१८ वर्षमै यमलमाथि ठूलो जिम्मेवारी

स्पेनले दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा प्रवेश गर्दा टोलीको सबैभन्दा ठूलो आशा १८ वर्षीय लामिन यमलमाथि हुनेछ।
उमेरले किशोर भए पनि यमलले अनुभवी खेलाडीसरह जिम्मेवारी बोकेका छन्। पछिल्ला केही वर्षयता उनी स्पेनिस राष्ट्रिय टोलीका सबैभन्दा चर्चित खेलाडी बनेका छन् र मैदानभित्र तथा बाहिर दुवैतर्फ निरन्तर चर्चामा छन्।
यमलले स्पेन र बार्सिलोनालाई सफलताका शिखरमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनले उपाधि उत्सवका क्रममा प्यालेस्टिनी झण्डा फहराएर चर्चा कमाए भने आफ्नो १८औं जन्मदिनको भव्य समारोहमा होचो कद भएका व्यक्तिहरूलाई मनोरञ्जनका लागि राखेको भन्दै आलोचना पनि खेप्नुपरेको थियो।
-1780839753869.webp)
विश्वकप सुरु हुन केही साताअघि मात्रै उनी चोटग्रस्त भएपछि स्पेनभर चिन्ता फैलिएको थियो। उनको सहभागितामाथि नै प्रश्न उठेको थियो। तर, अन्ततः यमल खेल्न तयार भएका छन्।
धेरैले उनलाई बार्सिलोनाका महान् खेलाडी लिओनल मेसीको उत्तराधिकारीका रूपमा हेर्ने गरेका छन्। उत्तर अमेरिकामा हुने यस विश्वकपमा उनले अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो क्षमता पूर्ण रूपमा प्रमाणित गर्ने अपेक्षा गरिएको छ।
टोली घोषणा भएपछि यमलले भनेका छन्,‘अन्ततः त्यो समय आएको छ।’
चोटसँग संघर्ष गर्दै पहिलो विश्वकप
स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले यमललाई टोलीमा राख्न कुनै हिच्किचाहट देखाएनन्। यद्यपि, अप्रिलमा बार्सिलोनाबाट खेल्ने क्रममा उनको देब्रे तिघ्राको मांसपेशीमा चोट लागेको थियो।
-1780839766421.webp)
यमलले आफू विश्वकप गुम्न सक्ने डरले निकै चिन्तित भएको बताएका थिए। फुएन्तेका अनुसार यमल सुरुदेखि नै खेल्न सक्षम हुने सम्भावना छ। तर, उनले युवा खेलाडीमाथि अत्यधिक अपेक्षा नराख्न आग्रह गरेका छन्।
‘उनी १८ वर्षका मात्र हुन्। तर, विश्वभरका समर्थक र सञ्चारमाध्यमको ध्यान उनीतर्फ छ। हामी उनीमाथि अतिरिक्त दबाब सिर्जना गर्न चाहँदैनौं। उनलाई आवश्यक समय दिनुपर्छ, विशेष गरी चोटबाट फर्किरहेका बेला,’उनले भनेका छन्र
यमलले दबाबसँग आफू परिचित भइसकेको बताएका छन्। उनले १५ वर्षको उमेरमै बार्सिलोनाबाट पहिलो टोलीमा डेब्यु गर्दै क्लबका लागि स्पेनिस लिग खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए।
त्यसयता उनले लगातार चार सिजन शीर्षस्तरको फुटबल खेलेका छन्। यस सिजन उनी १६ गोल गर्दै टोलीका सर्वाधिक गोलकर्तामध्ये एक बने। साथै उनले लिगमा सबैभन्दा धेरै निर्णायक पास र सफल ‘ड्रिब्लिङ’ गर्ने खेलाडीको कीर्तिमान पनि कायम गरे।
-1780839780708.webp)
उनलाई यस सिजनको उत्कृष्ट खेलाडी घोषित गरिएको थियो। यमल भन्छन्,‘म १० वर्षदेखि खेलिरहेको छुजस्तो मलाई लाग्छ। तर, वास्तवमा तीन वर्ष मात्र भएको छ। चार वर्षअघि म आफ्नै छिमेकी खेल मैदानमा खेलिरहेको थिएँ। अहिले विश्वकप खेल्न पाउनु अविश्वसनीय अनुभव हो।’
राष्ट्रिय टोलीमा पनि ऐतिहासिक यात्रा
यमलको प्रतिभाले राष्ट्रिय टोलीमा पनि छिट्टै स्थान बनायो। सन् २०२३ मा १६ वर्षको उमेरमा उनले स्पेनको सिनियर टोलीबाट डेब्यु गरेका थिए। उनी राष्ट्रिय टोलीका लागि खेल्ने तथा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीसमेत हुन्।
एक वर्षपछि उनी युरोपियन च्याम्पियनसिप खेल्ने इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी बने। उनले स्पेनलाई उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिए। प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी घोषितसमेत भए। यमलको जर्सी अहिले स्पेनमा सबैभन्दा धेरै बिक्री हुनेमध्ये एक हो। विश्वभर पनि उनको लोकप्रियता तीव्र रूपमा बढिरहेको छ।

