दुर्लभ कीर्तिमानतर्फ मेसीको नजर

विश्व फुटबलको इतिहासमा लगातार दुई विश्वकप जित्ने टोली निकै कम छन्।
पछिल्लो पटक यो उपलब्धि ब्राजिलले १९५८ र १९६२ मा हासिल गरेको थियो। त्यसयता कुनै पनि पुरुष टोलीले विश्वकप उपाधि जोगाउन सकेको छैन। अब यो इतिहास बदल्ने जिम्मेवारी अर्जेन्टिनाको काँधमा छ।
विश्वकप २०२६ मा अर्जेन्टिनाले उपाधि रक्षा गर्ने लक्ष्य मात्र बोकेको छैन, कप्तान लिओनल मेसीका लागि यो सम्भावित अन्तिम विश्वकप पनि हुन सक्छ। त्यसैले समूह ‘जे’ मा रहेको अर्जेन्टिनाको प्रत्येक खेल विशेष महत्वको हुनेछ।
सन् २०२२ मा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै तेस्रो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले यसपटक अल्जेरिया, अस्ट्रिया र विश्वकपमा पहिलो पटक छनोट भएको जोर्डनको चुनौती सामना गर्नेछ।
-1780454036010.webp)
विश्व वरीयताको तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले जुन १६ मा अल्जेरियाविरुद्ध अभियान सुरु गर्नेछ। त्यसपछि अस्ट्रिया र जोर्डनसँग खेल्नेछ। समूह चरण पार गर्न अर्जेन्टिनालाई ठूलो कठिनाइ नहुने अनुमान गरिएको छ।
सबैको नजर भने मेसीमाथि हुनेछ। प्रतियोगिताको दोस्रो खेलपछि ३९ वर्ष पुग्ने मेसीले विश्वकपमा छैटौं पटक सहभागिता जनाउनेछन्। यदि उनी मैदानमा उत्रिए भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँगै पुरुष फुटबलमा ६ वटा विश्वकप खेल्ने पहिलो खेलाडी बन्नेछन्।
मेसीको नाममा विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान छ। उनले विश्वकपमा १३ गोल गरेका छन्, जुन इतिहासकै तेस्रो सर्वाधिक गोल हो। अन्तर्राष्ट्रिय फुटबलमा उनको ११६ गोल पनि उल्लेखनीय उपलब्धि हो।
-1780454332051.webp)
मुख्य प्रशिक्षक लियोनेल स्कालोनीको टोलीमा अझै पनि २०२२ को विश्वकप विजेता टोलीका अधिकांश खेलाडी छन्। ती अनुभवी खेलाडीले टोलीको आधार बलियो बनाएका छन्। एन्जेल डी मारिया भने अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका छन्।
१२ वर्षपछि फर्किएको अल्जेरिया
अफ्रिकी फुटबलको बलियो टोली अल्जेरिया २०१४ पछि पहिलो पटक विश्वकपमा फर्किएको हो। २०१४ मा अन्तिम १६ सम्म पुगेको अल्जेरिया अतिरिक्त समयमा जर्मनीसँग पराजित भएको थियो।
-1780454050496.webp)
छनोट चरणमा आठ जित, एक हार र एक बराबरीको नतिजा निकालेको टोलीको नेतृत्व ३५ वर्षीय रियाद महरेजले गर्नेछन्।
अन्तर्राष्ट्रिय फुटबलमा ३८ गोल गरेका महरेज अल्जेरियाका दोस्रो सर्वाधिक गोलकर्ता हुन्। रयान ऐट–नुरी र रामी बेन्सेबाइनी टोलीका अन्य महत्त्वपूर्ण खेलाडी हुन्।
अस्ट्रियाको २८ वर्षपछि पुनरागमन
अस्ट्रिया १९९८ पछि पहिलो पटक विश्वकपमा सहभागी हुँदै छ। विश्वकपमा आठौं सहभागिता जनाउन लागेको टोलीले १९८२ यता पहिलो पटक समूह चरण पार गर्ने लक्ष्य राखेको छ।
-1780454064445.webp)
मार्को अर्नाउटोभिच टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्। उनी अस्ट्रियाका सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन्। कप्तान डेभिड अलाबा, मार्सेल साबिट्जर र कोनराड लाइमर टोलीका प्रमुख खेलाडी हुन्।
सन् २०२२ मा प्रशिक्षक बनेका राल्फ राङनिकको नेतृत्वमा अस्ट्रियाले नयाँ ऊर्जा पाएको छ।
जोर्डनको ऐतिहासिक पहिलो पाइला
समूहको सबैभन्दा नयाँ टोली जोर्डन हो। उसले पहिलो पटक विश्वकपमा स्थान बनाएको छ। जोर्डनले एसियन कपमा एकपटक उपविजेता बन्नेबाहेक ठूलो सफलता हासिल गरेको छैन।
-1780454076917.webp)
फ्रान्सेली क्लब रेन्नेसबाट खेल्ने मुसा अल–तामारी टोलीका सबैभन्दा चर्चित खेलाडी हुन्। उनले राष्ट्रिय टोलीका लागि २४ गोल गरेका छन्। मोरक्कोका पूर्वअन्तर्राष्ट्रिय मिडफिल्डर जमाल सेल्लामीको प्रशिक्षणमा रहेको जोर्डन पहिलो सहभागितामै प्रभाव छाड्ने लक्ष्यमा हुनेछ।
तर, समूह ‘जे’ को वास्तविक आकर्षण अर्जेन्टिनामै केन्द्रित छ। विश्वकप उपाधि रक्षा गर्ने दुर्लभ अवसर, मेसीको सम्भावित अन्तिम यात्रा र नयाँ इतिहास लेख्ने सम्भावना यी सबै कारणले अर्जेन्टिनाको अभियान विश्वकप २०२६ को सबैभन्दा चासोका विषयमध्ये एक बनेको छ।









-1786022688387.jpeg&w=3840&q=75)
-1786005627596.jpeg&w=3840&q=75)


