एक्ला योद्धा भोजिन्हा
-1781589984218.webp&w=3840&q=75)
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’को आफ्नो पहिलो खेलमा केप भर्डेले युरोपियन च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ठूलो सनसनी मच्चाएको छ। यस ऐतिहासिक नतिजाका मुख्य नायक बने ४० वर्षीय गोलकिपर भोजिन्हा।
अटलान्टा स्टेडियममा सोमबार राति भएको खेलमा स्पेनले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राख्दै लगातार आक्रमण गरेको थियो। तर, केप भर्डेको रक्षापंक्ति पार गर्न सफल भएका क्षणहरूमा भोजिन्हा स्पेनका लागि बाधक बने।
-1781590003383.webp)
उनले फेरान टोरेस, पेड्री र आयमेरिक लापोर्टेजस्ता स्टार खेलाडीका प्रहारलाई सानदार बचाउ गर्दै स्पेनलाई गोल गर्न दिएनन्। उत्कृष्ट प्रदर्शनकै कारण उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भए।
खेल सकिएपछि टोलीका खेलाडीहरूले उनलाई घेरेर बधाई दिए। विश्वकपमा आफ्नो पहिलो खेलमै अविस्मरणीय प्रदर्शन गरेका भोजिन्हा भावुक बन्दै आँसु झारेका थिए।
को हुन् भोजिन्हा?
भोजिन्हाको वास्तविक नाम जोसिमार जोजे एभोरा डियास हो। उनी हाल पोर्चुगलको दोस्रो श्रेणीको क्लब चाभेसबाट खेल्छन्।
-1781590015972.webp)
उनले आफ्नो व्यावसायिक करिअर केप भर्डेकै बाटुक एफसीबाट सुरु गरेका थिए। त्यसपछि सीएस मिन्देलेन्से, अंगोलाको प्रोग्रेसो, मोल्डोभाको जिम्ब्रु चिसिनाउ, पोर्चुगलको गिल भिसेन्टे, साइप्रसको एईएल लिमासोल तथा स्लोभाकियाको एएस ट्रेनचिनजस्ता क्लबमा खेल्दै अनुभव बटुलेका छन्।
भोजिन्हा उनको वास्तविक नाम होइन। बाल्यकालमा हजुरबुबा–हजुरआमासँग धेरै समय बिताएकाले उनलाई परिवारले ‘भोजिन्हा’ भनेर बोलाउने गर्दथ्यो। पोर्चुगाली भाषामा यसको अर्थ ‘सानो आवाज’ हुन्छ।
-1781590034894.webp)
उनले क्लब करिअरभर यही नाम जर्सीमा प्रयोग गरेका छन्। यस वर्षको सुरुआतमा फिफासँगको अन्तर्वार्तामा उनले भनेका थिए,‘अंगोला पुगेपछि त्यहाँ अर्को गोलकिपरको नाम पनि जोसिमार थियो। त्यसैले मैले जर्सीमा जोसिमार लेख्नुको सट्टा सबैले चिनेको नाम भोजिन्हा नै राखें।’
भावुक बने भोजिन्हा
खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै भोजिन्हाले आफ्नो सफलताको क्षणमा हजुरबुबा–हजुरआमा र आमालाई सम्झिएका थिए।
‘म आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व महसुस गरिरहेको छु। यो मेरो लागि ठूलो सम्मान हो,’ उनले भने,‘म रोएको कारण मेरो बाल्यकाल हजुरबुबा–हजुरआमासँग बित्यो। दुर्भाग्यवश, उहाँहरू अहिले हुनुहुन्न। उहाँहरूले मेरो जीवनका लागि धेरै त्याग गर्नुभएको थियो।’
-1781590045569.webp)
उनले आमाको अनुपस्थितिले पनि आफू भावुक बनेको बताए। ‘मेरी आमा भिसाको कारण यहाँ आउन सक्नुभएन। समयमै प्रक्रिया पूरा गर्न नसक्दा उहाँ खेल हेर्न उपस्थित हुन पाउनुभएन,’ उनले भने।
स्पेनविरुद्धको अविश्वसनीय प्रदर्शनपछि भोजिन्हा विश्वभर चर्चामा आएका छन्। खेल सकिएको केही घण्टामै उनको इन्स्टाग्राम फलोअर संख्या करिब पाँच लाखबाट बढेर झण्डै ५० लाख पुगेको बताइएको छ।
फ्रान्सका चर्चित फुटबलर पाउल पोग्बाले पनि सामाजिक सञ्जालमार्फत भोजिन्हाको प्रशंसा गरेका छन्।
उनले लेखेका छन्,‘केप भर्डेका गोलकिपर साँच्चै अद्भुत छन्, वाह!’









-1786022688387.jpeg&w=3840&q=75)
-1786005627596.jpeg&w=3840&q=75)


