साउदीसामु निरिह उरुग्बे

काठमाडौं। दक्षिण फ्लोरिडामा अधिकांश उरुग्वे समर्थकहरूले भरिएको रंगशालामा म्याक्सी अराउजोले खेलको अन्त्यतिर बराबरी गोल गरे। सोमबार भएको विश्वकपको उद्घाटन खेलमा उरुग्वेले साउदी अरेबियासँग १–१ को बराबरी खेल्दै एक अंक खोस्यो।
तर, उरुग्वेका खेलाडीहरू नतिजाबाट सन्तुष्ट देखिएनन्। मिडफिल्डर फेडेरिको भाल्भेर्देले खेलपछि भने,‘हामीले पहिलो हाफ आफैंले गुमायौं। हामीले अभ्यास गरेअनुसार खेल्न सकेनौं। सुरुदेखि नै जित्ने हतार गर्यौं, तर कहिलेकाहीँ धैर्य राखेर आफ्नो खेल खेल्नुपर्छ। दोस्रो हाफमा भने हामी धेरै सुधारियौं।’
साउदी अरेबियाका अब्दुलेलाह अल–अम्रीले ४१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उरुग्वेका अराउजोले ८०औं मिनेटमा रिबाउन्ड बललाई नजिकैबाट जाली चुमाउँदै खेल बराबरीमा ल्याए।

उरुग्वेले खेलभर बलमाथि नियन्त्रण कायम राख्दै २९ पटक गोलको प्रयास गर्यो भने साउदी अरेबियाले केवल ७ प्रयास गर्यो। तर, उरुग्वे लामो समयसम्म पछाडि नै रह्यो।
अराउजोको यो अन्तर्राष्ट्रिय करिअरको चौथो गोल थियो। हार्ड रक स्टेडियममा उनले गरेको यो दोस्रो अन्तर्राष्ट्रिय गोल पनि हो।
साउदी अरेबियाको प्रभावशाली प्रदर्शन
पहिलो हाफमा अल–अम्रीको एउटा प्रयास उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराले रोकेका थिए। तर, त्यसपछि आएको हेडर मुस्लेराले बचाए पनि रिबाउन्डमा अल–अम्रीले सहज गोल गरे।
गोल गरेपछि अल–अम्री घुँडा टेकेर मैदानमा झुकेका थिए, जबकि अल्पसंख्यक भए पनि साउदी समर्थकहरूले ठूलो उत्साहका साथ उनको स्वागत गरे।
सन् २०२२ को विश्वकपमा अर्जेन्टिनालाई २–१ ले हराएर विश्व फुटबललाई चकित पारेको साउदी टोलीले यसपटक पनि बलियो उरुग्वेविरुद्ध महत्त्वपूर्ण अंक हासिल गर्यो।

साउदी गोलरक्षक मोहम्मद अल–ओवैसले उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वेलाई लामो समयसम्म गोल गर्न दिएनन्। उनले फेडेरिको भिनासको नजिकबाट आएको हेडर, म्यानुएल उगार्तेको प्रहार तथा खेलको अन्तिम समयमा भाल्भेर्देको प्रयास पनि बचाएका थिए।
साउदीका प्रशिक्षक जर्जियोस डोनिसले भने,‘उरुग्वे निकै ऊर्जावान र अनुभवी टोली हो। यस्ता प्रतिद्वन्द्वीविरुद्ध एक अंक प्राप्त गर्नु सकारात्मक परिणाम हो।’
दुई महिनाअघि प्रशिक्षक बनेका डोनिसले आफू अझै टोलीलाई बुझ्ने प्रक्रियामा रहेको बताए। उनले थपे,‘हामी प्रतिस्पर्धी टोली निर्माण गर्न समय लिइरहेका छौं। आजको नतिजाले हामीलाई आत्मविश्वास दिएको छ।’
उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्साले भने निराश देखिए। ‘जब बलियो मानिएको टोलीले आफ्नो स्तर देखाउन सक्दैन, तब कमजोर मानिएको टोलीले पनि अवसर पाउँछ र आत्मविश्वासका साथ खेल्न थाल्छ,’ उनले भने।
समूह ‘एच’मा अप्रत्याशित नतिजा
यो नतिजासँगै समूह ‘एच’मा रोचक अवस्था सिर्जना भएको छ। सोही दिन विश्वकपमा पहिलो पटक सहभागी बनेको केप भर्डेले बलियो टोली स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो।
डोनिसले भने,‘स्पेन र केप भर्डेको बराबरी सम्भवतः यस विश्वकपकै सबैभन्दा ठूलो आश्चर्य हो। केप भर्डे अत्यन्त प्रतिस्पर्धी देखियो। यद्यपि समूहका प्रमुख दाबेदार अझै पनि स्पेन र उरुग्वे नै हुन्।’
-1781575778187.webp)
यो खेल विश्वकपको इतिहाससँग पनि जोडिएको थियो। उरुग्वेले सन् १९३० मा पहिलो विश्वकप आयोजना गरेको थियो र २०३० मा विश्वकपको शतवार्षिकी अवसरमा पुनः एक खेल आयोजना गर्नेछ। साउदी अरेबियाले भने सन् २०३४ को विश्वकप आयोजना गर्ने जिम्मेवारी पाएको छ।
खेल हेर्न आएका विशिष्ट व्यक्तिहरूमध्ये फिफा अध्यक्ष जियानी इन्फान्टिनो, मियामी हिटका बास्केटबल खेलाडी ब्याम अदेबायो, पूर्व एनएफएल स्टार चाड ओचोसिन्को तथा उरुग्वेका पूर्व चर्चित स्ट्राइकर लुइस सुआरेज पनि उपस्थित थिए। सुआरेज यस विश्वकपका लागि उरुग्वे टोलीमा छनोट भएका छैनन्।










-1787661904658.jpeg&w=3840&q=75)

