लडाकु जापान
-1781483688086.webp&w=3840&q=75)
काठमाडौं। डाइची कमादाले खेलको अन्तिम समयमा गरेको महत्त्वपूर्ण गोलको मद्दतमा जापानले विश्वकपको समूह चरणमा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको छ।
आइतबार एटी एन्ड टी स्टेडियममा भएको खेलमा जापान हारको नजिक पुगेको अवस्थामा थियो। तर, ८८औं मिनेटमा कोकी ओगावाको कर्नरमा कमादाले उत्कृष्ट हेडर गोल गर्दै जापानलाई महत्त्वपूर्ण एक अंक दिलाए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा खेल निकै रोमाञ्चक बन्यो। ५०औं मिनेटमा कप्तान भर्जिल भान डाइकले हेडरमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए।
-1781483637914.webp)
तर, सात मिनेटपछि जापानका केइटो नाकामुराले ताकेफुसा कुबोको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। ६४औं मिनेटमा क्राइसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः अग्रता दिलाए। त्यसपछि जापान हारतर्फ उन्मुख देखिएको थियो। तर, अन्तिम समयमा कमादाले हेडर गोल गर्दै टोलीलाई हारबाट जोगाए।
विश्व वरीयतामा आठौं स्थानमा रहेको नेदरल्यान्ड्सले विश्वकप समूह चरणमा आफ्नो अपराजित यात्रालाई १७ खेलसम्म पुर्याएको छ। तर, अन्तिम मिनेटमा गोल खाँदा जित हात पार्न सकेन।
जापानका प्रशिक्षक हाजिमे मोरियासुले आफ्ना खेलाडीहरूको धैर्यता र संघर्षशीलताको प्रशंसा गरे। उनले खेलाडीहरूले अन्तिम समयसम्म अवसरको खोजी जारी राखेकाले सकारात्मक नतिजा निकाल्न सफल भएको बताए।
-1781483664157.webp)
३४ वर्षीय भान डाइक विश्वकपमा नेदरल्यान्ड्सका दोस्रो सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडी बने। यसअघि सन् २०१० मा उरुग्वेविरुद्ध ३५ वर्षको उमेरमा गोल गरेका जियोभानी भान ब्रोंकहोर्स्ट शीर्ष स्थानमा छन्।
समूह ‘एफ’ अन्तर्गतको यस बराबरीपछि नेदरल्यान्ड्समाथि नकआउट चरणमा पुग्ने दबाब भने कायम रहेको छ। विश्वकपको फाइनलमा तीन पटक पुगे पनि नेदरल्यान्ड्सले उपाधि जित्न सकेको थिएन। यस पटक पनि दाबेदार टोलीका रूपमा हेरिएको छ।
अब नेदरल्यान्ड्सले शनिबार ह्युस्टनमा स्विडेनसँग खेल्नेछ भने जापानले मेक्सिकोको मोन्टेरेमा ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ।










-1787661904658.jpeg&w=3840&q=75)

