विश्वकपमा सबैभन्दा धेरै अपराजित रहने टोली बन्यो नेदरल्यान्ड्स
-1782042650919.webp&w=3840&q=75)
काठमाडौं। जापानसँग २–२ को रोमाञ्चक बराबरीबाट विश्वकप यात्रा सुरु गरेको नेदरल्यान्ड्सले दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै स्विडेनलाई ५–१ ले पराजित गर्यो।
यस जितसँगै डच टोलीले विश्वकपमा लगातार सबैभन्दा धेरै खेलमा अपराजित रहने नयाँ कीर्तिमान पनि बनाएको छ।
यसअघि फुटबल सम्राट पेलेको ब्राजिलले सन् १९५८ देखि १९६६ सम्म लगातार १३ विश्वकप खेलमा हार नबेहोरि कीर्तिमान बनाएको थियो। विश्वकप २०२६ सुरु हुनुअघि नेदरल्यान्ड्स त्यो कीर्तिमानभन्दा एक खेल पछाडि थियो।
जापानसँगको बराबरीपछि प्रशिक्षक रोनाल्ड कोमानको टोलीले ब्राजिलको १३ खेलको कीर्तिमान बराबरी गरेको थियो। स्विडेनमाथिको जितसँगै नेदरल्यान्ड्सले लगातार १४ विश्वकप खेल अपराजित रहने नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएको छ।
नेदरल्यान्ड्सले विश्वकपमा निर्धारित समयमा अन्तिम पटक सन् २०१० को फाइनलमा हार बेहोरेको थियो। त्यस खेलको ११६औं मिनेटमा आन्द्रेस इनिएस्टाले गोल गर्दै स्पेनलाई १–० को जित दिलाएका थिए। योसँगै डच टोलीको पहिलो विश्वकप उपाधि जित्ने सपना तोडिएको थियो।
त्यसयता नेदरल्यान्ड्सले विश्वकपमा निर्धारित समयमा कुनै खेल हारेको छैन। सन् २०१४ र २०२२ का संस्करणमा टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको थियो। सन् २०१८ को विश्वकपमा भने नेदरल्यान्ड्स छनोट नै हुन सकेन।










-1787661904658.jpeg&w=3840&q=75)

