उपाधि दौडमा रहेको फ्रान्सलाई नर्वे र सेनेगलको चुनौती
-1780455317149.webp&w=3840&q=75)
विश्वकप २०२६ मा समूह ‘एल’ ले पुरानो सम्झना र नयाँ महत्वाकांक्षा दुवै बोकेको छ। जब फ्रान्सले न्यु जर्सीको मेटलाइफ रंगशालामा सेनेगलविरुद्ध आफ्नो विश्वकप अभियान सुरु गर्नेछ, धेरैलाई सन् २००२ को विश्वकप उद्घाटन खेल सम्झना आउनेछ।
उक्त खेलमा विश्व फुटबललाई स्तब्ध पार्दै सेनेगलले साबिक विजेता फ्रान्सलाई १–० ले हराएको थियो। त्यो जितपछि डाकारका सडकमा उत्सव मनाइएको थियो भने फ्रान्सको उपाधि रक्षा अभियान समूह चरणमै समाप्त भएको थियो। २४ वर्षपछि फेरि यी दुई टोली विश्वकपमा आमनेसामने हुँदैछन्।
-1780455381399.webp)
सन् १९९८ र २०१८ मा विश्वकप जितेको फ्रान्स यसपटक तेस्रो उपाधिको खोजीमा छ। केलियन एमबाप्पे, उस्माने डेम्बेले, माइकल ओलिसे र ह्युगो एकिटिकेजस्ता स्टार खेलाडी रहेको टोलीलाई प्रतियोगिताको प्रमुख दाबेदार मानिएको छ। जुनअघि भएका तयारी खेलमा फ्रान्सले ब्राजिललाई २–१ र कोलम्बियालाई ३–१ ले पराजित गरेको थियो।
मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सले भने अमेरिकामा हुने प्रतियोगिताको व्यवस्थापनबारे असन्तुष्टि जनाएका छन्। मार्चमा ब्राजिलविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा रंगशालासम्म पुग्न अत्यधिक समय लागेको भन्दै उनले यात्रा व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका थिए।
तेस्रो उपाधिको खोजीमा फ्रान्स
सन् १९९८ र २०१८ को विश्वकप जितेको फ्रान्स तेस्रो उपाधि जित्न सफल भए ब्राजिल, जर्मनी, इटाली र अर्जेन्टिनापछि तीन वा सोभन्दा बढी विश्वकप जित्ने पाँचौं राष्ट्र बन्नेछ।
-1780455422625.webp)
सन् २०२२ को फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको फ्रान्स त्यसको बदला लिन पनि आतुर छ। त्यही फाइनलमा ह्याट्रिक गरेका एमबाप्पे अहिले आफ्नो करिअरको उत्कर्षमा छन्। अन्तर्राष्ट्रिय फुटबलमा ५६ गोल गरिसकेका उनी फ्रान्सका सर्वाधिक गोलकर्ताको कीर्तिमाननजिक पुगेका छन्।
उनी फ्रान्सका सर्वाधिक गोलकर्ता ओलिभिएर जिरुडको कीर्तिमानभन्दा एक गोलले पछाडि छन्। २०२२ को फाइनलमा अर्जेन्टिनासँगको हार अझै बिर्सन नसकेको उनले स्वीकार गरिसकेका छन्।
२०१८ को विश्वकप जितेपछि फ्रान्सले युरो २०२१ को अन्तिम १६ मा स्विट्जरल्यान्डसँग, विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिनासँग र युरो २०२४ को सेमिफाइनलमा स्पेनसँग हार बेहोरेको थियो।
सन् २०१२ देखि टोली सम्हाल्दै आएका प्रशिक्षक डिडिएर डेसच्याम्प्सका लागि पनि यो अन्तिम विश्वकप हुनेछ। प्रतियोगितापछि उनले पद छाड्ने घोषणा गरिसकेका छन्।
हालान्डको काँधमा नर्वेको सपना
नर्वे १९९८ पछि पहिलो पटक र समग्रमा चौथोपटक विश्वकप खेल्दै छ। टोलीको सबैभन्दा ठूलो आशा एर्लिङ हालान्ड हुन्।
