फुटबलको मैदान दुईपल्ट युद्ध जितेको इरान
-1781581182471.webp&w=3840&q=75)
काठमाडौं। राजनीतिक तनावबीच सुरु भएको विश्वकप अभियानमा इरानले मंगलबार सम्पन्न न्युजिल्यान्डसँग २–२ को बराबरी खेलेको छ। दुईपटक पछि परेको इरानले पुनरागमन गर्दै महत्त्वपूर्ण एक अंक हात पारेको हो।
इरानका रामिन रेजाइयानले एक गोल गरे र अर्को गोलका लागि अवसर सिर्जना गरे। मोहम्मद मोहब्बीले ६४औं मिनेटमा बराबरी गोल गर्दै इरानलाई हारबाट जोगाए।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गरेपछि इरानको विश्वकप तयारी र सहभागिता विवाद र अनिश्चितताले भरिएको थियो।
-1781581194344.webp)
इरानले आफ्ना समूह चरणका खेलहरू अमेरिकाबाहिर सार्न फिफासँग अनुरोध गरेको थियो। तर, त्यो अस्वीकृत भएपछि टोलीले प्रतियोगितामा सहभागी हुने निर्णय गरेको थियो।
इरानले प्रतियोगिताका क्रममा आफ्नो प्रशिक्षण क्याम्प अमेरिकाको एरिजोनाबाट मेक्सिकोको तिजुआनामा सारेको छ। टोली खेलअघिको दिन मात्र अमेरिका प्रवेश गर्ने र खेलपछि तुरुन्तै मेक्सिको फर्किने व्यवस्था गरिएको छ।
टोलीका कप्तान मेहदी तारेमीले यो विश्वकप आफूहरूका लागि निकै कठिन अनुभव भएको बताएका छन्। उनका अनुसार फुटबलले दिने खुसी र उत्साह यसपटकको प्रतियोगितामा कम महसुस भएको छ।
-1781581210642.webp)
लस एन्जलस नजिकको सोफाइ स्टेडियममा भएको खेलमा इरानी मूलका हजारौं समर्थक उपस्थित थिए। इरानबाहिर सबैभन्दा धेरै इरानी बसोबास गर्ने क्षेत्र भएकाले स्टेडियममा इरान समर्थकहरूको ठूलो उपस्थिति देखिएको थियो।
खेलअघि केही सय इरानी–अमेरिकीहरूले इरान सरकारविरुद्ध प्रदर्शन गरे। राष्ट्रिय गान बज्दा केही दर्शकहरूले मैदानतर्फ ढाड फर्काएका थिए। तर‚ खेल सुरु भएपछि अधिकांशले इरानी खेलाडीहरूलाई समर्थन गरेका थिए।
न्युजिल्यान्डका इलाइजा जस्टले खेलको सातौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। कप्तान क्रिस वुडले इरानी गोलकिपरको गोलकिक रोकेपछि सिर्जना भएको अवसरलाई जस्टले सुन्दर भलीमार्फत गोलमा परिणत गरेका थिए।
-1781581237351.webp)
इरानले ३२औं मिनेटमा रेजाइयानको उत्कृष्ट गोलमार्फत खेल बराबरीमा ल्यायो। दोस्रो हाफको ५४औं मिनेटमा जस्टले पुनः गोल गर्दै न्युजिल्यान्डलाई २–१ को अग्रता दिलाए। यस गोलमा पनि क्रिस वुडको महत्त्वपूर्ण भूमिका थियो।
तर, इरानले फेरि हार मानेन। ६४औं मिनेटमा रेजाइयानले दिएको लामो सटिक पासलाई मोहब्बीले हेडमार्फत गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले केही राम्रा अवसर पाए पनि थप गोल हुन सकेन।
अन्तिम सिटी बजेसँगै दुवै टोलीका खेलाडीहरूले एकअर्कालाई अँगालो हाल्दै हात मिलाए। केही खेलाडीहरूले जर्सी पनि साटासाट गरे। इरानका प्रशिक्षक अमिर घालेनोई एक्लै ‘डगआउट’मा बसेका थिए भने इरानी खेलाडीहरू मैदान परिक्रमा गर्दै झण्डा फहराइरहेका आफ्ना हजारौं समर्थकलाई धन्यवाद दिइरहेका थिए।
-1781581250007.webp)
यो इरानको सातौं विश्वकप सहभागिता हो, जसमा लगातार चौथोपटक विश्वकप खेलेको हो। फिफा वरीयतामा २०औं स्थानमा रहेको इरानले अहिलेसम्म विश्वकपको समूह चरण पार गर्न सकेको छैन।
यता, फिफा वरीयतामा ८५औं स्थानमा रहेको न्युजिल्यान्ड २०१० पछि पहिलोपटक विश्वकपमा सहभागी भएको हो। ४८ टोलीको विस्तारित विश्वकपका कारण ओसियाना फुटबल महासंघलाई स्वतः छनोटको अवसर प्राप्त भएपछि न्युजिल्यान्डले विश्वकपमा स्थान सुरक्षित गरेको थियो।
विश्व वरीयतामा आफूभन्दा ६५ स्थान माथि रहेको इरानविरुद्ध बराबरी खेल्दै न्युजिल्यान्डले पनि प्रभावशाली प्रदर्शन गरेको छ।










-1787661904658.jpeg&w=3840&q=75)

