दबाबमा ‘गोल्डेन जेनेरेसन’

काठमाडौं। सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको पीडादायी अनुभव दोहोरिन नदिन चाहेको बेल्जियमले यसपटकको विश्वकपमा भने उत्साहजनक सुरुआत गर्न सकेन।
सोमबार इजिप्टविरुद्धको खेलमा अनुभवी स्ट्राइकर रोमेलु लुकाकु ६६औं मिनेटमा मैदान प्रवेश गरेका थिए। उनले आएलगत्तै सिर्जना गरेको अवसरबाट इजिप्टका खेलाडीको आत्मघाती गोल हुँदा बेल्जियमले बराबरी गर्न सफल भयो।
तर, त्यसपछि थप गोल गर्न नसक्दा खेल १–१ को बराबरीमा टुंगियो। बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले खेलपछि भने,‘विश्वकपमा कुनै पनि खेल सजिलो हुँदैन।’

यद्यपि‚ विश्वकप इतिहासमा एकपटक पनि खेल जित्न नसकेको इजिप्टविरुद्ध बेल्जियम सहज जितको अपेक्षामा थियो। तर‚ पहिलो हाफमा इजिप्टका युवा खेलाडीहरूको गतिले बेल्जियमलाई दबाबमा राख्यो र ‘फाराओस’ उपनामले चिनिने टोलीले आक्रामक खेल प्रदर्शन गर्यो।
बेल्जियमका कप्तान युरी टिलेमान्सले स्वीकार गर्दै भने,‘हामीले खेलको सुरुआत निकै खराब गर्यौं।’
‘गोल्डेन जेनेरेसन’को अन्तिम अवसर?
अब प्रश्न उठ्न—के बेल्जियमले आफ्ना अनुभवी खेलाडीहरूको सहायतामा अन्तिमपटक विश्वकपमा ठूलो सफलता हासिल गर्न सक्ला?

बेल्जियमको चर्चित ‘गोल्डेन जेनेरेसन’का बाँकी रहेका मुख्य खेलाडीहरूमा ३३ वर्षीय रोमेलु लुकाकु, ३४ वर्षीय मिडफिल्डर केभिन डी ब्रुयन तथा ३४ वर्षीय गोलरक्षक थिबाउट कोर्टुआ हुन्।
बेल्जियम धेरै वर्षसम्म फिफा वरीयताको शीर्ष स्थानमा रह्यो। सन् २०१८ मा रुसमा सम्पन्न विश्वकपमा तेस्रो स्थान हासिल गर्नु उसको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो।
तर, चार वर्षपछि कतार विश्वकपमा उपाधिको दाबेदार मानिएको टोली नकआउट चरणमा पुग्नसमेत असफल भएको थियो। सन् १९९२ मा फिफा वरीयता प्रणाली सुरु भएयता विश्वकप उपाधि नजितीकन वरीयताको शीर्ष स्थानमा पुग्ने टोलीमा बेल्जियम र नेदरल्यान्ड्स मात्र हुन्।

यस वर्षको विश्वकपमा बेल्जियम फिफा वरीयताको १०औं स्थानमा रहँदै समूह ‘जी’ को सबैभन्दा बलियो टोलीको रूपमा प्रवेश गरेको छ। सो समूहमा इरान (२५औं), इजिप्ट (२९औं) र न्युजिल्यान्ड (७९औं) पनि छन्।
बेल्जियमका सर्वाधिक गोलकर्ता लुकाकु ‘ह्यामस्ट्रिङ’ चोटबाट निको हुने क्रममा छन्। उनी मैदान प्रवेश गरेको एक मिनेटभित्रै बेल्जियमले बराबरी गोल फर्काउन सफल भएको थियो।
टिलेमान्सले लुकाकुबारे भने,‘उनी मुख्य खेलाडी हुन्। लामो समय चोटका कारण बाहिर रहेकाले पूर्ण फिटनेसमा पुग्न समय लाग्नु स्वाभाविक हो। तर, उनले हामीलाई यसरी ठूलो सहयोग पुर्याउँछन्।’
खेलको ८५औं मिनेटमा केभिन डी ब्रुयनको स्थानमा हान्स भानाकेन मैदानमा आएका थिए। विस्तारित विश्वकपमा ४८ टोलीमध्ये ३२ टोली नकआउट चरणमा पुग्ने भएकाले अघिल्ला संस्करणभन्दा अघि बढ्न सजिलो छ।
तर, पहिलो खेलमै अंक गुमाएपछि बेल्जियमको गल्ती गर्ने ठाउँ कम भएको छ। अब बेल्जियमले आइतबार क्यालिफोर्नियाको इङ्गलउडमा इरानसँग खेल्नेछ।
प्रशिक्षक गार्सियाले स्पष्ट शब्दमा भने,‘हामीले इरानविरुद्ध जित्नैपर्छ। यसको अर्को विकल्प छैन।’










-1787661904658.jpeg&w=3840&q=75)

