आयोजक मेक्सिकोको चुनौती, दक्षिण कोरिया र चेक गणतन्त्र पनि दाबेदार
-1780765828083.webp&w=3840&q=75)
फिफा विश्वकपको उद्घाटन खेल समूह ‘ए’ अन्तर्गत जुन ११ मा मेक्सिको सिटीमा हुनेछ। उक्त खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
यस समूहमा मेक्सिको र दक्षिण अफ्रिकासँगै दक्षिण कोरिया तथा चेक गणतन्त्र पनि छन्। समूहका अधिकांश खेलहरू मेक्सिकोमै आयोजना हुनेछन्। मेक्सिको सिटीमा दुई, ग्वाडालाहारामा दुई र मोन्टेरेमा एक खेल हुनेछ।
समूहको एक मात्र खेल मेक्सिको बाहिर अमेरिकाको एटलान्टामा हुनेछ, जहाँ जुन १८ मा चेक गणतन्त्र र दक्षिण अफ्रिका भिड्नेछन्।
-1780765864888.webp)
मेक्सिकोका दुई खेल ऐतिहासिक रूपमा चर्चित तथा हालै पुनर्निर्माण गरिएको अज्टेका स्टेडियममा हुनेछन्। यही रंगशालाले १९७० र १९८६ को विश्वकप फाइनलको आयोजना गरेको थियो।
४० वर्षपछि पुनः विश्वकप आयोजना गरिरहेको मेक्सिको
४० वर्षपछि पुनः विश्वकप आयोजना गरिरहेको मेक्सिको यसपटक घरेलु मैदानको फाइदा उठाउँदै राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ। चार वर्षअघि कतार विश्वकपमा समूह चरणबाटै बाहिरिएको मेक्सिको त्यसअघि १९९४ देखि २०१८ सम्म लगातार सात पटक अन्तिम १६ मा पुगेर पनि त्यसभन्दा अघि बढ्न सकेको थिएन।

मेक्सिकोले विश्वकपको अन्तिम आठ (क्वार्टरफाइनल) मा स्थान बनाएको एकमात्र समय भने घरेलु भूमिमा आयोजना भएको १९७० र १९८६ को संस्करणमा हो। टोलीका समर्थकहरूको ठूलो आशा १७ वर्षीय युवा प्रतिभा गिल्बर्टो मोरामाथि रहनेछ। उनले १६ वर्षको उमेरमै मेक्सिकोको सिनियर राष्ट्रिय टोलीबाट खेल्दै कीर्तिमान बनाएका थिए।
मेक्सिकोको नेतृत्व अनुभवी प्रशिक्षक हाभियर अग्विरेले गर्नेछन्। सन् २०२४ मा तेस्रोपटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका अग्विरे मेक्सिकन फुटबलका सम्मानित व्यक्तित्व हुन्।
‘म आफैंलाई भाग्यमानी ठान्छु। मेक्सिकन भएकाले र आफ्नो देशको टोलीलाई विश्वकपमा नेतृत्व गर्न पाउँदा गर्व महसुस गर्छु। मेरो प्रशिक्षक जीवनको सबैभन्दा ठूलो क्षण अब नजिकिँदै छ,’ अग्विरेले बताएका छन्।
१६ वर्षपछि विश्वकपमा फर्किएको दक्षिण अफ्रिका
दक्षिण अफ्रिका सन् २०१० मा आफ्नै भूमिमा विश्वकप आयोजना गरेपछि पहिलोपटक पुनः विश्वकपमा फर्किएको छ।
२०१० मा फ्रान्सलाई २–१ ले हराए पनि दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको थियो। यसअघि १९९८ र २००२ मा पनि टोलीले नकआउट चरणमा स्थान बनाउन सकेको थिएन।
यसपटक दक्षिण अफ्रिकाले अफ्रिकी छनोट चरणमा शक्तिशाली नाइजेरियालाई पछि पार्दै विश्वकपको टिकट सुरक्षित गरेको हो। ‘बाफाना बाफाना’ उपनामले परिचित टोलीका मुख्य प्रशिक्षक बेल्जियमका ह्युगो ब्रुस हुन्, जसले २०२१ देखि टोली सम्हालिरहेका छन्। टोलीमा अधिकांश खेलाडी स्थानीय क्लबबाट आएका छन्।
कीर्तिमानी दक्षिण कोरिया
दक्षिण कोरिया आफ्नो १२औं विश्वकप खेल्दैछ, जुन कुनै पनि एसियाली राष्ट्रको सबैभन्दा धेरै सहभागिता हो। टोलीको उत्कृष्ट उपलब्धि सन् २००२ मा जापानसँग संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा चौथो स्थान हासिल गर्नु हो।

