रियल जाँदै कुकुरेल्ला

काठमाडौं। स्पेनिस डिफेन्डर मार्क कुकुरेल्लालाई अनुबन्ध गर्न रियल मड्रिड र चेल्सीबीच ६० मिलियन युरोको सम्झौता भएको बताइएको छ।
सम्झौताअनुसार रियलले ५५ मिलियन युरो निश्चित रकम तिर्नेछ। थप ५ मिलियन युरो विभिन्न बोनसका रूपमा समावेश गरिएको छ। सम्झौतासम्बन्धी अन्तिम कागजी प्रक्रिया भने अझै बाँकी रहेको र आगामी साताको सुरुमै औपचारिक रूपमा टुंगो लाग्ने अपेक्षा गरिएको छ।
यसअघि पनि कुकुरेल्लाप्रति युरोपका विभिन्न क्लबहरूले चासो देखाएका थिए। उनका प्रतिनिधिसँग धेरै क्लबहरूले सम्पर्क गरेको थिए। २७ वर्षीय लेफ्ट–ब्याक स्वयं पनि चेल्सी छोड्न इच्छुक थिए।
एट्लेटिको मड्रिड र बार्सिलोनाले समेत उनको पक्षसँग कुराकानी गरेका थिए। तर, खेलाडी बिक्री नगरी नै सम्झौता अगाडि बढाउन सक्ने भएकाले एट्लेटिकोलाई बलियो दाबेदार मानिएको थियो। यद्यपि, अन्ततः रियलले दौडमा अग्रता लिएको छ।
कुकुरेल्लाले गत समरमा मात्र चेल्सीसँग नयाँ सम्झौता गरेका थिए। उक्त सम्झौताको अवधि अझै तीन वर्ष बाँकी छ। तर, उनले नयाँ चुनौती खोज्न क्लब छोड्ने सम्भावनालाई खुला राखेका थिए।
सन् २०२५–२६ सिजनमा उनले चेल्सीका लागि ५० खेल खेलेका थिए। त्यस क्रममा तत्कालीन प्रशिक्षक एन्जो मारेस्काको प्रस्थानप्रति उनले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए। त्यतिखेर टोली मारेस्काको नेतृत्वमा बढी स्थिर रहेको बताएका थिए।
सन् २०२२ मा ब्राइटन एन्ड होभ एल्बियनबाट चेल्सी पुगेयता कुकुरेल्लाले १५० खेल खेलिसकेका छन्। उनले चेल्सीसँग यूईएफए कन्फरेन्स लिग र फिफा क्लब विश्वकपको उपाधि पनि जितेका थिए।
हाल उनी प्रशिक्षक लुइस डे ला फुएन्तेको नेतृत्वमा स्पेनको विश्वकप टोलीमा छन्। स्पेनले समूह चरणमा केप भर्डे, साउदी अरेबिया र उरुग्वेको सामना गर्नेछ।










-1787661904658.jpeg&w=3840&q=75)

