सूर्यवंशीको कीर्तिमानी विस्फोट

काठमाडौं। भारतका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले फेरि एकपटक क्रिकेट जगतलाई चकित बनाएका छन्।
उनले डाम्बुलामा भइरहेको त्रिदेशीय सिरिजको फाइनलमा श्रीलंका ‘ए’ विरुद्ध मात्र ११ बलमा अर्धशतक पूरा गर्दै लिस्ट ‘ए’ क्रिकेट इतिहासकै सबैभन्दा छिटो अर्धशतकको नयाँ कीर्तिमान कायम गरेका छन्।
खेलको सुरुदेखि नै आक्रामक शैली अपनाएका सूर्यवंशीले श्रीलंकाली बलरलाई दबाबमा राख्दै चौका र छक्काको वर्षा गरे। उनले पहिलो ११ बलमध्ये १० बलमा बाउन्ड्री प्रहार गरे। त्यसमा ५ वटा छक्का समावेश थिए। उनले एक बल मात्रै डट खेलेका थिए।

कीर्तिमानी अर्धशतकपछि उनी शतकतर्फ तीव्र गतिमा अघि बढिरहेका थिए। तर, साहन अराच्चिगेको बलमा मिडअफमा क्याच आउट भएपछि उनको सानदार इनिङ्स २९ बलमा ९४ रनमै टुंगियो। उनले आफ्नो विस्फोटक इनिङ्समा १० चौका र ८ छक्का प्रहार गरे।
समूह चरणमा भने सूर्यवंशीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका थिएनन्। पाँच पटक ब्याटिङ गर्ने अवसर पाउँदा उनले उल्लेखनीय योगदान दिन सकेका थिएनन् र सुपर ओभरसहित कुल तीन छक्का मात्र प्रहार गरेका थिए। तर‚ फाइनलमा उनले आठ छक्का प्रहार गर्दै आफ्नो क्षमता प्रदर्शन गरे।
यसअघि श्रीलंकाविरुद्धकै एक खेलपछि सूर्यवंशी विवादमा पनि तानिएका थिए। सुपर ओभरमा भारत पराजित भएपछि श्रीलंकाका विशेन हालाम्बागेलाई धक्का दिएको घटनाले उनको आलोचना भएको थियो। तर‚ यसपटक उनले आफ्नो ब्याटबाटै जवाफ दिँदै श्रीलंकाली बलिङ आक्रमणमाथि प्रभुत्व जमाए।






-1786005627596.jpeg&w=3840&q=75)








