उत्कृष्ट खेलाडी यमल

काठमाडौं। आगामी फिफा विश्वकपमा सबैभन्दा तहल्का मच्याउने युवा प्रतिभामध्ये एक मानिएका बार्सिलोनाका स्पेनिस विंगर लामिन यमल ला लिगा २०२५–२६ सिजनको उत्कृष्ट खेलाडी घोषित भएका छन्। स्पेनको शीर्ष फुटबल लिग ला लिगाले शुक्रबार उक्त घोषणा गरेको हो।
१८ वर्षीय यमलले बार्सिलोनालाई घरेलु लिग उपाधि जोगाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले एकै सिजनमा तीनपटक ‘प्लेअर अफ द मन्थ’ अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन्। साथै, उनले ला लिगामा १६ गोल र ११ असिस्ट गर्दै बार्सिलोनाका शीर्ष स्कोररका रूपमा सिजन समाप्त गरे।
बार्सिलोनाका मुख्य प्रशिक्षक हान्सी फ्लिक यसअघि नै सिजनको उत्कृष्ट प्रशिक्षक घोषित भइसकेका छन्। यमलको प्रदर्शनबारे बार्सिलोनाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उनी विपक्षी रक्षापंक्तिका लागि ठूलो चुनौती बनेका छन्। उनको आक्रमणकारी क्षमता रोक्न प्रतिद्वन्द्वी टोलीहरूले विशेष मेहनत गर्नुपर्छ।’
क्लबले थप उल्लेख गरेको छ,‘तथ्यांककै आधारमा पनि यमलको प्रभाव स्पष्ट छ। उनले १६ गोल गरे भने ११ गोलका अवसर सिर्जना गरे। ला लिगामा यस सिजन कुनै पनि खेलाडीले गोलमा परिणत हुने यति धेरै पास दिएका छैनन्।’
यस सिजन यमलले ग्रोइनसम्बन्धी समस्याका कारण केही खेल गुमाएका थिए। सिजनको अन्त्यतिर ह्यामस्ट्रिङ चोटका कारण उनले बार्सिलोनाका अन्तिम ६ खेल पनि खेल्न सकेनन्।
यद्यपि, आगामी साता क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा सुरु हुने फिफा विश्वकपका लागि उनी पूर्ण रूपमा फिट हुने अपेक्षा गरिएको छ। यमलले १६ वर्षको उमेरमै व्यावसायिक फुटबलमा सनसनीपूर्ण उदय गरेका थिए।
उनले सन् २०२४ मा स्पेनलाई कीर्तिमानी चौथो युरोपियन च्याम्पियनसिप उपाधि जिताउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।










-1787661904658.jpeg&w=3840&q=75)

