कुराकाओले जर्मनीलाई ‘अपसेट’ गर्न सक्ला ?
-1781357595181.webp&w=3840&q=75)
काठमाडौं। आइतबार कुराकाओविरुद्ध खेल्दै विश्वकप अभियान सुरु गर्न लागेको जर्मनीको एउटै लक्ष्य हुनेछ, विश्वकप इतिहासकै सबैभन्दा ठूलो ‘अपसेट’बाट बच्ने।
विश्वकप २०२६ का फेबरेट्सको कुरा गर्दा चार पटकको च्याम्पियन जर्मनीको नाम आइरहेको छैन। किनभने टोली पछिल्ला दुई संस्करण समूह चरणबाटै बाहिरिएको थियो। त्यसैले टोली कुराकाओविरुद्ध साइकोलोजिकल दबाबमा हुनेछ।
यद्यपि जर्मनी बलियो लयका साथ अमेरिका आइपुगेको छ। पछिल्ला ९ खेलमा जर्मनीले विपक्षीलाई हराएको छ। यसै वर्ष भएका चार मैत्रीपूर्ण खेलमा जर्मनीले स्विट्जरल्यान्ड, घाना, फिनल्यान्ड र सह–आयोजक अमेरिकालाई हरायो।
जर्मनीले कुराकाओपछि आइभरी कोस्ट र इक्वेडरसँग खेल्नेछ। यसपाली पनि जर्मनी समूह चरणबाटै बाहिरिने हो भने फुटबल सरोकारवालाहरूका लागि यो आश्चर्यको विषय हुनेछ। किनभने यस पटक तेस्रो स्थानमा रहने टोलीसँग पनि उत्कृष्ट ‘थर्ड रनर्स–अप’का आधारमा नकआउट चरणमा पुग्ने अवसर छ।
-1781357612526.webp)
कुराकाओसँग जर्मनीलाई जितबाहेक अन्य विकल्प छैन। बराबरीको नतिजाले पनि टोली आलोचनाको सिकार बन्नेछ।
उता समूह ‘इ’को प्रतिस्पर्धामा पहिलो विश्वकप अनुभव लिइरहेको कुराकाओ ऐतिहासिक नतिजाको लक्ष्यमा हुनेछ।
कुराकाओ भने विना दबाब मैदानमा प्रस्तुत हुनेछ। गत नोभेम्बरमा कुराकाओले कन्काकाफ छनोट प्रतियोगिताअन्तर्गत पहिलो र दोस्रो चरण दुवैमा शीर्ष स्थानमा रहँदै पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो।
डिक एड्भोकाटको नेतृत्वमा रहेको कुराकाओले यो यात्रामा एक खेल पनि हारेन। त्यसैले कुराकाओ जर्मनीसँग डराइहाल्नुपर्ने टोली होइन।
विश्वकपअघिको वार्म अप (मैत्रीपूर्ण) खेलमा कुराकाओले स्कटल्यान्डसँग ४–१ को हार बेहोर्यो। तर, अन्तिम मैत्रीपूर्ण खेलमा टोलीले अरुवालाई ४–० ले हरायो। फिफा वरीयतामा ८२औं स्थानमा रहेको कुराकाओका लागि जर्मनीविरुद्ध एक अंक खोस्नु पनि जित्नु सरह नै हो।
जर्मनीका खेलाडीहरू सबै फिट छन्। तर, पछिल्लो समय भेट्रान गोलकिपर म्यानुअल नुयुरलाई भने काल्फ इन्जुरीले सताएको छ। यद्यपि ४० वर्षीय नोयर कुराकाओविरुद्ध पहिलो रोजाई मै खेल्ने सम्भावना छ।
जर्मनीलाई उपाधिको दाबेदारका रूपमा नहेरिएपछि योसुवा किमिच, जोनाथन ताह, लेरोई साने, जमाल मुसियाला र फ्लोरियन विर्ट्ज जस्ता स्टार खेलाडीले टोलीको स्क्वाड डेप्थ निकै बलियो छ।
च्याम्पियन्स लिग फाइनलमा गोल गरेका आर्सनलका फरवार्ड काइ ह्याभर्ट्जले जर्मनको अग्रपङ्क्ति सम्हाल्नेछन् । २७ वर्षीय ह्याभर्ट्जले राष्ट्रिय टोलीमा कूल २२ गोल गरेका छन्।
कुराकाओमा पनि इन्जुरीका कुनै पनि समस्या छैनन्। एस्टन भिल्लाका पूर्व मिडफिल्डर लियान्ड्रो बाकुनाले टोलीको कप्तानी जिम्मेवारी सम्हाल्दै छन्। ३४ वर्षीय लियान्ड्रोलाई उनका भाइ जुनिन्हो बाकुनाले मिडफिल्डमा साथ दिनेछन्।
समूहको अर्को खेलमा सोमबार बिहान ४ः४५ बजे इक्वेडर र आइभोरी कोष्टबीच खेल हुनेछ।










-1787661904658.jpeg&w=3840&q=75)

