सकारात्मक वातावरणको प्रतीकका रूपमा हेरिएको छ।
विश्वकपको समूह चरणमा अस्ट्रियाविरुद्ध जित हासिल गर्न सके अर्जेन्टिनाको अन्तिम ३२ मा पुग्ने यात्रा धेरै सहज बन्नेछ। त्यसैले महत्त्वपूर्ण खेलअघि मेसी र डी पाउल आफूलाई नयाँ रूपमा तयार पार्दै मैदान उत्रिने तयारीमा छन्।










-1787661904658.jpeg&w=3840&q=75)

