१० वर्षपछि नेपाललाई साफमा धक्का
.JPG-1780491204295.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाल दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको फाइनल पुग्न चुकेको छ।
भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशसँग नेपाल २–१ ले पराजित भएको हो। योसँगै नेपाल १० वर्षपछि पहिलोपल्ट फाइनलमा पुग्न चुकेको छ।
अन्तिमपल्ट नेपाल २०१६ मा भारतसँग पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो। बंगलादेशको जितमा ऋतु पोर्णा चक्मा र मोसम्मत सागोरिकाले गोल गरिन्। नेपालकी गीता रानाले सान्त्वना गोल गरिन्।
योसँगै बंगलादेश उपाधिमा ह्याट्रिकतर्फ उन्मुख भएको छ। यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २०२२ र २०२४ भएको संस्करणमा बंगलादेशले नेपाललाई पराजित गर्दै उपाधि उठाएको थियो।
खेलको २३औं मिनेटमा गीताको गोलमार्फत नेपालले सुरुआती अग्रता लिएको थियो। दीपा शाहीको कर्नर किकमार्फत आएको बललाई बंगलादेशकी गोलरक्षक मिली अक्तरले पञ्च गरेकी थिइन्। तर, बल राम्रोसँग क्लिअर नहुँदा अनमार्क रहेकी गीताले सहजै गोल गरिन्।
जारी प्रतियोगितामा यो उनको दोस्रो गोल हो। यसअघि समूह चरणमा भुटानविरुद्धको १–० को जितमा पनि उनले नै गोल गरेकी थिइन्। तर, नेपालले उक्त अग्रता टिकाउन सकेन। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेश खेलमा फर्कियो।
ऋतुले कर्नरमार्फत सिधै प्रहार गरेको बललाई गोलकिपर अञ्जिाल तुम्बाप्पो सुब्बाले पञ्च गर्दै बाहिर पठाउने प्रयास गरेकी थिइन्। तर, टप बारबाट आएको बल उनको औंलामा लाग्दै जाली चुम्यो। बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयको तेस्रो मिनेटमा बंगलादेशले जित सुनिश्चत गर्यो।
नेपाली डिफेन्डर अलमलिँदा पाएको अवसरलाई बंगलादेशले सदुपयोग गर्यो। शमसुन्नहरले दिएको क्रसलाई हुलमुलमा सागोरिकाले गोल गरिन्। यी दुवै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए।










-1787661904658.jpeg&w=3840&q=75)