२५ वर्षीय हालान्ड विश्व फुटबलका सबैभन्दा घातक स्ट्राइकरमध्ये एक मानिन्छन्। उनले लगातार चार सिजन ३० भन्दा बढी गोल गरेका छन् भने राष्ट्रिय टोलीका लागि ५५ गोल गर्दै नर्वेका सर्वाधिक गोलकर्ता बनेका छन्।
-1780455435039.webp)
‘नर्वेलाई विश्वकपमा पुर्याउनु ठूलो जिम्मेवारी थियो। यो मेरो काँधमा थियो र म त्यसकै लागि काम गरिरहेको थिएँ,’ हालान्डले भनेका छन्। उनका पिता अल्फी हालान्डले पनि सन् १९९४ को विश्वकप खेलेका थिए।
कप्तान मार्टिन ओडेगार्ड र स्ट्राइकर अलेक्जान्डर सोर्लोथ टोलीका अन्य महत्त्वपूर्ण खेलाडी हुन्। नर्वेले सन् २००० यता कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन। त्यसैले यो विश्वकप उसको लागि विशेष अवसर हुनेछ।
विवादबीच विश्वकपमा सेनेगल
‘लायन्स अफ टेराङ्गा’ उपनामले परिचित सेनेगल लगातार तेस्रो विश्वकप खेल्दै छ। तर, टोली यसपटक अफ्रिकी फुटबलकै एउटा विवादबीच प्रतियोगितामा प्रवेश गर्दैछ।
जनवरीमा भएको अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगलले मोरक्कोलाई हराएको थियो। तर, खेलको अन्त्यतिर प्रशिक्षक पापे थियावले पेनाल्टी निर्णयको विरोधमा खेलाडीलाई १५ मिनेट मैदानबाहिर लगेपछि अफ्रिकी फुटबल महासंघले टोलीलाई खेल त्यागेको ठहर गर्दै उपाधि खोसेको थियो। सेनेगलले त्यस निर्णयविरुद्ध अपिल गरेको छ।
-1780455456760.webp)
सेनेगलले यसअघि सन् २०२१ को अफ्रिका कप अफ नेसन्स पनि जितेको थियो। त्यस फाइनलमा साडियो मानेले निर्णायक पेनाल्टी गोल गरेका थिए। ३४ वर्षीय माने राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता हुन्।
उनले अन्तर्राष्ट्रिय फुटबलमा ५३ गोल गरिसकेका छन्। विश्वकप छनोटमा पनि उनी टोलीका शीर्ष गोलकर्ता थिए। गोलरक्षक एडुआर्ड मेन्डी, मिडफिल्डर इड्रिसा गेये र डिफेन्डर कालिडु कुलिबाली टोलीका अन्य प्रमुख खेलाडी हुन्।
४० वर्षपछि फर्किएको इराक
इराकले प्लेअफमा बोलिभियालाई पराजित गर्दै सन् १९८६ पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। ‘लायन्स अफ मेसोपोटामिया’ उपनामले परिचित टोलीले आफ्नो पहिलो विश्वकपमा तीनै खेल गुमाएको थियो। अहिले भने चार दशकपछि फर्किएको टोली नयाँ इतिहास रच्ने लक्ष्यमा छ।
-1780455472510.webp)
अष्ट्रेलियाका पूर्वप्रशिक्षक ग्राहम अर्नोल्ड इराकका प्रशिक्षक हुन्। टोलीका प्रमुख खेलाडीमा स्ट्राइकर अयमेन हुसेन, फरवार्ड मोहानाद अली र मिडफिल्डर आमिर अल-अम्मारी छन्।
३० वर्षीय अयमेन हुसेन ३३ अन्तर्राष्ट्रिय गोलसहित इराकका सर्वाधिक गोलकर्ताको सूचीमा पाँचौं स्थानमा छन्। समूह ‘एल’ मा फ्रान्स स्पष्ट रूपमा नकआउट चरणको प्रमुख दाबेदार देखिन्छ। तर, हालान्डको नर्वे, अनुभवी सेनेगल र ४० वर्षपछि फर्किएको इराकले प्रतिस्पर्धालाई सहज बन्न नदिने संकेत दिएका छन्।









-1786022688387.jpeg&w=3840&q=75)
-1786005627596.jpeg&w=3840&q=75)


