गोलबजारको विजयी सुरुआत

पथरी। सिराहामा जारी सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोलबजार युनाइटेड विजयी भएको छ।
शुक्रवार भएको उद्घाटन खेलमा च्यात्या सा फुटबल क्लब झापालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै गोलबजारले सेमिफाइनलको यात्रा तय गरेको हो।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। खेलको २२ औं मिनेटमा झापाका गोलकिपर योगेश धिमालको आत्मघाती गोलबाट गोलबजार युनाइटेडले सुरुवाती अग्रता लिएको थियो। तर, खेलको ३४ औं मिनेटमा झापाका विवेक पौडेलले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।
त्यसपछिको निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलियो। टाइब्रेकरमा गोलबजारका तर्फबाट सुजन पुलामी, राधे चौधरी, माइकल ठकुरी, हरि कार्की र मनिस मगरले गोल गर्न सफल भए भने पुष्पराज चौधरी र बिनु मगर गोल गर्नबाट चुके।
उता झापाका तर्फबाट असीम राई, राजेश दाहाल, विवेक पौडेल र एकराज बुढाथोकीले गोल गरे पनि योगेश धिमाल, जंग खड्का र निशान बस्नेतले गोल गर्न सकेनन्। उत्कृष्ट प्रदर्शनका लागि गोलबजार युनाइटेडका गोलकिपर सन्दीप भट्टराई 'प्लेयर अफ द म्याच' घोषित भए।
प्रतियोगिताको फाइनल खेल जेठ १५ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद रु. ३ लाखसहित रनिङ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. १ लाख ५० हजार, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा ८ वटा टोलीहरूले सहभागिता जनाएका छन्।
प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा पथरी–११ फुटबल क्लब मोरङ र आर.आई.एफ.सी काठमाडौं बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।











-1787756317261.jpeg&w=3840&q=75)


