ब्राजिलमाथि दबाब
-1781408330227.webp&w=3840&q=75)
फिफा विश्वकपअन्तर्गत मोरक्कोविरुद्धको खेलमा ब्राजिलले पहिलो ३० मिनेट अत्यन्त कमजोर प्रदर्शन गर्यो। विश्वकप इतिहासकै सफल टोलीमध्ये एक मानिने ब्राजिल त्यस अवधिमा कुनै स्पष्ट योजना वा ‘स्किल’बिना मैदानमा देखियो।
यद्यपि, रियल मड्रिडका स्टार भिनिसियस जुनियरले आफ्नो परिचित व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोल गरेपछि ब्राजिल खेलमा फर्किन सफल भयो। केही ब्राजिली विश्लेषकहरूले यो प्रदर्शनलाई सन् २०१४ मा जर्मनीसँग ७–१ को ऐतिहासिक हारपछि टोलीको सबैभन्दा खराब सुरुआत भनेका छन्।
यद्यपि, त्यो हारजस्तो गम्भीर असर यस खेलको नतिजाले पार्ने सम्भावना कम छ। मोरक्कोले खेलको सुरुमै उत्कृष्ट प्रदर्शन गर्दै इस्माइल साइबाको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि भिनिसियसले बायाँ विंगबाट गरेको आकर्षक दौड र उत्कृष्ट फिनिसिङले ब्राजिललाई बराबरी दिलायो।

तर, प्रशिक्षक कार्लो एन्सेलोटीका लागि यो बराबरीले धेरै प्रश्नहरू उठाएको छ। आगामी शुक्रबार हुने हाइटीविरुद्धको खेलअघि ब्राजिलको टोली सन्तुलन र रणनीतिबारे चिन्ता बढेको छ।
प्रतियोगिता सुरु हुनुअघि नै ब्राजिलको मिडफिल्डमा सिर्जनशीलताको कमी र ‘स्पेशलिस्ट’ फुलब्याकको अभावबारे चर्चा भइरहेको थियो। एन्सेलोटीले २६ सदस्यीय टोलीमा पाँच मिडफिल्डर र एक मात्र ‘स्पेशलिस्ट’ राइट–ब्याक वेस्लीलाई समावेश गरेका थिए।
तर, चोटका कारण वेस्ली बाहिरिएपछि उनको स्थानमा अर्को राइट–ब्याक नभई थप एक मिडफिल्डर बोलाइयो, जसका कारण दुई सेन्टर–ब्याकलाई वैकल्पिक रूपमा राइट–ब्याकको भूमिकामा खेलाउनुपरेको थियो।
-1781408364769.webp)
मोरक्कोविरुद्धको खेलमा यो निर्णय कमजोर साबित भयो। राइट साइडमा खेलाइएका रोजर इबानेजले निकै खराब प्रदर्शन गरे। उनले नुस्सायर माजराउई र बिलाल एल खान्नुसको गतिसँग तालमेल मिलाउन सकेनन् र सामान्य पासहरू समेत गलत दिशामा पठाए।
ब्राजिलको दायाँ भाग मोरक्कोका लागि अवसर सिर्जना गर्ने क्षेत्र बन्यो। लुकास पाकेटाले पनि निराशाजनक प्रदर्शन गरे। पाकेटा र इबानेजबीचको समन्वय अभावकै कारण मोरक्कोले गोल गर्ने अवसर पाएको थियो।
कासेमिरोको प्रदर्शन चिन्ताको विषय
एन्सेलोटीलाई सबैभन्दा बढी चिन्तित बनाउने प्रदर्शन भने कासेमिरोको रह्यो। ३४ वर्षीय मिडफिल्डरले बल गुमाउने, गलत पास दिने र गलत स्थानमा देखिने गल्तीहरू पटक–पटक दोहोर्याए।
-1781408377564.webp)
दोस्रो हाफ सुरु हुनुअघि एन्सेलोटीले इबानेज र कासेमिरोलाई बाहिर निकाल्दै डानिलो र फाबिन्होलाई मैदानमा उतारे। यी परिवर्तनले ब्राजिलको खेलमा तुरुन्तै सुधार ल्यायो।
डानिलोले रक्षापंक्तिमा स्थिरता दिए भने फाबिन्होले मिडफिल्डमा नियन्त्रण र सन्तुलन कायम गरे। दोस्रो हाफमा ब्राजिलले लामो समय बल नियन्त्रणमा राख्दै खेलमाथि प्रभुत्व जमायो र जित निकाल्न सक्ने अवसरहरू पनि सिर्जना गर्यो।
आक्रमणतर्फ पनि एन्सेलोटीको प्रारम्भिक निर्णय प्रभावकारी हुन सकेन। ब्रेन्टफोर्डका फरवार्ड इगोर थियागोलाई सुरुदेखि खेलाउने निर्णय सफल भएन। उनले राफिन्हा र भिनिसियससँग राम्रो तालमेल बनाउन सकेनन् र खेलमा प्रभाव पार्न असफल रहे।

पछि मैदान प्रवेश गरेका म्याथियस कुन्हा, लुइज हेनरिक, फाबिन्हो र डानिलोले टोलीलाई थप गतिशीलता, राम्रो पासिङ र व्यवस्थित आक्रमण प्रदान गरे। खेलपछि एन्सेलोटीले टोलीको प्रदर्शन अपेक्षाअनुसार नभएको स्वीकार गरे।
उनले भने,‘हामीले पहिलो खेलमा के गर्यौं भन्ने विषयमा पुनः मूल्यांकन गर्नुपर्छ। हामीले राम्रो खेलेनौं। टोली असन्तुलित थियो, धेरै पटक बल गुमायौं र त्यस पक्षमा सुधार आवश्यक छ। दोस्रो हाफमा केही सुधार देखियो, तर हामी निराश हुनु हुँदैन।’
उनले थपे,‘यो विश्वकपको पहिलो खेल मात्र हो। सुरुदेखि नै टोली पूर्ण रूपमा तयार हुनुपर्छ भन्ने अपेक्षा गर्नु उचित हुँदैन।’ अब एन्सेलोटीसमक्ष मुख्य चुनौती भनेको आगामी खेलका लागि सही टोली छनोट गर्नु हो।
विश्वकपजस्तो प्रतियोगितामा प्रयोगका लागि धेरै समय हुँदैन। २४ वर्षदेखि विश्वकप उपाधिको प्रतीक्षामा रहेको ब्राजिल छैटौं पटक च्याम्पियन बन्ने लक्ष्यमा छ। त्यसका लागि अहिले देखिएका कमजोरीहरू छिट्टै सुधार्नुपर्ने आवश्यकता स्पष्ट देखिएको छ।









-1786022688387.jpeg&w=3840&q=75)
-1786005627596.jpeg&w=3840&q=75)


