‘सोनाल्डो’ अर्थात सन

दक्षिण कोरियाका कप्तान सन ह्युङ–मिन आफ्नो चौथो फिफा विश्वकप खेल्दैछन्। तर, ३३ वर्षीय सन भने अहिले आफूलाई फेरि एकपटक सानो केटाजस्तै महसुस गरिरहेका छन्।
साथै, उनले मेक्सिकन समर्थकहरूको विशेष साथ पाउने अपेक्षा पनि व्यक्त गरेका छन्। सनले बिहीबार मेक्सिकोको ग्वाडालाहारामा हुने समूह ‘ए’ अन्तर्गतको खेलमा चेक गणतन्त्रविरुद्ध मैदान उत्रिँदै यस संस्करणको विश्वकप यात्रा सुरु गर्नेछन्। हाल उनी अमेरिकाको मेजर लिग सकर (एमएलएस) अन्तर्गत लस एन्जलसमा खेलिरहेका छन्।
मेक्सिकोमा उनलाई धेरै समर्थकहरूले ‘सोनाल्डो’ भनेर सम्बोधन गर्ने गरेका छन्। यो उपनाम पोर्चुगलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डो वा ब्राजिलका पूर्वस्ट्राइकर रोनाल्डोसँग तुलना गर्दै राखिएको मानिन्छ।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सनले भने,‘म अहिले लस एन्जलसमा छु र यहाँ धेरै मेक्सिकन समुदाय छन्। उनीहरूको फुटबलप्रतिको माया र उत्साह मैले नजिकबाट अनुभव गरेको छु। उनीहरूले मलाई धेरै समर्थन गर्छन्, त्यसका लागि म अत्यन्त आभारी छु।’
यद्यपि, उनले सोनाल्डो उपनामलाई आफूले पूर्ण रूपमा स्वीकार गर्न नसकेको बताए। ‘अहिलेसम्म म त्यो उपनामको योग्य छु जस्तो लाग्दैन,’ उनले हाँस्दै भने।
दक्षिण कोरियाले आफ्नो दोस्रो समूह चरणको खेल पनि ग्वाडालाहारामै खेल्नेछ, जहाँ उसले सह–आयोजक राष्ट्र मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। त्यस खेलमा स्थानीय दर्शकहरूको समर्थन भने विपक्षी टोलीतर्फ रहने सम्भावना छ।
समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियाले मोन्टेरेमा दक्षिण अफ्रिकाको सामना गर्नेछ। सनले इङ्लिस प्रिमियर लिग क्लब टोटनह्यामबाट लामो र सफल करिअर बिताएपछि लस एन्जलसमा आबद्ध भएका हुन्।
सन् २०१० देखि राष्ट्रिय टोलीका सदस्य रहेका उनले पहिलो पटक २०१४ को ब्राजिल विश्वकप खेलेका थिए। त्यसपछि उनले २०१८ (रुस) र २०२२ (कतार) विश्वकपमा पनि सहभागिता जनाए।
-1781193041473.webp)
‘पहिलो होस् वा चौथो, विश्वकपमा खेल्न पाउँदा म अझै पनि सानो केटाजस्तै उत्साहित हुन्छु,’ सनले भने,‘यो मेरो सपनाको मञ्च हो। बाल्यकालदेखि देखेको सपना फेरि पूरा गर्न पाउँदा म निकै खुशी छु।’
उनले यो विश्वकप आफ्नो अन्तिम विश्वकप हुनसक्ने भन्ने चर्चा पनि अस्वीकार गरे। ‘मैले कहिल्यै यो मेरो अन्तिम विश्वकप हो भनेको छैन,’ उनले स्पष्ट पारे,‘सबैभन्दा महत्त्वपूर्ण कुरा मेरो प्रदर्शन हो। म कस्तो खेल्छु भन्ने कुराले भविष्य निर्धारण गर्नेछ।’
अनुभवी खेलाडीका रूपमा टोलीमा आफ्नो जिम्मेवारी बढेको स्वीकार्दै सनले युवा खेलाडीहरूलाई मानसिक रूपमा तयार राख्न प्रयास गरिरहेको बताए। ‘कहिलेकाहीँ उनीहरूलाई शान्त हुन भन्नुपर्छ। दबाब धेरै हुन्छ,’ उनले भने‚‘हामीले राम्रो तयारी गरेका छौं र राम्रो नतिजा ल्याउन सक्षम छौं भन्ने विश्वास छ।’
दक्षिण कोरिया १२औं पटक विश्वकपमा सहभागी हुँदैछ, जुन कुनै पनि एसियाली राष्ट्रको सबैभन्दा धेरै सहभागिता हो। टोलीको उत्कृष्ट उपलब्धि सन् २००२ मा जापानसँग संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा सेमिफाइनल पुग्दै चौथो स्थान हासिल गर्नु हो। त्यसयता भने दक्षिण कोरिया अन्तिम १६ भन्दा माथि पुग्न सकेको छैन।










-1787661904658.jpeg&w=3840&q=75)

