अर्जेन्टिनाको टोलीमा एक परिवर्तन हुने सम्भावना

काठमाडौं। अल्जेरियामाथि ३–० को प्रभावशाली जित निकाल्दै विश्वकप अभियान सुरु गरेको अर्जेन्टिनाले सोमबार आफ्नो दोस्रो खेलमा अस्ट्रियाको सामना गर्दैछ।
अमेरिकाको डलासमा हुने खेलमा जित हासिल गर्न सके लिओनल स्कालोनीको टोलीले दोस्रो चरण (नकआउट राउन्ड) मा स्थान लगभग सुनिश्चित गर्नेछ।
पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि अर्जेन्टिनाले सुरुआती टोलीमा एक परिवर्तन गर्ने तयारी गरेको छ। दायाँ खुट्टाको ह्यामस्ट्रिङमा चोट लागेका गोन्जालो मोन्टिएललाई आराम दिइने भएको छ। उनको स्थानमा नाहुएल मोलिनाले सुरुदेखि नै खेल्ने अपेक्षा गरिएको छ।

अन्य दुई स्थानमा केही चर्चा भए पनि अल्जेरियाविरुद्ध जित दिलाएको मुख्य टोलीमा धेरै परिवर्तन नहुने सम्भावना बढी छ। एडीको चोटबाट निको भएर अल्जेरियाविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका जुलियन आल्भारेजलाई लाउटारो मार्टिनेजको स्थानमा सुरुआती टोलीमा राख्न सकिने चर्चा छ। तर, पूर्ण फिटनेसको अभावका कारण प्रशिक्षक स्कालोनीले अहिले लाउटारोमै विश्वास गर्ने देखिन्छन्।

मिडफिल्ड तथा आक्रमणपंक्तिमा थियागो आल्माडा र निकोलास गोन्जालेसबीच प्रतिस्पर्धा छ। तर, आल्माडा नै अग्रस्थानमा छन्। त्यसैले पहिलो खेलझैँ आज पनि उनले सुरुदेखि अवसर पाउने सम्भावना बलियो छ।
लेफ्ट ब्याकमा फाकुन्डो मेडिनाले खेल्ने अपेक्षा गरिएको छ। चोटमुक्त भए पनि निकोलास टालियाफिकोमाथि जोखिम लिन अर्जेन्टिना इच्छुक देखिँदैन। उनी दोस्रो हाफमा मैदानमा देखिन सक्छन्। यस्तै, प्रशिक्षक स्कालोनीले लिएन्ड्रो परेडेसलाई पनि केही समय खेलाउने सम्भावना रहेको छ।
सम्भावित सुरुआती टोली
गोलकिपर: एमिलियानो मार्टिनेज
डिफेन्डर: नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, फाकुन्डो मेडिना
मिडफिल्डर: रोड्रिगो डी पाउल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर
आक्रमणपंक्ति: थियागो आल्माडा/निकोलास गोन्जालेस, लिओनल मेसी, लाउटारो मार्टिनेज










-1787661904658.jpeg&w=3840&q=75)

