शोकमा डुबेको बंगलादेश

काठमाडौं। साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बुधबार नेपालसँग भिड्न लागेको बंगलादेशी टोली शोकका बीच मैदान उत्रिँदै छ। टोलीकी डिफेन्डर शेउली अजिमकी आमा बाशोना अजिमको निधन भएपछि बंगलादेशको तयारी प्रभावित बनेको थियो।
नेपाल र बंगलादेशबीचको सेमिफाइनल खेल भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समयअनुसार साँझ ४:१५ बजे सुरु हुनेछ। सोही मैदानमा दोस्रो सेमिफाइनलमा आयोजक तथा उपाधिको दाबेदार भारतले भुटानको सामना गर्नेछ।
मंगलबार बिहान शेउलीकी आमाको निधनको खबर आएपछि बंगलादेशी टोली शोकमा डुबेको छ। यस घटनापछि टोलीले बाम्बोलिम एथलेटिक्स स्टेडियममा तय गरिएको अभ्यास सत्रसमेत रद्द गरेको थियो। धेरै खेलाडी भावनात्मक रूपमा विक्षिप्त बनेका थिए।

विशेषगरी कप्तान मारिया मान्डा, शाम्सुन्नहार जुनियर, शाम्सुन्नहार सिनियर र तोहुरा खातुनजस्ता खेलाडी शेउलीका निकट साथी हुन्। अनुभवी खेलाडी मोनिका चक्मासहित धेरै खेलाडीहरू उक्त समाचार सुनेपछि भावुक बनेका थिए र केहीले आँसु रोक्न सकेनन्।
यस परिस्थितिमा प्रशिक्षक टोलीले खेल रणनीतिभन्दा पनि खेलाडीहरूको मानसिक अवस्था सुदृढ बनाउन ध्यान केन्द्रित गर्यो। अभ्यास रद्द भएपछि भारतसँगको समूह चरणको हारमा देखिएका कमजोरीहरू सुधार गर्ने अवसर पनि टोलीले गुमायो।
यद्यपि, मैदानमा अभ्यास नभए पनि खेलाडीहरूले आइस बाथ, भिडियो विश्लेषण तथा समुद्र किनारमा एक घण्टाको पैदल यात्राजस्ता पुनःस्थापना र मानसिक तयारी पूरा गरेका थिए। यसको उद्देश्य खेलाडीहरूको मन शान्त बनाउनु र खेलमा पुनः केन्द्रित गराउनु थियो।

मुख्य प्रशिक्षक पिटर बटलरले शेउली र उनको परिवारप्रति समवेदना व्यक्त गर्दै खेलाडीहरूलाई दुःखलाई सकारात्मक ऊर्जामा रूपान्तरण गर्न आग्रह गरेका छन्। ‘आज हामीले बल नै छोएनौं, तर त्यसले हामीलाई कमजोर बनाएको जस्तो लाग्दैन,’ बटलरले भिडियो सन्देशमा भने,‘यसले सबैलाई केही समय सोच्ने अवसर दिएको छ। जीवन कहिलेकाहीँ छोटो र निकै निर्दयी हुन सक्छ भन्ने बुझ्न पनि मद्दत गरेको छ।’
उनले टोलीमा कठिन परिस्थितिलाई सामना गर्ने मानसिक शक्ति रहेको विश्वास व्यक्त गरे। ‘मैले खेलाडीहरूलाई सकारात्मक सोचका साथ मैदानमा उत्रन र नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा बदल्न भनेको छु,’ बटलरले थपे‚‘यो सजिलो छैन, तर यो समूहले उत्कृष्ट प्रदर्शन गर्दै आवश्यक नतिजा निकाल्न सक्छ भन्नेमा म विश्वस्त छु।’
बंगलादेशले नेपालविरुद्धको पछिल्लो इतिहासबाट आत्मविश्वास लिन सक्नेछ। उसले अघिल्ला दुई संस्करणका फाइनलमा नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो। अब अर्को फाइनलको यात्रा सुनिश्चित गर्ने लक्ष्यसहित बंगलादेश मैदानमा उत्रनेछ।










-1787661904658.jpeg&w=3840&q=75)

