विपक्षीले भयानक देख्ने अर्जेन्टिना

काठमाडौं। ह्याट्रिक नायक लिओनल मेसी सोमबार पुनः मैदानमा उत्रिनेछन्। साबिक विश्व च्याम्पियन अर्जेन्टिनाले अमेरिकाको डलासमा समूह ‘जे’ अन्तर्गत आफ्नो दोस्रो खेलमा अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ।
यो टोलीसँगको खेलअघि अस्ट्रियाका मुख्य प्रशिक्षक राल्फ राङ्निक चिन्तित छन्। उनी भन्दैछन्– अर्जेन्टिनालाई मेसीको टोलीका रूपमा हेर्नु ठूलो भूल हुनेछ। यसमा उनको आफ्नै तर्क छ। वर्तमान विश्व च्याम्पियन टोलीमा कुनै स्पष्ट कमजोरी देखिँदैन।

यो खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनलाई अर्जेन्टिनाको बलियो र कमजोर पक्षबारे प्रश्न सोधिएको थियो। जवाफमा राङ्निकले भने, ‘उनीहरूको कमजोरीबारे के भनूँ? हामीले त कुनै कमजोरी नै भेटाउन नै सकेका छैनौं।’
म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक राङ्निकले अर्जेन्टिनाका खेलाडीको स्तर, गति र बेन्चको खुलेर प्रशंसा गरे। ‘मैले पहिले पनि भनेको छु अर्जेन्टिनासँग हरेक पोजिसनमा असाधारण खेलाडी छन्। मेसी मात्र होइन‚ यो टिम पनि भयानक छ‚’ उनी भन्छन्।
३८ वर्षीय कप्तान मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै विश्वकप अभियान सानदार रूपमा सुरु गरेका थिए। विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका मेसी अब त्यो एकल रूपमा आफ्नो नाममा पार्न एक गोल टाढा छन्।

यद्यपि‚ राङ्निकका लागि मुख्य चुनौती मेसी होइनन्, सम्पूर्ण अर्जेन्टिना टोली नै हो। ६७ वर्षीय जर्मन प्रशिक्षकले भने,‘हामी रणनीतिक रूपमा पूर्ण रूपमा तयार हुनुपर्छ। साथै साहसी र मानसिक रूपमा बलियो प्रदर्शन आवश्यक छ। सम्भवतः मेरो नेतृत्वमा अस्ट्रियाले आफ्नो अहिलेसम्मकै उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्नेछ।’
यति धेरै प्रशंसा गरे पनि राङ्निकले आश्चर्यजनक नतिजाको सम्भावनालाई भने अस्वीकार गरेका छैनन्। उनले भने,‘हामी सबै पूर्वानुमानको विपरीत नतिजा निकाल्ने प्रयास गर्नेछौं। सायद बराबरी गर्न सक्छौं, सायद जित्न पनि सक्छौं। फुटबलमा सबै कुरा सम्भव छ। हामीसँग लड्ने मानसिकता छ, साहस छ र खेललाई आफ्नो पक्षमा मोड्ने क्षमता पनि छ।’
विश्वकपको सुरुआती खेलमा दुवै टोलीले जित हासिल गरेका छन्। अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको थियो भने अस्ट्रियाले जोर्डनलाई ३–१ गोलले हराएको थियो। त्यसैले सोमबार हुने यस खेलको विजेताले नकआउट चरणतर्फको यात्रा लगभग सुनिश्चित गर्नेछ।










-1787661904658.jpeg&w=3840&q=75)