तर, लोकप्रियतासँगै विवाद पनि जोडिएका छन्। बार्सिलोनाले स्पेनिस लिग जितेपछि भएको उत्सवमा उनले प्यालेस्टिनी झण्डा फहराएपछि अन्तर्राष्ट्रिय चर्चा भएको थियो। त्यसबेला बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले उनको निर्णयमाथि प्रश्न उठाएका थिए। इजरायलका रक्षामन्त्री इस्रायल काट्जले यमलमाथि घृणा फैलाएको आरोप लगाएका थिए।
गत वर्ष उनको जन्मदिन समारोहमा होचो कद भएका व्यक्तिहरूलाई मनोरञ्जनका लागि राखिएको विषयमा पनि विवाद भएको थियो। त्यसपछि स्पेनको सामाजिक अधिकार मन्त्रालयले यस विषयमा अनुसन्धान गर्न सरकारी निकायलाई अनुरोध गरेको थियो। यमलले भने आफूले कुनै गलत काम नगरेको दाबी गरेका थिए।
स्पेनको उपाधि यात्रा
सन् २०२२ को विश्वकपमा मोरक्कोसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको स्पेन त्यसपछि पुनः बलियो रूपमा फर्किएको छ। स्पेनले सन् २०२४ को युरोपियन च्याम्पियनसिप जित्यो। सन् २०२३ मा नेसन्स लिगको उपाधि पनि जित्यो भने सन् २०२५ मा उपविजेता बन्यो।
-1780839847357.webp)
सन् २०१० मा एकमात्र विश्वकप उपाधि जितेपछि स्पेन विश्वकपमा अन्तिम १६ चरणभन्दा अगाडि बढ्न सकेको छैन। यस वर्ष स्पेनले जुन १५ मा एटलान्टामा केप भर्डेविरुद्ध खेल्दै विश्वकप अभियान सुरु गर्नेछ। त्यसपछि जुन २१ मा साउदी अरब र जुन २६ मा मेक्सिकोको ग्वाडालाजारामा उरुग्वेसँग खेल्ने तालिका छ।
आफूले हजारौं पटक आफ्नो कोठामा विश्वकप ट्रफी उचालेको सपना देखेको यमलले बताउने गरेका छन्। ‘युरोपियन च्याम्पियनसिप सकिएदेखि नै हामी सबै यही दिनको प्रतीक्षामा थियौं। हामी च्याम्पियनका रूपमा विश्वकपमा प्रवेश गर्दैछौं र उपाधिका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउनेछौं,’ उनी भन्छन्।









-1786022688387.jpeg&w=3840&q=75)
-1786005627596.jpeg&w=3840&q=75)


