अमेरिकालाई इरानको सन्देश– गर्वका साथ आयौं, आत्मसम्मानका साथ फर्किंदैछौं
-1782126391020.webp&w=3840&q=75)
काठमाडौं। इरानी टोलीले लस एन्जलसस्थित सोफी स्टेडियमको ड्रेसिङ रुममा एउटा हस्तलिखित पत्र छोडेर गएको छ।
सामान्य अवस्थामा यस्तो कार्यलाई विशेष रूपमा नलिइए पनि खेल सकिएलगत्तै अमेरिका छोड्न बाध्य टोलीबाट आएको यो सन्देशले धेरैको ध्यान आकर्षित गरेको छ।
अमेरिकी अधिकारीले लगाएको नियमअनुसार इरानी टोलीले प्रत्येक खेलपछि तत्काल अमेरिका छोड्नुपर्छ। त्यसअघि उनीहरूले स्टेडियमको लकर रुममा एउटा भावनात्मक पत्र छाडेका थिए। त्यसको तस्वीर पछि इरान फुटबल महासंघले सार्वजनिक गरेको थियो।
-1782126400282.webp)
पत्रमा लेखिएको छ,‘हजारौं वर्ष पुरानो प्राचीन पर्सियादेखि आजको आधुनिक इरानसम्म, इरानको आत्मा सधैं जीवित र अटल छ।’
इरानी टोलीले लस एन्जलसका आयोजक फिफा, स्थानीय समुदाय तथा समर्थकहरूप्रति आभार व्यक्त गर्दै लेखेको छ,‘धन्यवाद लस एन्जलस‚ तपाईहरूको आतिथ्यताका लागि। हामी यहाँ गर्वका साथ आएका थियौं, सम्मानका साथ प्रतिस्पर्धा गर्यौं र अब आत्मसम्मानका साथ फर्किंदैछौं।’
पत्रमा समर्थकप्रति विशेष धन्यवाद दिँदै विश्वभर शान्ति, सम्मान र मित्रताको सन्देश पनि दिइएको छ। ‘हाम्रो साथमा आफ्नो मन, आवाज र आत्मा लगाएर १८० मिनेटसम्म समर्थन गर्ने प्रत्येक इरानीलाई धन्यवाद। सबै राष्ट्रबीच शान्ति, सम्मान र मित्रता कायम रहोस्,’ पत्रमा उल्लेख छ।

यसैबीच, पत्रमा रातो मसीले ‘७६८’ र ‘मिनाब’ पनि लेखिएको थियो। मिनाब विद्यालयमा अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा करिब १७० बालबालिकाको ज्यान गएको घटनाप्रति संकेत गरिएको बताइएको छ।
विश्वकपअघि नै इरान र अमेरिकाबीच राजनीतिक तनाव कायम थियो। इरानले अमेरिकामा खेल आयोजना गरिएको विषयमा असन्तुष्टि जनाए पनि अन्ततः प्रतियोगितामा सहभागी भएको छ।
यद्यपि‚ उसका तीनवटै समूह चरणका खेल अमेरिकाभित्र भए पनि टोलीले आफ्नो बेस क्याम्प मेक्सिकोको तिजुआनामा राखेको छ।

अझ रोचक कुरा इरानी टोली खेलको अघिल्लो दिन मात्र खेल हुने सहरमा पुग्छ र खेल समाप्त हुनासाथ फेरि अमेरिका छोड्नुपर्ने अवस्था छ। विश्वकपको समूह ‘जी’ अन्तर्गत दोस्रो खेलमा इरानले बेल्जियमसँग गोलरहित बराबरी खेलेको थियो।
उक्त खेलमा अनुभवी गोलकिपर अलिरेजा बेइरानभान्दले उत्कृष्ट प्रदर्शन गर्दै बेल्जियमका आक्रमण विफल पारे। उनको सशक्त प्रदर्शनका कारण बेल्जियमले जित निकाल्न सकेन र खेल बराबरीमा टुंगियो।
लगातार दोस्रो बराबरीपछि इरानले नकआउट चरण पुग्ने आशा जीवित राखेको छ। बेल्जियमविरुद्धको बराबरीपछि इरान केही समयका लागि समूहको शीर्ष स्थानमा पुगेको थियो। तर‚ पछि इजिप्टले न्यूजिल्यान्डलाई ३–१ ले पराजित गरेपछि इरान दोस्रो स्थानमा झरेको छ।
इरानले प्राप्त गरेको महत्त्वपूर्ण एक अंकमा गोलकिपर बेइरानभान्दको योगदान सबैभन्दा उल्लेखनीय छ।










-1787661904658.jpeg&w=3840&q=75)

