‘म्याड म्यान’ मेसी

फिफा विश्वकप २०२६ मा अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियामाथि ३–० को प्रभावशाली जित दर्ता गर्दा कप्तान लिओनल मेसीले सानदार ह्याट्रिक गर्दै सबैको ध्यान खिचेका छन्।
३८ वर्षीय मेसीको प्रदर्शनपछि नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले सामाजिक सञ्जालमार्फत खुलेर प्रशंसा गरेका छन्।
बुधबार बिहान अर्जेन्टिनाको जितपछि हालान्डले स्न्यापच्याटमा विमानभित्र बसेको आफ्नो सेल्फी पोस्ट गर्दै क्याप्सनमा लेखे, ‘मेसी इज् म्याड म्यान’ (मेसी त पागल नै हुन्)।
-1781689587649.webp)
हालान्ड आफैंले पनि केही घण्टाअघि नर्वेको ४–१ को सानदार जितमा दुई गोल गरेका थिए। उक्त खेलपछि उनी टोलीसँग बोस्टनबाट नर्थ क्यारोलिनास्थित प्रशिक्षण क्याम्पतर्फ फर्किरहेका बेला यो पोस्ट गरेको अनुमान गरिएको छ।
हालान्ड सामाजिक सञ्जाल, विशेषगरी स्न्यापच्याटमा रमाइला पोस्टहरूका लागि परिचित छन्। उनका २४ लाखभन्दा बढी सब्सक्राइबर छन् र उनी विभिन्न फुटबल खेलबारे आफ्ना प्रतिक्रिया नियमित रूपमा सेअर गर्ने गर्छन्।
अर्कोतर्फ आफ्नो २००औं अन्तर्राष्ट्रिय खेल खेलिरहेका मेसीले अर्जेन्टिनाको विश्वकप अभियान उत्कृष्ट ढंगले सुरु गरे। उनले तीन सुन्दर गोल गर्दै टोलीलाई सहज जित दिलाए।
-1781689597789.webp)
यससँगै उनी लगातार पाँच विश्वकपमा गोल गर्ने खेलाडी बनेका छन्। यसको सुरुआत कतार विश्वकप २०२२ बाट भएको थियो।
यो मेसीको विश्वकप इतिहासकै पहिलो ह्याट्रिक पनि हो। ३८ वर्ष ३५७ दिनको उमेरमा उनले विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा बढी उमेरका खेलाडीको कीर्तिमान कायम गरे। यसअघि यो कीर्तिमान क्रिस्टियानो रोनाल्डोको नाममा थियो।
मेसीले विश्वकपमा कुल २४ गोल योगदान (गोल तथा असिस्ट) पुर्याउँदै पेलेको (२१) कीर्तिमानलाई पनि तोडेका छन्। साथै, विश्वकपमा उनको कुल गोल संख्या १६ पुगेको छ। योसँगै उनलाई जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान भंग गर्ने अवसर पनि जुरेको छ।
-1781689605060.webp)
विश्वकपअघि ह्यामस्ट्रिङ चोटका कारण केही समय विश्राम लिनुपरेको मेसीले तयारीमध्ये पहिलो खेल गुमाएका थिए। तर, दोस्रो मैत्रीपूर्ण खेलमा पुनरागमन गर्दै गोल गरेका उनले अल्जेरियाविरुद्ध सुरुदेखि मैदान उत्रिएर आफ्नो फिटनेसबारे उठेका सबै प्रश्नको जवाफ दिए।
पहिलो खेलपछि नै मेसी तीन गोलसहित गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन्। उनका पछाडि दुई–दुई गोल गरेका छ खेलाडी छन्। त्यसमा हालान्ड, किलियन एमबाप्पे, काई हाभर्ट्ज, फोलारिन बालोगुन, यासिन आयारी र इलिजा जस्ट हुन्।
-1781689615038.webp)
खेलपछि इन्स्टाग्राममा प्रतिक्रिया दिँदै मेसीले लेखेका छन्,‘सुरुआत राम्रो भएकोमा खुसी छु। सबैको मायाप्रति आभारी छु र यो टोलीले विगतका वर्षहरूझैँ उत्कृष्ट प्रतिस्पर्धा गरेको देखेर गर्व लागेको छ।’
अब अर्जेन्टिनाले सोमबार अस्ट्रियासँग खेल्नेछ भने नर्वेले मंगलबार सेनेगलको सामना गर्नेछ।










-1787661904658.jpeg&w=3840&q=75)

