लय समाउन खोजिरहेको ब्राजिल, उत्कृष्ट लयमा रहेको मोरक्को

पाँच पटकको विश्वकप विजेता ब्राजिल २०२६ विश्वकपको समूह ‘सी’ मा अफ्रिकी शक्तिशाली टोली मोरक्को, लामो अन्तरालपछि विश्वकपमा फर्किएका स्कटल्यान्ड र हाइटीसँग परेको छ।
समूहका सबै खेल अमेरिकामा हुनेछन्। ब्राजिलले न्यूयोर्क, फिलाडेल्फिया र मियामीमा खेल्नेछ। स्कटल्यान्डले बोस्टनमा हाइटी र मोरक्कोसँग खेल्नेछ भने मोरक्को र हाइटीबीचको खेल एटलान्टामा हुनेछ।

ब्राजिल
विश्वकप इतिहासकै सबैभन्दा सफल राष्ट्र ब्राजिलले पछिल्लोपटक २००२ मा उपाधि जितेको थियो। त्यसयता २०१४ बाहेक प्रत्येक विश्वकपमा क्वार्टरफाइनलबाट बाहिरिएको छ।
सन् २०१४ मा घरेलु मैदानमा भएको विश्वकपमा ब्राजिल सेमिफाइनलसम्म पुगे पनि जर्मनीसँग ७–१ को लज्जास्पद हार बेहोरेको थियो। २०२२ मा कतार विश्वकपमा भने क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।
यसपटक ब्राजिलको नेतृत्व रियल मड्रिडका भिनिसियस जुनियर र बार्सिलोनाका राफिन्हाले गर्नेछन्। रियलकै फरवार्ड रोड्रिगो भने घुँडाको चोटका कारण विश्वकप गुमाउने भएका छन्।

विश्वकप छनोटमा कमजोर प्रदर्शन गरिरहेको अवस्थामा ब्राजिलले अनुभवी प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई रियलबाट ल्याएको थियो। अर्जेन्टिनासँगको हारसहित केही निराशाजनक नतिजाबीच पनि उनले टोलीलाई विश्वकपमा पुर्याए। यद्यपि, ब्राजिल दक्षिण अमेरिकी छनोटमा पाँचौं स्थानमा सीमित रह्यो।
पाँच पटक च्याम्पियन्स लिग जितिसकेका एन्सेलोट्टीका लागि मुख्य प्रशिक्षकका रूपमा यो पहिलो विश्वकप हुनेछ।
मोरक्को
मोरक्कोले २०२२ को विश्वकपमा चौथो स्थान हासिल गर्दै अफ्रिकी टोलीको सबैभन्दा उत्कृष्ट विश्वकप प्रदर्शन गरेको थियो। मोरक्कोले अन्तिम १६ मा स्पेन र क्वार्टरफाइनलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई हराएको थियो। सेमिफाइनलमा भने फ्रान्ससँग पराजित भएको थियो।

मोरक्कोले हालै घरेलु मैदानमा सम्पन्न अफ्रिका कप अफ नेसन्समा सेनेगलसँग फाइनल हारेको थियो। तर, पछि अफ्रिकी फुटबल महासंघले सेनेगललाई नियम उल्लंघन गरेको ठहर गर्दै उपाधि मोरक्कोलाई दिएको थियो।
फाइनलपछि प्रशिक्षक वालिद रेग्रागुईले पद छाडेपछि अब मोहम्मद उआहबीले टोली सम्हालिरहेका छन्। उनले गत वर्ष मोरक्कोलाई यू–२० विश्वकप जिताएका थिए।
मोरक्कोले स्पेन र पोर्चुगलसँग मिलेर २०३० विश्वकपको सह–आयोजना पनि गर्नेछ।
हाइटी
क्यारेबियन राष्ट्र हाइटी १९७४ पछि पहिलो पटक विश्वकपमा खेल्दैछ। कन्काकाफ छनोट समूह जित्दै हाइटीले विश्वकपमा स्थान बनाएको हो। १९७४ मा विश्वकप डेब्यु गर्दा हाइटी इटाली, पोल्यान्ड र अर्जेन्टिनासँग लगातार तीन खेल हार्दै समूह चरणबाट बाहिरिएको थियो।

फ्रान्सेली प्रशिक्षक सेबास्टियन मिग्नेको नेतृत्वमा रहेको हाइटी फिफा विश्व वरीयतामा ८३औं स्थानमा छ। विश्वकपमा छनोट भएका ४८ टोलीमध्ये न्युजिल्यान्डबाहेक सबैभन्दा तल्लो वरीयतामा रहेको टोली पनि हाइटी नै हो।
टोलीका प्रमुख खेलाडी ३२ वर्षीय स्ट्राइकर डुकेन्स नाजोन हुन्। उनले विश्वकप छनोटमा ६ गोल गर्दै कन्काकाफको संयुक्त सर्वाधिक गोलकर्ता बनेका थिए।
स्कटल्यान्ड
स्कटल्यान्ड १९९८ पछि पहिलो पटक विश्वकप खेल्दैछ। गत वर्ष अन्तिम छनोट खेलमा डेनमार्कलाई हराउँदै टोलीले विश्वकप यात्रा सुनिश्चित गरेको थियो।

टोलीका मुख्य खेलाडी स्कट म्याकटोमिने हुन्। डेनमार्कविरुद्धको निर्णायक ४–२ को जितमा उनले गोल गरेका थिए। सन् २०१९ देखि प्रशिक्षक रहेका स्टिभ क्लार्क स्कटल्यान्डलाई तीनवटा प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा पुर्याउने पहिलो प्रशिक्षक बन्नेछन्।
स्कटल्यान्ड २०२० र २०२४ युरोपियन च्याम्पियनसिपमा समूह चरणबाटै बाहिरिएको थियो। विश्वकपका अघिल्ला आठै सहभागितामा पनि टोली समूह चरण पार गर्न असफल भएको छ।
सन् १९९८ को विश्वकपमा पनि स्कटल्यान्डले ब्राजिलसँग खेलेको थियो। त्यतिबेला साबिक विजेता ब्राजिलले स्कटल्यान्डलाई २–१ ले पराजित गरेको थियो।









-1786022688387.jpeg&w=3840&q=75)
-1786005627596.jpeg&w=3840&q=75)