त्यसयता दक्षिण कोरिया अन्तिम १६ भन्दा माथि जान सकेको छैन। कतार विश्वकप २०२२ मा उसले पोर्चुगलपछि समूहमा दोस्रो स्थान हासिल गर्दै नकआउट चरण पुगेको थियो, तर ब्राजिलसँग ४–१ ले पराजित भएको थियो।
एसियाली छनोटमा अपराजित रहेको दक्षिण कोरियाले हालैका तयारी खेलहरूमा भने निराशाजनक प्रदर्शन गरेको छ। गत महिना टोली आइभरी कोस्टसँग ४–० र अस्ट्रियासँग १–० ले पराजित भएको थियो।
टोलीका कप्तान तथा सबैभन्दा चर्चित खेलाडी सन ह्युंग–मिन हुन्, जो हाल अमेरिकी मेजर लिग सकर (एमएसएल) क्लब लस एन्जलस एफसीबाट खेल्छन्। साथै, पेरिस सेन्ट–जर्मेन (पीएसजी) का मिडफिल्डर ली काङ–इन र बायर्न म्युनिखका डिफेन्डर किम मिन–जे पनि टोलीका महत्त्वपूर्ण खेलाडी हुन्।
प्रशिक्षक हङ म्युङ–बोले २०२४ देखि दोस्रोपटक टोलीको नेतृत्व गरिरहेका छन्। उनी २००२ मा सेमिफाइनल पुगेको दक्षिण कोरियाली टोलीका कप्तान समेत थिए।
२००६ पछि पहिलोपटक विश्वकपमा फर्किएको चेक गणतन्त्र
चेक गणतन्त्रले युरोपियन प्लेअफमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै सन् २००६ पछि पहिलोपटक विश्वकपमा स्थान बनाएको हो।
सन् २००६ मा विश्वकप खेल्दा टोली विश्वकै उच्च वरीयतामा रहेकोमध्ये एक थियो। तर इटाली, घाना र अमेरिकासहितको कठिन समूह पार गर्न असफल भएको थियो।
-1780765919184.webp)
३५ वर्षीय पूर्व कप्तान भ्लादिमिर डारिडाले टोलीलाई विश्वकपमा पुर्याउन अन्तर्राष्ट्रिय फुटबलबाट लिएको सन्न्यास फिर्ता लिएका थिए। उनले २०२१ मा युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा पराजित भएपछि राष्ट्रिय टोलीबाट विदा लिएका थिए।
चेक टोलीका मुख्य प्रशिक्षक ७४ वर्षीय मिरोस्लाभ कुबेक हुन्। गत वर्ष विश्वकप छनोटमा कमजोर टोली फेरो टापुसँग २–१ ले पराजित भएपछि इभान हासेकको स्थानमा उनलाई नियुक्त गरिएको थियो।
समूह ‘ए’ मा आयोजक मेक्सिकोलाई समूह विजेता बन्ने प्रमुख दाबेदार मानिएको छ। दक्षिण कोरिया पनि बलियो प्रतिस्पर्धीका रूपमा रहेको छ भने दक्षिण अफ्रिका र चेक गणतन्त्रले नकआउट चरणको दौडलाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।









-1786022688387.jpeg&w=3840&q=75)
-1786005627596.jpeg&w=3840&q=75)


