अद्भुत मेसी
-1781667086853.webp&w=3840&q=75)
काठमाडौं। अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गर्दै जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान बराबरी गरेका छन्। योसँगै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हरायो।
क्यान्सस सिटीस्थित एरोहेड स्टेडियममा उपस्थित हजारौं अर्जेन्टिनी समर्थकका लागि यो क्षण अविस्मरणीय बन्यो। मेसीले खेलको सुरुआती मिनेटमै इन्टर मियामीका सहकर्मी रोड्रिगो डे पाउलको उत्कृष्ट पासमा पहिलो गोल गरे।
दोस्रो गोल उनले दोस्रो हाफको सुरुमै थपे भने तेस्रो गोल खेलको अन्त्यतिर गर्दै ह्याट्रिक पूरा गरे। जारी विश्वकपमा पनि यो पहिलो ह्याट्रिक हो। त्यसलगत्तै उनी मैदानबाट बाहिरिँदा दर्शकहरूले उभिएर सम्मान व्यक्त गरे।
विशेष संयोग के थियो भने, मेसीले अर्जेन्टिनाबाट विश्वकप डेब्यु गरेको ठीक २० वर्षपछि यो उपलब्धि हासिल गरेका हुन्। उनले सन् २००६ मा सर्बिया र मोन्टेनेग्रोविरुद्धको खेलबाट विश्वकप यात्रा सुरु गरेका थिए र त्यस खेलमा पनि गोल गरेका थिए। उनी विश्वकपका पाँच फरक संस्करणमा गोल गर्ने दोस्रो खेलाडी बनेका छन्।
६ वटा विश्वकप सहभागितामा मेसीको कुल गोल संख्या १६ पुगेको छ। योसँगै उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्तामध्ये एक बनेका छन्। अद्भुत प्रदर्शन गरिरहेका उनले आगामी खेलमा क्लोजेको कीर्तिमान तोड्ने सम्भावना बलियो देखिएको छ। यो मेसीको करिअरको ६१औं ह्याट्रिक तथा राष्ट्रिय टोलीका लागि ११औं ह्याट्रिक हो।
यससँगै उनले लगातार पाँच विश्वकप खेलमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरेका छन्। मेसीको प्रदर्शनले अन्य दुई विश्व फुटबल स्टार किलियन एमबाप्पे र एर्लिङ हालान्डका उत्कृष्ट प्रदर्शनलाई समेत ओझेलमा पार्यो।
फ्रान्सका एमबाप्पेले सेनेगलमाथि ३–१ को जितमा दुई गोल गर्दै आफ्नो विश्वकप गोल संख्या १४ पुर्याए भने नर्वेका हालान्डले इराकविरुद्ध ४–१ को जितमा दुई गोल गरे।
आगामी साता ३९ वर्ष पुग्न लागेका मेसी विश्वकपअघि इन्टर मियामीमा खेल्दा सामान्य ह्यामस्ट्रिङ समस्याबाट गुज्रिएका थिए। तर, विश्वकपको तयारीका क्रममा आइसल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलमा पेनाल्टीमार्फत गोल गर्दै उनले आफ्नो फिटनेस प्रमाणित गरेका थिए।
अल्जेरियाविरुद्धको खेल मेसीको अन्तर्राष्ट्रिय करिअरको २००औ| खेल पनि थियो। सन् २००५ मा १८ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मेसीभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो (२२९ खेल) र कुवेतका बादेर अल-मुतावा (२०२ खेल) मात्र छन्।










-1787661904658.jpeg&w=3840&q=75)

