फुटबललाई बिगार्न साउदीले गरेको अर्बौं खर्च
-1780836894242.webp&w=3840&q=75)
चार वर्षअघि कतारमा भएको विश्वकपमा साउदी अरबले फुटबल इतिहासकै सबैभन्दा ठूलो अप्रत्याशित नतिजामध्ये एक निकाल्दै शक्तिशाली अर्जेन्टिनालाई पराजित गरेको थियो।
लिओनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना अन्ततः विश्वकप विजेता बने पनि साउदीको त्यो जित एउटा खेलको सफलता मात्र थिएन। त्यसपछि साउदीले विश्व फुटबलमा आफ्नो प्रभाव विस्तार गर्ने अभियानलाई तीव्र बनायो।
विश्वकप सकिएको केही सातामै पाँच पटकका बालोन डी’ओर विजेता क्रिस्टियानो रोनाल्डो युरोप छोडेर साउदी लिगमा पुगे। उनले त्यसबेला भनेका थिए, ‘युरोपमा मेरो काम सकिएको छ। यो मेरो लागि नयाँ चुनौती हो।’
त्यसपछि करिम बेन्जेमा रियल मड्रिडबाट साउदी पुगे भने ब्राजिलियन सुपरस्टार नेयमारले पनि त्यही बाटो रोजे। यद्यपि, मेसी र किलियन एम्बाप्पेलाई भित्र्याउने प्रयास सफल भएन। तर, साउदीले अझ ठूलो उपलब्धि हासिल गर्यो, सन् २०३४ को विश्वकप आयोजना गर्ने अधिकार।
यो सबै साउदीको तेलमा आधारित अर्थतन्त्रलाई विविधीकरण गर्ने र नयाँ आयका स्रोतहरू विकास गर्ने रणनीतिक योजनाको हिस्सा हो। आलोचकहरू भने यसलाई ‘स्पोर्ट्सवाशिङ’ को प्रयासका रूपमा हेर्छन्। यसलाई खेलकुदमार्फत मानव अधिकारसम्बन्धी आलोचनाबाट ध्यान मोड्ने प्रयास गरिएको बताइन्छ।
साउदीले बक्सिङ, फर्मुला वन रेसिङ र टेनिसजस्ता खेलकुदमा विश्वस्तरीय प्रतियोगिता आयोजना गर्न अर्बौं डलर खर्च गरेको छ। साउदी समर्थित ‘लिभ गल्फ’ले ‘पीजीए टूर’का चर्चित खेलाडीहरूलाई आकर्षित गरेको थियो। यद्यपि, उक्त परियोजनामा लगानी घटाउने घोषणा गरिएको छ। तर, फुटबलप्रतिको प्रतिबद्धता भने अझै बलियो छ। साउदीका प्रमुख क्लबहरू देशको सार्वभौम सम्पत्ति कोषको स्वामित्वमा छन्।
२०२६ विश्वकपको चुनौती
यस वर्षको विश्वकप साउदी राष्ट्रिय टोलीका लागि आफू कति अघि बढेको छ भन्ने परीक्षण हुनेछ। नवनियुक्त प्रशिक्षक जर्जियोस डोनिसले भनेका छन्,‘हामी चमत्कार गर्ने वाचा गर्न सक्दैनौं। तर, लक्ष्य हासिल गर्न सक्दो प्रयास गर्ने वाचा अवश्य गर्छौं।’
यद्यपि, विदेशी स्टार खेलाडीहरूको आगमनले सधैं घरेलु खेलाडीहरूको प्रदर्शनमा सुधार ल्याउँछ भन्ने निश्चित छैन। सन् २०२४ को एसियन कपमा साउदी अन्तिम १६ चरणबाटै बाहिरिएको थियो। त्यस प्रतियोगितामा साउदी पेनाल्टी सुटआउटमा दक्षिण कोरियासँग पराजित भएको थियो। त्यतिखेर खेल समाप्त हुनुअघि नै टोलीका तत्कालीन प्रशिक्षक रोबर्टो मान्सिनीले मैदान छाडेको भन्दै आलोचित बनेका थिए। केही महिनापछि उनले पद पनि गुमाए।
त्यसपछि कतार विश्वकपमा टोलीलाई सफलता दिलाएका फ्रान्सेली प्रशिक्षक हेर्भे रेनार्ड पुनः नियुक्त भए। योसँगै टोलीले विश्वकपमा स्थान सुरक्षित गर्यो। तर, विश्वकप सुरु हुनुभन्दा दुई महिनाअघि मात्रै रेनार्डको स्थानमा ग्रीक प्रशिक्षक डोनिस नियुक्त भएका छन्।
-1780836915627.webp)
डोनिसले साउदी लिगका विभिन्न क्लबलाई प्रशिक्षण गरिसकेका छन् र राष्ट्रिय टोलीका धेरै खेलाडीहरूसँग काम गरिसकेका छन्। तीमध्ये फरास अल बुराइकन पनि एक हुन्। उनले अल–अहलीसँग लगातार दुई पटक एएफसी च्याम्पियन्स लिग जितेका छन्।
साउदी फुटबल महासंघका अनुसार डोनिसको नियुक्ति ‘सहज र प्रभावकारी संक्रमण’ सुनिश्चित गर्न गरिएको हो। डोनिसले टोली घोषणा गर्दा भनेका छन्, ‘मैले साउदीमा धेरै वर्ष बिताएकाले यहाँको संस्कृति र खेलाडीहरूलाई राम्रोसँग चिन्छु। हाम्रो लक्ष्य प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै कडा संघर्ष गर्नु हो।’
स्वदेशी प्रतिभा विकासमा जोड
विदेशी स्टार खेलाडी भित्र्याउने क्रम केही सुस्त बनेको छ भने नेयमारजस्ता केही चर्चित खेलाडी साउदी छोडेर गइसकेका छन्। अब साउदी फुटबल प्रशासनले आफ्नै खेलाडी उत्पादनमा विशेष ध्यान दिन थालेको छ।
मे महिनामा अमेरिकी फुटबल महासंघ (युएस सकर) का खेल विकास निर्देशक म्याट क्रोकरलाई साउदीले प्रतिभा विकास कार्यक्रमको नेतृत्व गर्न नियुक्त गर्यो। पछिल्ला तीन वर्षमा युवा खेलाडी विकासमा गरिने लगानी दोब्बर भई २६.७ मिलियन डलर पुगेको छ। साथै विभिन्न क्षेत्रमा प्रशिक्षण केन्द्रहरूको विस्तार पनि भइरहेको छ। यसको मुख्य लक्ष्य सन् २०३४ को घरेलु विश्वकपका लागि बलियो टोली तयार गर्नु हो।
तर, त्यसअघि साउदीसँग यस वर्षको विश्वकपमा फेरि एकपटक विश्वलाई चकित पार्ने अवसर छ। ‘हाम्रा सबै खेलाडीमा हाम्रो योजनाप्रति प्रतिबद्ध हुने क्षमता र उत्साह छ। हामी क्रमिक रूपमा बलियो र एकताबद्ध टोली निर्माण गर्न चाहन्छौं। म उनीहरूको क्षमतामा विश्वास गर्छु, अब उनीहरूले पनि आफूमा विश्वास गर्नुपर्छ र टोलीको योजनालाई आत्मसात् गर्नुपर्छ,’ डोनिस भन्छन्।









-1786022688387.jpeg&w=3840&q=75)
-1786005627596.jpeg&w=3840&q=75)


