बायर्नलाई घरेलु ‘डबल’ उपाधि

काठमाडौं। बायर्न म्युनिखका अग्रपंक्तिका खेलाडी ह्यारी केनले दोस्रो हाफमा सानदार ह्याट्रिक गर्दै जर्मन कपको फाइनलमा स्टुटगार्टलाई ३–० ले पराजित गराएका छन्। यस जितसँगै बायर्न म्युनिखले ६ वर्षपछि घरेलु ‘डबल’ उपाधि जित्न सफल भएको छ।
केनले खेलको ५५औं मिनेटमा हेडमार्फत पहिलो गोल गरे। त्यसपछि खेल सकिन १० मिनेट बाँकी रहँदा आकर्षक टिम समन्वयपछि दोस्रो गोल थपे। उनले अतिरिक्त समयमा पेनाल्टीमार्फत तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।
इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन आगामी विश्वकपअघि उत्कृष्ट लयमा छन्। उनी जर्मन कपका सबै चरण, फाइनलसहित, गोल गर्ने इतिहासका तेस्रो खेलाडी बनेका छन्। उनले यस सिजन बायर्नका लागि सबै प्रतियोगितामा ५१ खेलमा ६१ गोल गरेका छन्।
खेलपछि केनले भने,‘पहिलो हाफ निकै कठिन थियो। उनीहरूले दबाब सिर्जना गरेका थिए। तर, दोस्रो हाफमा उनीहरू थाक्न थाले र हामीले बल नियन्त्रणमा धैर्यता तथा गुणस्तरीय खेल प्रदर्शन गर्यौं। हामी जित्न योग्य थियौं।’
उनले थपे,‘यो कीर्तिमानी सिजन हो। हामी च्याम्पियन्स लिग पनि जित्न चाहन्थ्यौं, तर आजको उपाधिले टोलीलाई अझ बलियो बनाउनेछ।’ बायर्नका सम्मानित अध्यक्ष उली हुनेसले केनको अनुबन्ध क्लब इतिहासकै उत्कृष्ट निर्णय भएको बताएका छन्।
त्यसबारे केनले भने,‘बायर्नबाट धेरै महान् खेलाडीले खेलेका छन्। त्यस्तो व्यक्तिबाट यस्तो प्रशंसा पाउनु विशेष कुरा हो। फाइनलमा तीन गोल गरेर म क्लबको इतिहासको हिस्सा बनेको महसुस गर्छु।’
पहिलो हाफमा दबाबमा परेको बायर्नले दोस्रो हाफमा खेल आफ्नो पक्षमा मोडेको थियो। माइकल ओलिसेको उत्कृष्ट पासमा केनले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
खेलको ६०औं मिनेटतिर दुवै टोलीका समर्थकले आगोका मशाल बाल्दा रंगशाला धुवाँले भरिएको थियो र खेल केही समय रोकिएको थियो। स्टुटगार्टका क्रिस फ्युरिखले ७६औं मिनेटमा गोल गर्ने अवसर गुमाएपछि केनले चार मिनेटपछि अर्को सानदार गोल गरे। पहिलो प्रहार क्रसबारमा लागेपछि फर्किएको बललाई लुइस डियाजको पासबाट नियन्त्रण गर्दै उनले गोलरक्षक अलेक्जेन्डर न्युबेललाई पराजित गरेका थिए।
अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गर्दै केनले आफ्नो अविस्मरणीय प्रदर्शन पूरा गरे र बायर्नलाई उपाधि जिताए।











-1787756317261.jpeg&w=3840&q=75)


