विपक्षीका लागि टाउको दुखाइ बन्दै एमबाप्पे
-1782128732596.webp&w=3840&q=75)
विश्व फुटबलका अधिकांश डिफेन्डर र प्रशिक्षकका लागि किलियन एमबाप्पे टाउको दुखाइजस्तै बनेका छन्। उनको तीव्र गति, गोल गर्ने क्षमता र ठूला खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सक्ने क्षमताले विपक्षी टोलीलाई सधैं दबाबमा राख्ने गर्छ।
उनलाई रोक्न विभिन्न रणनीति बनाइए पनि प्रभावकारी समाधान भेट्टाउन निकै कठिन हुने गरेको छ। विश्वकपको आफ्नो पहिलो खेलमै एकपछि अर्को कीर्तिमान बनाएका फ्रान्सका कप्तान एमबाप्पे अहिले फेरि चर्चाको केन्द्रमा छन्।
-1782128709627.webp)
उनले विश्वकप इतिहासमा गोल संख्याको हिसाबले ब्राजिलका महान् खेलाडी पेलेलाई पछि पारिसकेका छन्। साथै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा पनि तीव्र गतिमा अघि बढिरहेका छन्। फ्रान्सका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि अहिले उनकै नाममा छ।
समूह ‘आई’ अन्तर्गतको दोस्रो खेलमा फ्रान्सले सोमबार इराकको सामना गर्दैछ। खेलअघि सबैको ध्यान स्वाभाविक रूपमा एमबाप्पेमाथि केन्द्रित छ। फ्रान्सको आक्रमण पंक्तिलाई कसरी रोक्ने, विशेषगरी एमबाप्पेलाई कसरी नियन्त्रण गर्ने भन्ने प्रश्नमा इराकका प्रशिक्षक ग्राहम अर्नोल्डले पत्रकार सम्मेलनमा हास्यपूर्ण जवाफ दिए।
उनले हाँस्दै भने,‘मैले त एकैपटक तीन जना गोलकिपर खेलाउन मिल्छ कि भनेर सोधेको थिएँ। तर‚ त्यस्तो नियम रहेन्छ।’ अर्नोल्डको यो टिप्पणीले एमबाप्पेको प्रभाव र विपक्षी टोलीमाथि चुनौती कति छ भन्ने स्पष्ट देखाउँछ।
-1782128719342.webp)
इराकको अवस्था पनि धेरै सहज छैन। नर्वेविरुद्ध ४–१ को हारमा कप्तान तथा गोलकिपर जलाल हसनले चार गोल बेहोरेका थिए। त्यसैले फ्रान्सविरुद्धको महत्त्वपूर्ण खेलमा गोलपोस्टमुनि कसलाई उतार्ने भन्ने निर्णय अझै भइसकेको छैन।
यद्यपि‚ विपक्षी जति बलियो भए पनि आफ्ना खेलाडीको आत्मविश्वास उच्च राख्न अर्नोल्ड प्रयासरत छन्। ‘फ्रान्स कसरी खेल्छ भन्ने कुरा हाम्रो नियन्त्रणमा छैन। तर‚ हामी आफ्नो खेललाई नियन्त्रण गर्न सक्छौं। मेरा खेलाडी मैदानमा उत्रिएर विश्वलाई आफ्नो क्षमता देखाउन पूर्ण रूपमा तयार छन्,’ उनी भन्छन्।
-1782128727829.webp)
उता फ्रान्स टोलीमा एमबाप्पेको गोल र कीर्तिमान मात्र होइन, अर्को विशेष उपलब्धिको पनि चर्चा छ। इराकविरुद्ध मैदानमा उत्रिएसँगै उनले राष्ट्रिय टोलीका लागि आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछन्।
यो ऐतिहासिक उपलब्धिबारे एमबाप्पेले भने,‘राष्ट्रिय टोलीका लागि खेल्नु सधैं गर्व र खुसीको कुरा हो। देशको प्रतिनिधित्व गर्नुभन्दा ठूलो कुरा अरू केही हुँदैन। राष्ट्रिय टोलीका लागि १०० खेल खेल्नु विशेष क्षण हो र यदि त्यो विश्वकपजस्तो ठूलो प्रतियोगितामा सम्भव हुन्छ भने त्यसको महत्त्व झन् बढ्छ।’










-1787661904658.jpeg&w=3840&q=75)

