रोनाल्डोलाई विश्वकप जित्ने अन्तिम अवसर

काठमाडौं। क्रिस्टियानो रोनाल्डोलाई अब विश्वकप उपाधि जित्ने सम्भवतः अन्तिम अवसर छ। ४१ वर्ष पुगेका पोर्चुगिज स्टारले सानदार करिअरमा पाँच पटक बलोन डी’ओर जितिसकेका छन् भने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने पुरुष खेलाडी पनि हुन्।
उनले पोर्चुगलका लागि २२६ खेलमा १४३ गोल गरेका छन्। यस वर्ष साउदी प्रो–लिग क्लब अल–नासरबाट खेल्ने क्रममा ह्यामस्ट्रिङ चोटका कारण उनी केही समय मैदानबाहिर रहे। त्यसकै कारण अप्रिल १ मा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेल पनि गुमाएका थिए।
चोटले बाधा नपुर्याएका रोनाल्डो विश्वकप टोलीमा परिसकेका छन्। योसँगै उनले सन् २०१४ मा रियल मड्रिडबाट म्यानचेस्टर युनाइटेडविरुद्ध मिशिगनमा खेलेपछि पहिलो पटक अमेरिकी भूमिमा प्रतिस्पर्धात्मक फुटबल खेल्नेछन्।
रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेसी पुरुष फुटबलमा ६ वटा विश्वकप खेल्ने पहिलो खेलाडी बन्न सक्ने सम्भावना छ। रोनाल्डोले गत नोभेम्बरमा सीएनएनसँग कुरा गर्दै यो नै आफ्नो अन्तिम विश्वकप हुने बताएका थिए।
पोर्चुगल समूह ‘के’ को सबैभन्दा बलियो टोली मानिएको छ। समूहमा कोलम्बिया, उज्बेकिस्तान र कङ्गो पनि छन्। विश्व वरियतामा पाँचौं स्थानमा रहेको पोर्चुगलले छनोट चरणमा भने झट्का बेहोरेको थियो।
गत नोभेम्बरमा आयरल्यान्डसँग २–० ले पराजित हुँदा रोनाल्डोले विपक्षी डिफेन्डरलाई कुहिनाले हानेपछि रातो कार्ड पाएका थिए। त्यसपछि उनी एक खेलका लागि निलम्बित भए। यद्यपि, पोर्चुगलले अर्मेनियालाई ९–१ ले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको थियो।
यो पोर्चुगलको नवौं विश्वकप हुनेछ। टोलीले सन् १९६६ मा तेस्रो र २००६ मा चौथो स्थान हासिल गरेको थियो। २००६ मै रोनाल्डोले विश्वकप डेब्यु गरेका थिए। २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगे पनि मोरक्कोसँग १–० ले पराजित भएको थियो। उक्त खेलमा रोनाल्डो दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए।
सन् २०२३ देखि रोबर्टो मार्टिनेज पोर्चुगलका प्रशिक्षक छन्। टोलीमा म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेस र पेरिस सेन्ट–जर्मेन (पीएसजी)sf युवा मिडफिल्डर जोआओ नेभेसजस्ता प्रतिभाशाली खेलाडी छन्।
गत वर्ष नेसन्स लिग जितेको केही समयपछि डियोगो जोटा कार दुर्घटनामा निधन भएपछि टोली स्तब्ध बनेको थियो। पोर्चुगलले जुन १७ मा ह्युस्टनमा कङ्गोविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ।
कोलम्बियाका कप्तान जेम्स रोड्रिगेजले विश्वकपअघि नियमित खेल समय पाउन यस सिजन मेजर लिग सकर क्लब मिनेसोटा युनाइटेड रोजेका हुन्। सन् २०१४ को विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेका जेम्सले कोलम्बियाका लागि ३१ गोल गरेका छन्।
विश्व वरीयतामा १३औं स्थानमा रहेको कोलम्बियाले २०२२ विश्वकप गुमाएको थियो। टोलीको सबैभन्दा ठूलो उपलब्धि सन् २०१४ मा क्वार्टरफाइनल पुग्नु हो। अर्जेन्टिनी प्रशिक्षक नेस्टर लोरेन्जोको नेतृत्वमा रहेको कोलम्बियाले जुन १७ मा मेक्सिको सिटीमा उज्बेकिस्तानसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ।
विश्व वरीयतामा ५०औं स्थानमा रहेको उज्बेकिस्तान पहिलो पटक विश्वकप खेल्दैछ। सोभियत संघ विघटनपछि स्वतन्त्र राष्ट्र बनेको उज्बेकिस्तानले आफ्नै राष्ट्रिय टोली बनाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको थियो।
‘ह्वाइट वुल्भ्स’ उपनामले चिनिने टोलीका प्रशिक्षक इटालीका फाबियो कानाभारो हुन्। गत अक्टोबरमा मात्र नियुक्त भएका उनले यसअघि टोलीलाई छनोट गराउने तिमुर कपाद्जेको स्थान लिएका हुन्। कानाभारोले २००६ मा इटालीलाई विश्वकप जिताउँदा कप्तानी गरेका थिए।
उज्बेकिस्तानका कप्तान एल्डोर शोमुरोडोभले ९० खेलमा ४४ गोल गरेका छन्। उनी हाल टर्की क्लब इस्तानबुल बासाकसेहिरबाट खेल्छन्। कङ्गोले यसअघि सन् १९७४ मा मात्र विश्वकप खेलेको थियो, त्यतिबेला देशको नाम जाइरे थियो। त्यो टोली विश्वकपमा छनोट हुने पहिलो सहारा मरुभूमि दक्षिणको अफ्रिकी टोली बनेको थियो।
कङ्गोले मेक्सिकोको ग्वाडालाजारामा भएको ‘प्ले–इन’ खेलमा जमैकालाई अतिरिक्त समयमा १–० ले हराउँदै २०२६ विश्वकपमा स्थान बनाएको हो। दशकौंदेखि द्वन्द्वले प्रभावित देशमा उक्त जितले ठूलो उत्साह ल्याएको थियो।
टोलीका मुख्य खेलाडीमा फ्रेन्च क्लब लिलका कप्तान तथा डिफेन्डर चान्सेल म्बेम्बा र स्पेनिस ला लिगा क्लब रियल बेटिसका विंगर सेड्रिक बाकाम्बु छन्। विश्व वरीयतामा ४६औं स्थानमा रहेको कङ्गोलाई फ्रान्सेली प्रशिक्षक सेबास्टियन देसाब्रेले सम्हालिरहेका छन्।









-1786022688387.jpeg&w=3840&q=75)
-1786005627596.jpeg&w=3840&q=75)


