सानदार लयमा रहेको स्विट्जरल्यान्डलाई क्यानडा र कतारको चुनौती
-1780838496100.webp&w=3840&q=75)
विश्वकप फुटबलको सह-आयोजक क्यानडामाथि यसपटक ठूलो दबाब छ। घरेलु समर्थकहरूको साथ पाएको क्यानडाले इतिहासमै पहिलो पटक समूह चरण पार गर्ने लक्ष्य राखेको छ।
क्यानडा समूह ‘बी’ मा स्विट्जरल्यान्ड, कतार तथा बोस्निया–हर्जेगोभिनासँग छ। बोस्निया–हर्जेगोभिनाले विश्वकप छनोटको युरोपेली प्लेअफमा चार पटकको विश्व विजेता इटालीलाई पराजित गर्दै प्रतियोगितामा स्थान बनाएको थियो।
क्यानडाले आफ्ना तीनवटै समूह चरणका खेल घरेलु मैदानमै खेल्ने भएकाले रातो पोशाकमा सजिएका हजारौं समर्थकको बलियो साथ पाउने अपेक्षा गरिएको छ।
-1780838576822.webp)
छाप छोड्ने तयारीमा क्यानडा
हक्की खेलका लागि बढी परिचित क्यानडा अहिले विश्व फुटबलमा आफ्नो छाप छोड्ने तयारीमा छ। सह-आयोजकको हैसियतमा क्यानडाले यसपटक उल्लेखनीय प्रदर्शन गर्ने आशा राखेको छ।
क्यानडा यसअघि सन् १९८६ र २०२२ मा विश्वकप खेलेको थियो। तर‚ दुवै पटक टोली समूह चरणबाटै बाहिरिएको थियो। अमेरिकी प्रशिक्षक जेसी मार्सको नेतृत्वमा रहेको टोलीले आक्रामक, आत्मविश्वासी र शक्तिशाली खेल शैली अपनाएको छ।
मार्स भन्छन्, ‘मैले खेलाडीहरूको प्राकृतिक क्षमता र समर्पणलाई उच्चस्तरमा प्रदर्शन गर्न सक्ने खेल शैली विकास गर्ने प्रयास गरेको छु। खेलाडीहरूले त्यसलाई मन पराएका छन्, मैले पनि रमाइलो अनुभव गरेको छु र समर्थकहरूले पनि टोलीको खेलको आनन्द लिएका छन्।’
-1780838591335.webp)
चार वर्षअघि कतार विश्वकपमा क्यानडा आफ्नो समूहको पुछारमा रहँदै बाहिरिएको थियो। यद्यपि, अल्फोन्सो डेभिसले क्रोएसियाविरुद्ध ४–१ को हारमा गोल गर्दै विश्वकपमा क्यानडाको पहिलो गोल गर्ने इतिहास रचेका थिए।
जर्मन क्लब बायर्न म्युनिखका स्टार खेलाडी डेभिस टोलीका मुख्य खेलाडी हुन्। युभेन्ट्सका फरवार्ड जोनाथन डेभिड र साउथह्याम्पटनका स्ट्राइकर सायल लारिन पनि टोलीका महत्त्वपूर्ण सदस्य हुन्।
विश्व वरीयतामा ३०औं स्थानमा रहेको क्यानडाले जुन १२ मा टोरन्टोमा बोस्निया–हर्जेगोभिनाविरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ।
सानदार लयमा रहेको स्विट्जरल्यान्ड
स्विट्जरल्यान्ड लगातार छैटौं विश्वकप खेल्दैछ। पछिल्ला तीन संस्करणमा टोली नकआउट चरणसम्म पुगे पनि त्यसभन्दा अगाडि बढ्न सकेको छैन।
स्विट्जरल्यान्ड तीन पटक विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको छ। तर‚ अन्तिम पटक सन् १९५४ मा त्यो उपलब्धि हासिल गरेको थियो। टोलीका कप्तान ग्रानिट झाकाले राष्ट्रिय टोलीबाट १४० भन्दा बढी खेल खेलिसकेका छन्। टोलीका प्रशिक्षक मुरात याकिन पूर्वरक्षक खेलाडी हुन्। उनले राष्ट्रिय टोलीबाट ४९ खेल खेलेका थिए।
-1780838610769.webp)
विश्व वरीयतामा १९औं स्थानमा रहेको स्विट्जरल्यान्डले छनोट चरणमा एक खेल पनि हारेन र ६ खेलमा जम्मा दुई गोल मात्र बेहोरेको थियो। तर‚ मार्चमा भएका मैत्रीपूर्ण खेलहरूमा जर्मनीसँग ४–३ ले पराजित भएको थियो भने नर्वेसँग गोलरहित बराबरी खेलेको थियो।
स्विट्जरल्यान्डले जुन १३ मा क्यालिफोर्नियाको सान्ता क्लारामा कतारसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ।
ठूलो लगानी गरेको कतार
कतार दोस्रो पटक विश्वकप खेल्दैछ। सन् २०२२ मा आयोजक राष्ट्रका रूपमा पहिलो पटक विश्वकप खेलेको कतार समूह चरणबाटै बाहिरिएको थियो।
त्यतिबेला मोहम्मद मुन्तारीले सेनेगलविरुद्धको खेलमा गोल गरेका थिए। विश्वकपमा कतारको त्यो नै पहिलो र एक मात्र गोल हो। विश्व वरीयतामा ५६औं स्थानमा रहेको कतारका प्रशिक्षक स्पेनका जुलेन लोपेटेगुई हुन्। पूर्वगोलरक्षक लोपेटेगुईले इङ्ग्लिस क्लब वेस्टह्याममा छोटो कार्यकालपछि कतारको जिम्मेवारी सम्हालेका हुन्।
कतारले बलियो राष्ट्रिय टोली र प्रतिस्पर्धी घरेलु लिग निर्माणमा ठूलो लगानी गरिरहेको छ। टोलीका अधिकांश खेलाडी कतारकै व्यावसायिक क्लबहरूमा खेल्छन्।
-1780838620570.webp)
टोलीका कप्तान हसन अल–हायडोसले सन् २०२४ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए। तर‚ विश्वकप अभियानका लागि पुनः टोलीमा फर्किएका छन्। उनले राष्ट्रिय टोलीका लागि १८४ खेलमा ४१ गोल गरेका छन्।
स्ट्राइकर अल्मोइज अलीले ११८ खेलमा ५५ गोल गरेका छन् र टोलीका मुख्य आक्रमणकारी खेलाडी मानिन्छन्।
इटालीलाई हराएर विश्वकपमा पुगेको बोस्निया–हर्जेगोभिना
बोस्निया–हर्जेगोभिनाले मार्च ३१ मा भएको विश्वकप छनोटको प्लेअफ फाइनलमा इटालीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको थियो। त्यसपछि देशभर उत्सव मनाइएको थियो।
टोलीका स्टार स्ट्राइकर एडिन जेको उक्त खेलका क्रममा काँधमा चोटग्रस्त भएका थिए। ४० वर्षीय जेको जर्मनीको साल्के–०४ क्लबबाट खेल्छन्। बोस्नियाका इतिहासकै उत्कृष्ट खेलाडी मानिने जेकोले राष्ट्रिय टोलीका लागि १४८ खेलमा ७३ गोल गरेका छन् र उनी सर्वाधिक गोलकर्ता हुन्।
-1780838627125.webp)
यो बोस्निया–हर्जेगोभिनाको दोस्रो विश्वकप सहभागिता हो। यसअघि सन् २०१४ मा पनि टोली विश्वकपमा पुगेको थियो। तर‚ समूह चरणबाटै बाहिरिएको थियो।
विश्व वरीयतामा ६६औं स्थानमा रहेको टोलीका प्रशिक्षक सर्गेइ बार्बारेज हुन्। उनी खेलाडी जीवनमा राष्ट्रिय टोलीका कप्तानसमेत थिए।









-1786022688387.jpeg&w=3840&q=75)
-1786005627596.jpeg&w=3840&q=75)


